मोटरसाइकल किङ्ग ‘टीके डाँका’ – श्रीमती विदेश पठाए, गाउँका शिक्षकलाई मोटरसाइकल सिकाए

समाचार

मधेशवाणी संवाददाता

    २०७४ माघ १५ गते प्रकाशित   

काठमाडौँ - रामेछापको दोरम्बा–२ ढोईगाउँमा जन्मे हुर्केका टीका थापामगर एसएलसी दिएपछि काठमाडौं छिरेका थिए । पढाईमा खासै रुचि नराख्ने थापामगर पछि नेपाल प्रहरीलाई नै चक्मा दिनेगरी ‘लुटपाट’ अपराधको दुनियाँमा रमाउन थालेका थिए । 

काठमाडौँको चोरी र लुटपाटमा एकै खालका प्रविधि अपनाएर लुट्दै आएका थापामगर पछिल्लो समय प्रहरीको टाउको दुःखाईको ‘चोर’ बन्न पुगे । फलस्वरुप प्रहरीले उनलाई ‘टीके डाँका’को उपनाम दिएको छ ।   

शनिवार चितवनको रामनगरमा प्रहरीको गोली लागेर ढलेपछि नेपाली सञ्चार माध्यममा एकाएक उनीबारेको समाचार भाइरल भयो, ‘सदरखोरबाट भागेका टीके डाका प्रहरी इन्काउन्टरमा मारिए ।’ तर, रियालिटी त्यस्तो थिएन्, दायाँ तिघ्रा र हातमा चोट लागेका टीकेको अहिले काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भईरहेको छ । प्रहरीबाट चुहिएको गलत सूचनाको परिणाम नेपाल सञ्चार माध्यम चुकेका थिए । 
माघ ४ गते मध्यराती डिल्लीबजारस्थित सदरखोरबाट भागेका थापा मगर र प्रहरीबीच शनिवार चितवनको रामनगरमा दोहोरो मुठभेड भएको थियो । तीन गोली प्रहार गरेर नियन्त्रणमा लिएसँगै प्रहरीले उनलाई जेल प्रशासनको जिम्मा लगाएको छ । 

डिल्लीबजारस्थित सदरखोरबाट भाग्न सफल टीकेले यसभन्दा पहिले पनि पटक–पटक प्रहरीलाई चक्मा दिँदै आएका थिए । 

एकपटक महानगरीय अपराध महाशाखाको टोलीले उनलाई बौद्धमा नियन्त्रणमा लिएको थियो । प्रहरीलाई उनकै सहयोगमा लुटपाटमा संलग्न अर्को मान्छेलाई त्यसै दिन समात्नु थियो । टीकेले प्रहरीको आग्रह बमोजिम अर्को लुटेरलाई फोन गरेर जोरपाटी पुलमा बोलाए, प्रहरीले उनको पिछा गरिरहेको थियो । हत्कडी लगाउँदा अर्को लुटेरा भाग्न सक्ने हुनाले प्रहरी साइडमा रेकी गर्दै हिँडेको थियो । टीके प्रहरी निगरानीमा जोरपाटीको पुल पुगे, अर्को लुटेरा मोटरसाइकलमा आए । आधा दर्जन प्रहरीको आँखा छलेर टीकेले ‘साथी लुटेरा’को बाइकमा जम्प गर्दैै भने, ‘भागौँ, पुलिसले पछ्याइरहेको छ ।’ छिनभरमै टीके भाग्न सफल भए, प्रहरी रित्तो हात फर्कन बाध्य भयो । 

मोटरसाइकल चोरीबाट अपराधको दुनियाँमा रमाउन थालेका टीकेको अर्को उपनाम हो, ‘मोटरसाइकल किङ ।’ मोटरसाइकललाई जहाँबाट जसरी पनी हुँइक्याउन पारङ्गत टीके र उनको समूहसँग प्रहरी हैरान भैसकेको छ । 

२०७३ पुसमा मन्दिरा अधिकारी कौशलटारस्थित बैंकबाट पैसा निकालेर गठ्ठाघर तर्फ जाँदै थिइन् । टीकेले चलाएको मोटरसाईकल पछाडी बसेको उनका सहयोगीले मन्दिराको झोलामा रहेको ६ लाख लुटेर भागे । 

मन्दिराको लाखौं लुटेर भागेको केही दिनमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी र टीकेबीच काठमाडौंको दक्षिणढोकामा जम्काभेट भयो । कुरा पुस २६ गतेको हो, प्रहरीलाई देख्नासाथ टीके भागिहाले । प्रहरीले घेरा हालेर समाउँदा उनको निधारमा चोट लाग्यो, चितवनमा गोली प्रहार हुनुअघि प्रकाशित उनको तस्बिरमा निधारमा चोट देखिन्छ । 

श्रीमतीलाई विदेश पठाए, शिक्षकलाई मोटरसाइकल सिकाए

२०६५–६६ तिर रामेछापमा न्यु ब्राण्ड पल्सर मोटरसाइकल २५ हजारमा सजिलै पाइन्थ्यो । त्यसको कारक थिए, ‘टीके’ । टीकेले काठमाडौंबाट चोरेर लगेको न्यु ब्राण्ड मोटरसाईकल उनैलाई कखरा सिकाउने शिक्षहरुले समेत किने । एक महिनाको तलब खर्चेर किनेको मोटरसाईकल सिकेर शिक्षक देखि गाउँका युवाहरु दोरम्बा र टोकरपुर तिरको धुले बाटोमा मोटरसाइकल हुँइक्याउन सिपालु भए । 
हरेक पटक गाउँमा जाँदा नयाँ मोटरसाइकल लिएर जान्थे, टीके । नयाँ मोटरसाईकल घरमै छाडेर काठमाडौं फर्किन्थे । 

मोटरसाइकल चोर्ने धन्दा चलाउँदा चलाउँदै उनले टोकरपुरकी एक युवतीसँग प्रेम सम्बन्ध गाँसे । काठमाडौँबस्ने, गाउँमा जाँदा सँधै मोटरसाइकल लिएर जाने टीकेसँग ती युवती विवाह गर्न राजि भइन्, १५ वर्षकी कलिली युवती विवाह गरेर उनी काठमाडौँ आए । 

पछिल्लो सयम प्रहरी सक्रियतापछि उनको मोटरसाईकल चोर्ने र बेच्ने धन्दा बन्द भयो । त्यसपछि टीके बैंकबाट रकम झिकेर फर्कनेहरुको नगद लुटपाट र गाडी चोरी गर्न लागे । पटक–पटक प्रहरी फन्दामा पर्न थालेपछि श्रीमतीले बल्ल टीकेको असली रुपबारे थाहा पाईन् । श्रीमतीले पटक–पटक लुटपाट धन्दा छाड्न आग्रह गर्दा पनि टीकेले नछाडेपछि अहिले उनकी श्रीमती वैदेशिक रोजगारीको लागी दुबई गएको पारिवारीक स्रोतको भनाई छ । टीके निकट एक युवाका अनुसार श्रीमती विदेश लागेपछि टीकेले छोरालाई बौद्धस्थित एक स्कूलमा बोर्डस गरिदिएका छन् । 

लुटपाट गरेर लाखौँ कमाएपनी पक्राउ परेपछि धरौटी तिर्दा तिर्दा हत्तु भैसकेका टीका थापामगर अहिले प्रहरीको घेरामा काठमाडौँको ट्रमा सेन्टरमा उपचार गराइरहेका छन् । ट्रमा सेन्टमार उनलाई भेट्न उनका आफन्त र नातेदार कोही गएका छैनन् । उनको उपचार खर्चसमेत प्रहरीले नै गरिरहेको छ । आइतबार ट्रमा सेन्टरको गेटमा भेटिएका दोरम्बाका एक युवा गेटबाटै फर्किए । उनी भन्दै थिए, ‘टीकेलाई देखेपछि माया लाग्छ, तर के गर्नु राम्रो पेशा अपनाएको भए पो भेटेर सान्त्वना दिनु, होस् नभेटी फर्किन्छु ।’    

तपाईको प्रतिक्रिया