आज शहीद दिवस, विविध कार्यक्रम गरी मनाईयो (फोटोफिचर)

फिचर

मधेशवाणी संवाददाता

    २०७४ माघ १६ गते प्रकाशित   
मुलुकमा प्रजातन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गरेका शहीदहरूको सम्झनामा मंगलबार मुलुकभर शहीद दिवस मनाइएको छ।

प्रजातन्त्र स्थापनाका लागि विक्रम सम्वत् १९९७ मा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठले आफ्नो प्राणको आहुती दिएको सम्झनामा मंगलबार मुलुकभर विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइएको हो।

शहीद दिवस अर्थात् शहीद सप्ताहको अन्तिम दिन मंगलबार काठमाडौंको लैनचौरस्थित शहीद स्मारकमा विशेष कार्यक्रम गरियो। प्रधानमन्त्री शेरबहादुर देउवाले शहीद स्मारकमा माल्यार्पण गरेर शहीदहरूप्रति सम्मान प्रकट गरे।

सो अवसरमा नेपाली सेनाले शहीद सलामी अर्पण गरेको थियो। शहीद दिवसको अवसरमा आयोजित विशेष समारोहमा सरकारका मन्त्रीहरू, उच्च पदस्थ अधिकारीहरू, सुरक्षा निकायका प्रमुखहरू पनि शहीद स्मारक पुगेका थिए।

प्रधान सेनापति राजेन्द्र क्षेत्री, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, शसस्त्र प्रहरी बलका प्रमुख सिंह बहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दीलिप रेग्मी लगायतले शहीद स्मारकमा माल्यार्पण गरि शहीदहरूको सम्झना गरेका थिए।

त्यसैगरी, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी, विभिन्न निकायका प्रमुख, दलका नेता कार्यकर्ता लगायत कार्यक्रममा सहभागी सबैले शहीद स्मारकमा माल्यार्पण  गरेर शहीदहरूको सम्झना गरे। नेपाली सेनाले  सहिद्हरुको सम्मानमा सम्मान गारथ अर्पण गरेको थियो । यस अघि सुरक्षा निकायको व्याण्ड टोलीका साथ शान्तिबाटीकाबाट र्‍याली निकालिएको थियो।

शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठ तथा अन्य ज्ञात अज्ञात  व्यक्तिहरूको बलिदानबाट २००७ सालमा नेपालमा १ सय ४ वर्ष लामो राणा शासन अन्त्य भई प्रजातन्त्रको स्थापना भएको थियो। प्रजातन्त्र स्थापनामा योगदान पुर्‍याएका शहीदहरूको सम्झनामा हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्मलाई शहीद सप्ताहको रूपमा मनाउने गरिएको छ।

हेर्नुहोस्  तस्बिरमा :

 

 

 

 

  

सबै तस्बिरहरू : सेतोपाटी

तपाईको प्रतिक्रिया