यी हुन् अडिसन राउण्ड बाट छनौट भएका २४ जना

प्रोफेसनल स्पिच कम्पोटिसनः- २०७४

शिक्षा

मधेशवाणी संवाददाता

    माघ २०, २०७४   

सुर्खेत - सुर्खेतमा पहिलो पटक भएको सर्वाधिक धनराशी पुरस्कार राशीको वतृत्वकलात्मक कार्यक्रम ‘प्रोफेशनल स्पिच कम्पिटिशन’ आजदेखि शुरु भएको छ । अडिसनमार्फत् विभीन्न २४ जना दोश्रो चरणका लागि छनोट भएका छन् ।
प्रोफेसनल स्किल डेभलपमेन्ट प्रा.लि. (पिएसडि) वीरेन्द्रनगरले गर्ने नियमित कार्यक्रम ‘सुर्खेत गट् ट्यालेन्ट’ अन्तर्गत ‘प्रोफेशनल स्पिच कम्पिटिशन’ भएको हो ।


माध्यमिक तहमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी गरिएको कार्यक्रमको अडिसनबाट डिभि निकेतनकी निहारिका सुवेदीले सवैभन्दा बढी १२३ अंक प्राप्त गर्नुभएको छ । यसरी अन्य २३ जनाभित्र डिभि निकेतनका उत्सव अधिकारी, जन माद्यमिक विद्यालय वीरेन्द्रनगरका समिरविक्रम राना, युवराज उपाध्याय, क्रिष्टल जिसी, हिमाली पाण्डे र दुर्गा आचार्य छनौट हुन सफल भएका छन् ।


यस्तै, बावियाचौर इंग्लिस मिडियम बोडिङ्ग स्कूल पञ्चपुरीका जयन्ती शाही र डेकेन्द्र सिजापति, श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर इत्रामका हृदयजंग शाही, टीका पाण्डे र लक्ष्मि जोशी, काँक्रेविहार बोडिङ्ग स्कूल वीरेन्द्रनगर घुस्राका पुजा शर्मा र टोपेन्द्र ओली, हिमालय माध्यमिक विद्यालय चोल्पा सिम्ताबाट नविन विक र नविन चन्द छनौट भएका छन् । सुर्खेत एजुकेशनल डेभलपमेन्ट एकेडेमी (सेडा) का सृष्टी शर्मा, मनोज योगी, पूर्णिमा लामिछाने र जयन्ती हमाल, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय गुर्भाकोट ६ का प्रकाश बौडेल, एसओएस हर्मोन माइनर माध्यमिक विद्यालयका अनिता शाही तथा जनप्रिय स्कूलकी गीता चालिसे २४ जनाभित्र परेका छन् ।


अव माघ २७ गते शनिवारका दिन २४ जनाले दोश्रो चरणमा प्रतिपर्धा गर्ने र १२ जना तेस्रो चरणमा प्रवेश गर्ने छन् । कार्यक्रमका संयोजक प्रेमकुमार विसीकाअनुसार तेश्रो चरणमा १२ भित्रै प्रतिस्पर्धा गराएर पाँच जना छनौट गरिनेछ र उनीहरुलाई अरु एक चरणमा प्रतिस्पर्धा गराएर पुरस्कृत गरिनेछ ।
जसमध्ये विजेताले एक लाख रुपैयाँ, फष्र्ट रनरअफले ५० हजार, सेकेण्ड रनरअफले २५ हजार, स्मार्ट परफरमरलाई १० हजार र स्विट् भ्वाइसमा पर्नेलाई पाँच हजार रुपैयाँ पुरस्कार दिइनेछ । प्रतियोगितामा विभीन्न विद्यालयबाट ४६ जना छात्रछात्रा सहभागि भएको कार्यक्रमको निर्णायकमा डाक्टर दीपक गौतम, भानुभक्त खड्का र प्रेमकुमार विसी रहनुभएको थियो ।


प्रतियोगिताको उद्घाटन समारोहमा कार्यक्रमका विषयविज्ञ क्षेत्र तिमिल्सिनाले अव यस्ता खालका प्रतिस्पर्धाहरु पिएसडिले निरन्तर गरिरहने बताउनुभयो ।
यस्तै जिल्ला समन्वय समिति सुर्खेतका संयोजक छविलाल सिग्देलले विद्यालयस्तरमा अध्ययनरत विद्यार्थीको क्षमता विकासका लागि भएको यस्तो मोडेलको यो कार्यक्रम पहिलो कार्यक्रम भएको बताउनुभयो । प्रमुख अतिथी रहनुभएका सिग्देलले विद्यार्थीलाई प्रतिस्पर्धी बनाएमा मात्रै उनीहरुको शैक्षिक गुणस्तर प्राप्त गर्न सकिने बताउनुभयो ।
यसैगरी नेपाली काँगेस सुर्खेतका सभापति कमलराज रेग्मीले यस्तो महत्वपूर्ण कार्यक्रमलाई सवै विद्यालय सहभागि हुनुपर्ने बताउनुभयो ।


नेकपा एमाले सुर्खेतका उपाध्यक्ष अमृत कुमार विसीले अन्य विकाससँगै शैक्षिक क्षेत्रको विकासका लागि पिएसडिले गरेको यो कार्यक्रम स्रहानिय भएको बताउनुभयो । प्रतियोगिताको नतिजा आइसकेपछि कार्यक्रम संयोजक एवम् पिएसडिका सञ्चालक प्रेमकुमार विसीले अर्को चरणमा प्रवेश गर्न सफल नहनुभएका विद्यार्थीलाई दुःख नमान्न अनुरोध गर्नुभयो । उहाँले आगामी दिनमा यस्ता खालका प्रतियोगिताहरु भइरहने बताउनुभयो । यो कार्यक्रम जागरण एफ. एम. ९०.८ मेगाहर्ज, नेपाल दर्शन अनलाइन पत्रिका र समावेशी टेलिभिजनबाट प्रशारण हुनेछ ।

तपाईको प्रतिक्रिया