‘केकीजी हुनुहुन्छ, धेरै मजा आयो’

मनोरञ्जन

मधेशवाणी संवाददाता

    बैशाख १०, २०७५   

भारतबाट ३ वर्षे नाटक कोर्स पढेर आएपछि म जनकपुरमा एउटा नाट्य कला परिषदमा एक्टर डाइरेक्टरका रुपमा काम गर्न थालेँ । त्यसपछि इटहरीमा न्यु वर्ल्डमा ड्रामा राइटरका रुपमा काम गरेँ । अरुतिर पनि काम गर्दै थिएँ । नेपाली फिचर फिल्म ‘बाह्र नेपाली एक चिहान’ का साथै रेडियो ड्रामाहरु पनि गर्दै थिएँ । त्योभन्दा अगाडि भोजपुरी फिल्म गरेको थिएँ । तर मेरो इन्ट्रेस्ट फिल्ममा भन्दा बढी नाटकमा थियो । एन्टेना फाउन्डेसनमा काम पाएँ, नाटकमा ।

त्यहीबेला ‘चंखे शंखे पंखे’ फिल्मको कुरा आयो । आखिर यही फिल्डको त जागिर छ, २-४ दिनकै कुरा हो, गरौँ न त भन्ने सोचेँ । नायक प्रदीप खड्काजीसँग पहिल्यैदेखि चिनजान थियो । कति दिनको रोल हो भनेरे सोधेँ । उहाँले २७-२८ दिन लाग्छ भन्नुभयो । म त सक्दिनँ भर्खरै एन्टेना फाउन्डेसनमा आएको छु भनेँ । तर उहाँले एकदमै प्रेसर गर्नुभो । उहाँले एन्टेनामा मेरो हाकिमलाई भनेर कुरा मिलाइसक्नुभएछ । ‘मिटिङ बसियो । तपाईं भ्याउनुहुन्छ भने दुइटै गर्नुस्’ भन्नुभयो । लौ त भनेर भ्याइदिएँ ।


जनकपुर बस्दा आफैँ नाटक लेख्थें, आफैँ खेल्थें । नाटक राम्रो कि फिल्म भन्ने सोध्नेलाई म भन्छु, ‘नाटक नराम्रो, फिल्म राम्रो वा नाटक राम्रो, फिल्म नराम्रो भन्ने हुँदैन । किनकि दुवै कलाकारिता नै हो । मुख्य कुरा समय हो । समय छैन भने यता पनि टाइम दिने, उता पनि दिने गर्दाचाहिँ काम बिग्रन्छ, राम्रो हुँदैन ।


पछि, काठमाडौं आएँ । म जनकपुर हुँदा पनि महिनामा ६-७ दिन काठमाडौंमै हुन्थेँ । एउटा ब्याग सधैँ रेडी हुन्थ्यो । कतिखेर कहाँबाट फोन आउँछ, अनि हिँड्नुपर्छ भनेर । काठमाडौं आउँदा आफन्तकहाँ बस्थें । काम परेर आउँदा भने होटलको बास हुन्थ्यो ।


‘चंखे शंखे पंखे’ मा बसन्त नेपालीले एसिस्ट गर्नुभएको थियो । मलाई देख्नुभएको रहेछ । अनि एउटा मधेसतिरको क्यारेक्टर चाहियो भन्दा मेरो कुरा आएछ । अनि मलाई बोलाउनुभो । मलाई देखेर सुदर्शन थापालाई ज्वरो आएको थियो । बोलाउन त बोलाएँ तर भ्याउँछ त उसले ? गर्न सक्छ ? भन्ने सोचेर । चार दिन भनेको, एक हप्ता नै बस्नुपर्‍यो ।

एकचोटि कस्ट्युम लगाउनुस् भन्नुभयो । मैले कस्ट्युम लगाउँदा उहाँ एकदम खुसी हुनुभो । मन्त्रीको कस्ट्युम लगाएपछि क्यामेरा म्यान झन् खुसी । त्यसपछि बल्ल उहाँले अलि विश्वास गर्नुभयो । तीनवटा सिन अझै थप्नुभयो ।

मैले थाहा पाएको थिएँ, सुरुमा यसले हुँदैन, नयाँ मान्छे खोज्नुपर्छ भनेर सायद सोच्नुभएको थियो । सुरुमा रुचाउनुभएको थिएन मलाई । दुई दिन बसेपछि मैले वसन्तजीलाई मलाई जान दिनुस् भनेँ । उहाँले हैन, बस्नुस् भन्नुभयो । त्यसपछि ल ठिक छ भनेर बसेँ । अनि नयाँ क्यारेक्टर आयो । अचेल पनि मलाई बोलाउनुहुन्छ । नयाँ स्क्रिप्ट रेडी हुँदैछ झाजी, त्यसको एउटा क्यारेक्टर चैँ तपाईंले गर्नुपर्छ भन्नुहुन्छ ।


‘चंखे शंखे पंखे’ फिल्म चलेन । शुक्रबार रिलिज भयो, शनिबार नै भूकम्प गइदियो । त्यसपछि सबै मान्छे घरबाहिर । को हुनु हलमा ? अनि कसरी चल्नु फिल्म ? त्यतिखेर म इटहरीमा थिएँ । रेशम फिलिली पनि त्यही दिन रिलिज भएर फ्लप भएको थियो । थापाजी काम सिरियस्ली गर्नुहुन्छ । त्यसैले पछिका फिल्म चले ।


त्यसपछि ‘जात्रा’ खेलेँ । प्रदीपजी, रविन्द्रजीसँंग चिया पिउँदै कुरा भयो । एक जनालाई त्यो क्यारेक्टरका लागि १० दिन वर्कसप दिँदा पनि चित्त नबुझी फर्काइएको रहेछ । नाईको क्यारेक्टर । तपाईंले गर्नुपर्छ भन्नुभयो । मैले भ्याउँदिनँ, एन्टेनामा नाटकको पूरै जिम्मा मेरोमै छ, मैले नै कलाकार म्यानेज गर्नुपर्छ भनेँ । उहाँले त्यसो होइन झाजी, सहयोग गर्दिनुस् भन्नुभो । नगरी सुखै पाइनँ । जात्राबाट धेरै राम्रो रेस्पोन्स पाएँ । सुरुमा के राखेको होला यस्तो क्यारेक्टर भन्ने लागेको थियो तर कहाँबाट दर्शकले मन पराउनुभयो, थाहा छैन । अहिले म स्विच अफ गरेर काम गर्छु । आनन्दले काम गर्न पाएको छैन । मलाई नराम्रो कसैले भनेका छैनन् । बाटोमा सबैले चिन्छन् । हिँड्दा कतिपटक दर्शकले डाइलग नै भन्छन् मेरो । कस्तो भइसक्यो भने आफू पनि डिसिप्लेनमा बस्नुपर्छ । अब त बाटोमा बसेर रमाइलो गर्नसमेत समस्या भइसकेको छ ।
पछिल्ला फिल्ममा मधेसको क्यारेक्टर उठाउन थालिएको छ । एकपटक एक जनाले मसँग भन्नुभयो, ‘तराईमा किन फिल्म चल्दैन ?’ त्यतिबेला मैले भनेको थिएँ, ‘फोटो खिचेपछि पहिले तपाईंको आँखा कहाँ जान्छ ? आफू कहाँ छु भन्ने कुरामा । त्यस्तै हो, जबसम्म फिल्ममा तराईको मान्छे हुँदैन, तबसम्म तराईमा फिल्म चल्दैन । त्यहाँको मान्छे छैन, अनुहार छैन किन चल्नु ? नेपाल यत्तिको छ भनेर हुँदैन, मिक्स गर्नुस्, अनि चल्छ ।’ बीचमा भोजपुरी चल्यो, त्यो अगाडि नेपाली चल्थ्यो । अहिले फेरि नेपाली चल्न थालेको छ । २, ३ वर्ष भयो । ‘जात्रा’ जनकपुरमा ४-५ दिन चल्यो । दुई रुपियाँ दुई हप्ता चल्यो । बिस्तारै पिकअप लिँदै छ ।

मधेसी क्यारेक्टर मिसअपले भोजपुरीलाई ओभरल्याप गरेको छैन । किनकि भोजपुरीको छुट्टै मार्केट छ । नेपाली फिल्मको भन्दा ठूलो मार्केट छ । लगानी धेरै छ । उठाउने ठाउँ पनि छ । नेपाली फिल्ममा लगानी धेरै गर्दा प्रोड्युसर डुब्छ । उठाउने कहाँ ? त्यसकारण प्रोड्युसरलाई बचाउनुपर्छ । कसलाई हुँदैन र दुईतीन करोड लगानी गरौँ भन्ने ? तर लगानी डुबाएर के गर्ने ?
‘कोहलपुर एक्सप्रेस’ सकियो । केही सोच्ने मौका नै पाएको छैन । १४ गते एउटा फिल्म सकिन्छ, १५ गते अर्काे आउँछ । एक दिन यही चंगाचैट र रामकहानीको अवस्था । यस्तै हुँदा चाँही गलत फिल्डमा आएछु कि जस्तो भएको थियो । अहिले रामकहानीमा काम गरिरहेको छु । ९-१० वटा खेलेँ । चारवटा त रिलिज भैसके । क्यारेक्टर फरक छ तर लवज चैँ उस्तै छ । जति शुद्ध नेपाली बोले पनि मेरो मधेसी टोन आउँछ । तपाईंले जति मैथिली बोले पनि नेपाली टोन आइहाल्छ । यो फिल्ममा केकीजी पनि हुनुहुन्छ, धेरै मजा आयो उहाँसँग काम गर्दा । मान्छेहरु राम्रा, टिममा सबै राम्रा । ठाउँ पनि राम्रो ।
अहिले भर्खर रामकहानीको फेसबुकमा फोटो पनि हालेको थिएँ मैले । पोखराभन्दा ४ घन्टामाथि गएको थिएँ, हाम्रो सुटिङ सकिएपछि । हामी हिँड्दै रोकिँदै अघि बढिरहेका थियौं । बाटोमा कतै माग्ने बुढोको फ्यान छ, कहीँ दयाहाङको । नजिक आएपछि सेल्फी लिऊँ शेरबहादुर भन्छ ।

म एकदमै खुसी भएँ कि म पहाडमा पनि रहिछु भनेर । फोटो खिच्नेबित्तिकै फेसबुकमा हाल्नुको मतलब म कति खुसी थिएँ भन्ने थाहा हुन्छ । मधेसी र पहाडी जुन भनाइ छ, त्यो जनतामा छैन । राजनीति गर्नेले मात्रै फरक पारिदिन्छ । कहिल्यै नगएको ठाउँमा, अलरेडी दुइटा ठूला स्टार हँुदासमेत मलाई यस्तो सम्मान नि ? म खुसीले तनाबमा थिएँ ।


‘सुनकेसरी’ को सुटिङका लागि अस्ट्रेलिया गएँ । त्यहाँको काम गर्ने तरिका फरक रहेछ । स्टन्टकै काम गर्दा यहाँ एउटा डोरी हुन्छ । त्यहाँ त दुई ट्रक सामान । सेफ्टी राम्रो । डाक्टर हुन्छ, मेन डाइरेक्टरभन्दा ठूलो । उसले चाह्यो भने सुटिङ नै रोकाउँछ । काम गर्ने तरिका बहुत रामो लाग्यो । मूर्ति थियो बोल्ने । सेटमा घर नै थियो । एक्लै कोही नजाने, डर लाग्ने । मेरो प्याकअप भएपछि एक्लै भित्र छिर्दा खुब डराएँ । राति कहिल्यै एक्लै बस्न सकिनँ ।
सुरुमा धेरै कष्ट भोगियो । ‘ह्या, नौटंकी गर्छ’ भनेको मेरै कानले सुनेको छु । त्यही मान्छेले अहिले मेरो छोराछोरीलाई समेत प्रशंसा गर्छ ।


जब म नेपाल कमर्स क्याम्पसमा आएँ । स्कुलमा नि म धेरै मजाक गर्ने गर्थेँ । कतिले भन्ने गर्थेँ कि यो कलाकार हो भनेर । शुक्रबार स्कुलमा गीत, अभिनयको कार्यक्रम हुन्थ्यो । सुरुमा गीत गाउँथेँ । अभिनय देखाउने ठाउँ थिएन । रुची चैँ थियो । कालिकास्थानमा अरुणकुमार झाले अडियो निकाल्नुभएको थियो, महाकवि विद्यापति सिरिअलको ।

त्यो समय महेन्द्रकुमार मिश्र राष्ट्रिय सभामा सचेतक हुनुहुन्थ्यो । उहाँको कोठा चैँ गइरहन्थेँ । कुरै कुरामा उहाँले मलाई तँ यहाँ बस्ने भए कलाकारिता गर्, कलाकार टाइपको छस्, मैथिली सिरियलको अडिसन छ, त्यहाँ जा भन्नुभो । अनि पत्ता लगाएर गएँ । नाम निकालेँ अनि जनकपुरमा सुटिङ भयो । राम्रो रोल पाएँ । त्यसपछि एउटा एड खेलेँ । संगीतकला नाट्य परिषदबारे अरुणजीले भन्नुभयो । पत्ता लगाए आउनजान थालेँ । १२ क्लास क्लियर भएपछि जनकपुर गएँ ।


मान्छे रमाइलो गर्न आउँछ । संघर्षको पिरियडमा अब त गर्न सक्दिनँ भनेर भाग्छ । कलाकारको पसिना निस्किन्छ । टिकेर बस्ने एकदम कम हुन्छ । हाम्रो पालामा थकानले जब आइन्थ्यो नि कोठामा, धुलो माटो जे होस्, त्यहीँ ढलिन्थ्यो । एकप्रकारको बेहोस नै भइन्थ्यो । अहिले तरिका परिवर्तन भएको छ । धेरै सजिलो भएको छ ।

साभार :मेरो फिल्म

तपाईको प्रतिक्रिया