'काठमाडौँमा भूमिगत रेल नै उपयुक्त'

प्रवास

मधेशवाणी संवाददाता

    बैशाख ११, २०७५   

लण्डन – काठमाडौँ जस्तो व्यस्त सिटीको लागि भूमिगत रेल दीर्घकालिन हुने विज्ञहरुले सुझाव दिएका छन् । सोसाइटी अफ नेप्लीज इन्जिनियर्स युकेद्वारा शनिबार लण्डनमा आयोजित एक कार्यक्रममा नेपालमा रेलको सम्भवना र चुनौति बारे कार्यपत्र पेश गर्दै रेल विज्ञहरूले सरकारलाई सो सुझाव दिएका हुन्।  

कार्यक्रमा इन्जिनियर राजेश पाठकले लण्डनस्थित एउटा रेल परियोजनाको निर्माण व्यवस्थापकको रुपमा आफूले पाएको अनुभवबाट नेपालले के सिक्नसक्छ भन्ने विषयमा कार्यपत्र प्रस्तुति गरेका थिए। त्यस्तै वरिष्ठ इन्जिनियर नारद भण्डारीले रेलेवे पूर्वाधार आयोजनाहरुमा गुणस्तर सुनिश्चितता गरिनुपर्ने विषयमा प्रस्तुति गरेका थिए।

आफ्नो प्रस्तुतिमा बेलायतमा कार्यरत कन्सल्टिङ सिभिल इन्जिनियर डा विनोदलाल अमात्यले दीर्घकालिन हिसाबले हेर्दा काठमाडौं उपत्यकामा मेट्रो अर्थात् भूमिगत रेलसेवा नै चाहिने बताए। मोनो रेलले काठमाडौंको यातायात समस्या समाधान गर्न सक्दैन, काठमाडौंका सम्पदाहरू, वायु प्रदूषण र अव्यवस्थित शहरीकरणका कारण मोनो रेल भन्दा भूमिगत रेलमै जानु आवश्यक छ, उनले भने।
त्यस्तै १५ वर्ष हङकङमा सुरुङ निर्माणको क्षेत्रमा काम गरेर हाल बेलायतमा कार्यरत इन्जिनियर विजय गुरुङले पनि पोखरा जस्तो पर्यटकीय शहरका लागि मोनो रेल एउटा संभाव्यता हुनसकेपनि काठमाडौंका लागि मेट्रो रेल नै चाहिने बताए। सरकारले प्रयास गर्ने हो भने विदेशी सहायता जुटाएर पनि नेपालमा भूमिगत रेल बनाउन सकिन्छ, उनले भने। 

बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले बेलायतमा बसोबास गरिरहेका नेपाली इन्जिनियरहरूलाई नेपालको विकासमा सघाउन आह्वान  गरे।   
राजदूत सुवेदीले विश्वव्यापीकरणको वर्तमान युगमा एउटै लक्ष्मणरेखा भित्र बसीरहने भन्ने कुरा सधैँ संभव नहुने बताए। ‘विदेशमा बसिरहेका सबै नेपाली नेपाल नै फर्कनु पर्छ भन्ने होइन, तर जहाँ बसेपनि हामीले नेपालका लागि काम गर्न सक्छौं र गर्नुपनि पर्छ,’ उनले भने।

देशले राजनीतिक समस्याको निकास पाइसकेको बताउँदै राजदूत सुवेदीले विदेशमा बसिरहेका डाक्टर, इन्जिनियर, प्राध्यापक, नर्स लगायत सबै कर्मयोगी नेपालीहरूले नेपालको विकासका लागि केही न केही योगदान गर्नुपर्ने बताए। उनले लण्डनस्थित नेपाली दूतावासले हरेक वर्ष दुईवटा नेपाल विकास सम्मेलन आयोजना गर्न लागेको बताउँदै ती सम्मेलनमा सहभागी भै आफ्नो अनुभव र सीप बाँड्न उनले इन्जिनियरहरुलाई आह्वान पनि  गरे।

गैरआवासीय नेपाली संघ युकेका महासचिव इन्जिनियर राजकुमार त्रिपाठीले नेपाली इन्जिनियरहरू विदेशमा सिकेको सीप र ज्ञान नेपालको विकासका लागि उपयोग गर्न तयार रहेको बताए। कार्यक्रममा बेलायतमा कार्यरत इन्जिनियर तथा विज्ञहरूले ६ वटा कार्यपत्रहरू प्रस्तुत गरेका थिए। 

साउथहम्पटन सोलेन्ट विश्वविद्यालयका सहप्राध्यापक डा रमेश मरासिनीको अध्यक्षतामा सम्पन्न दोश्रो सत्रमा वरिष्ठ इन्जिनियर कृष्णकिशोर श्रेष्ठले दोधारा चाँदनीमा पुल बनाएको अनुभवबारे प्रस्तुति दिएका थिए भने वरिष्ठ इन्जिनियरहरू घनश्याम पौडेल तथा कन्हैया भगत कोइरीले मायादेवी मन्दिरको पुनर्निर्माणको उदाहरण दिंदै संरचनागत समस्याहरू कसरी समाधान गर्न सकिन्छ भन्नेबारे प्रस्तुति दिएका थिए।  त्यस्तै स्वानसी विश्वविद्यालयमा अनुसन्धान गरिरहेका रामहरि पौड्यालले नेपालको उर्जा संकट र समाधानका उपायहरूबारे प्रस्तुति दिएका थिए।

युनेस्कोको पेरिसस्थित मुख्यालयमा कार्यरत जलस्रोतविद् डा। अनिल मिश्रले नेपालीहरूले हामी जलस्रोतमा धनी छौं भन्ने अवधारणा हटाउनु पर्ने बताए।

नेपालमा वर्षातका तीन महिनामा मात्रै पानी अत्याधिक हुने तर बाँकी नौ महिना पानीको अभाव हुने भएकाले त्यो अवधिमा पानीको कसरी व्यवस्थापन गर्ने भन्ने तर्फ सबैको ध्यान जानुपर्ने उनले बताए। ‘अहिले प्रविधि उपलब्ध छ, अन्तरिक्षबाट प्राप्त हुने तथ्याङ्कको पनि उपयोग गर्न सकिन्छ, तर मुख्य चुनौती भनेको वैज्ञानिक सूचना र ज्ञान सर्वसाधारण जनतामा कसरी स्थानान्तर गर्ने भन्ने नै हो,’ उनले भने।

नेपाल सरकार तथा विश्व बैङ्क लगायतका संस्थामा लामो समय काम गरेका वरिष्ठ इन्जिनियर सुरेन्द्र गोविन्द जोशीले स्वास्थ्य, शिक्षा, गरीबी निवारणको क्षेत्रमा बितेका केही दशकहरुमा नेपालले राम्रो प्रगति गरेको बताए। 

तपाईको प्रतिक्रिया