बेटी पढाउ बेटी बचाउ अभियानलाई सहयोग पुर्याउँदै वडाअध्यक्ष साह

शिक्षा

       

राकेश यादव, रौतहट, २० भाद्र । रौतहट जिल्लाको गौर नगरपलिका वडा नम्बर १ को कार्यालयबाट निःशुल्क रुपमा संचालित आधारभूत कम्प्यूटर शिक्षा तालिम प्राप्त गरेकी ३८ बालिकाहरुलाई प्रमाण पत्र वितरण गरिएको छ । 

तेस्रो सत्रको सहभागी बालिकाहरुलाई वडा अध्यक्ष भरत साहले ३ महिने कम्प्यूटर तालीमको प्रमाण पत्र वितरण गरेका हुन् । 

प्राविधिक शिक्षामा किशोरीहरुलाई दक्ष बनाउने उद्देश्य राखेर स्थानीय तहको निर्वाचनपछि आफ्नो निजी लगानीमा कक्षा सञ्चालन गरेका वडा अध्यक्ष साहले चौथो सत्रमा ४५ जना बालिकाले नामांकन गराई प्रशिक्षण लिइरहेको जानकारी गराएका छन् । 

अहिलेसम्म तीन चरणमा गरी ११५ जना बालिकाहरु कम्प्यूटरको ज्ञान हासिल गरिसकेको बताए । निर्वा्चित हुनु भन्दा अगावै गरेको वाचा अनुसार आफ्नो निजी लगानीबाट बालिकाहरुलाई कम्प्यूटरको शिक्षा दिइरहेको उनले भने । 

१८ वटा स्थानीय तह भएको रौतहटमा गौर नगरपालिकाका वड़ा नम्बर १ को वड़ा कार्यालयले बेटी पढाउ बेटी बचाउ अभियानलाइ प्रत्यक्ष रुपमा सघाई रहेका छन् । 

प्रदेश २ का सरकारले बेटी पढाउ, बेटी बचाउ अभियान घोषणा गर्नु भन्दा पहिलादेखि नै वडा अध्यक्ष साहले कसैसँग कुनै सहयोग नलिइकन आफ्नो निजी खर्चमा बालिकाहरुलाई शिक्षित बनाउने कार्य शुभारम्भ गरेका हुन् । 

साहले शिक्षामा केटाको जस्तो चेली छोरीको पहुंच हुनु पर्ने धरना राखेर काम गरी रहेका छन् । पहिला वड़ा स्तरीय राखिएकोमा अब नगरस्तरीय बनाएको साहले बताए । 

समाज, घर, टोल विकासमा महिलाहरुको सक्रीय सहभागिता रहेको हुँदा महिला शिक्षित नभएसम्म समाज पूर्ण रुपमा शिक्षित हुन नसक्ने वडा अध्यक्ष साहको मान्यता रहेका छन् । प्रमाण पत्र पाएका बालिकाहरुले आधारभूत कम्प्यूटर शिक्षाले थप ऊर्जा प्रदान गरेको प्रतिक्रिया दिएका छन् । 

वडा अध्यक्ष साहले तालीम लिइसकेका मध्येबाट पुनः जांच लिइने र काम समयमा टाइप गर्न सफल हुने किशोरीलाइ पुरस्कृत गरिने उद्धघोष गरेका छन् । 

कार्यक्रममा वडा सदस्य बैधनाथ महतो, महिला वडा सदस्य संगीता देवी, आरती देवी तथा प्रशिक्षक समेतको उपस्थति रहेको थियो ।

तपाईको प्रतिक्रिया