साल्ट ट्रेडिङ्गले मनायो ५६औं वार्षिकोत्सव

अर्थ/वाणिज्य

       

काठमाडौं, २७ भाद्र । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले ५६औं वार्षिकोत्सव मनाएको छ । बुधबार आफ्नो प्राङ्गणमा एक कार्यक्रममको आयोजना गरी साल्ट ट्रेडिङ्गले वार्षिकोत्सव मनाएको हो । 

वार्षिकोत्सव कार्यक्रममको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले गरेका थिए । वार्षिकोत्सव कार्यक्रममलाई सम्बोधन गर्दै मन्त्री यादवले साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडका उत्पादकहरुको प्रशंसा गरेका थिए । 

उनले साल्ट ट्रेडिङले आयो नून वितरण गरेर नेपाली जनतामाथि ठूलो गुन लगाएको बाताए । आयोडिनको कमीको कारण हुने रोगलाई आयो नूनले विस्थापित गरेको बताउँदै मन्त्री यादवले कृषकलाई समयमा मल उपलब्ध गराउने कुरामा साल्ट ट्रेडिङको ध्यान जानुपर्ने बताए । 

साल्ट ट्रेडिङ्गका महाप्रबन्धक उर्मिला श्रेष्ठले कार्यक्रममा स्वागत मन्तव्य दिएकी थिइन् । श्रेष्ठले आगामी दशैँ तिहार छठजस्तो महान् पर्वलाई ध्यानमा राखेर साल्ट ट्रेडिङले उपभोक्ताका लागि सस्तोमा माल सामान बेच्ने व्यवस्था गरिन लागेको जानकारी दिइन् । 

स्थानीय किसानलाई प्रोत्साहित गर्न हेटौँडामा स्थापना गरिएको नेपाल वनस्पति घ्यू उद्योगबाट प्रशोधित तोरीको तेल उत्पादन गर्न लागेको जानकारी श्रेष्ठले कार्यक्रममा दिइन् । 

लक्ष्मीदास मानन्धरको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सवमा रामजी अधिकारी मानव सेवा आश्रम, रश्मी श्रेष्ठ, पंकज जोशी, केशवमान श्रेष्ठ, बद्री महर्जनलाई पुरस्कृत गरिएको थियो । एसईई परीक्षामा बढी अंक ल्याउने कर्मचारीका छोरा विवेक प्रसाई र श्रद्धा महर्जनलाई छात्रवृत्ति प्रदान गरिएको थियो भने २० वर्ष सेवा गरेका श्रीजन रेग्मीलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया