सिंहदरबार गाउँ–गाउँमा पुगेको अनुभव भएको छ : विक्रम यादव

अध्यक्ष, चक्रघाटा गाउँपालिका, सर्लाही

स्थानीय सम्वाद्

       

० चक्रघाटा गाउँपालिकामा अहिले के–कस्ता विकासका कामहरू भइरहेका छन् ?
— अहिले देशमा तीन तहको सरकार बनेको छ । यो पहिलो अनुभव हो । पदाधिकारीदेखि हरेक संरचना नयाँ भएकाले केही बाधा व्यवधानहरू उत्पन्न हुनु स्वभाविक नै हो । हामीले सबैभन्दा पहिले सडक निर्माणलाई नै प्राथमिकतामा राखेर काम अगाडि बढाउँदै छौं ।


० तपाईँ यस गाउँपालिकामा चुनिएर आउनुभएको पनि १० महिना भइसक्यो । गत वर्षको बजेटमा यो क्षेत्रका लागि के–केलाई प्राथमिकता दिएर काम गर्नुभयो ? 
— हामीले शिक्षा, स्वास्थ्य र सडकलाई प्राथमिकतामा राखेका थियौं । शिक्षामा सबैभन्दा बढी समस्या भनेको शिक्षककै कारणबाट हुने रहेछ । हामीलाई शिक्षक नियुक्ति गर्ने अधिकार छैन । त्यस्तै विद्यालयहरूका भौतिक संरचना निर्माणमा हामीले ध्यान दियौं । खेल मैदान, कक्षाकोठा, शौचालय निर्माण ग¥यौं । स्वास्थ्यको क्षेत्रमा धेरै वर्षदेखि अस्पतालहरूमा औषधीको अभाव हुने गरेको थियो । त्यसलाई हटाउन अस्पतालहरूमा भारी मात्रामा औषधि पु¥याएर सहज बनायौं । हामीले सडकलाई प्राथमिकतामा राखेर नयाँ सडक खन्ने, पहिलेदेखि बनिरहेको बाटोलाई कालोपत्रे गर्ने, केही समस्या नहोस् भनेर बाटो फराकिलो गर्ने काम ग¥यौं । हामीले सडकमा ढलान गर्ने व्यवस्था गरेका छौं र मुख्य प्राथमिकतामा राखेका पनि छौं ।


० आर्थिक वर्षको अन्त्यमा असारे विकास बढी भयो भन्ने आम जनगुनासो रहने गरेको छ नि ? 
— हामीले यो वर्ष असारमा खासै विकास निर्माणको काम गरेनौं । तालिम, गोष्ठी लगायतका कार्यक्रमहरू असारमा राखेका थियौं । अन्य विकास निर्माणका कामहरू जेठसम्म सकिसक्ने योजना अनुरूप अगाडि बढेका थियौं र त्यसरी नै काम ग¥यौं ।


० बजेट फ्रिज हुने समस्या कति रह्यो यो वर्र्ष ?
— चुनावको वर्ष भएर पनि होला, यो वर्ष त्यति ठूलो रकम बजेट फ्रिज भएको छैन । झण्डै ७०% बजेट हामीले खर्च गर्न सफल भयौं । मधेशमा अलिकति आन्तरिक द्वन्द्वको कारणले गर्दा पनि ३०% बजेट उपयोग गर्न सकेनौं । त्यो बजेटलाई अहिलेको आर्थिक वर्षमा हामीले विनियोजित ग¥यौं । जुन काम गर्न हामीलाई हिजोका दिनमा बाधा व्यवधानहरू उत्पन्न हुने गरेको थियो यसपालि हामीले सुरूमा नै कुन ठाउँमा योजना लैजाने हो त्यो विषयमा छलफल गरेर मात्र अगाडि बढाउने योजना बनाएका छौं ।


० स्थानीय निर्वाचन पश्चात् सिंहदरबार गाउँ गाउँमा पुग्छ भन्ने गरिन्थ्यो, त्यहाँका जनताले सिंहदरबार गाउँमा पुगेको भन्ने महसुस गर्न पाएका छन् ?
— महसुस गरेका छन् । पहिले हरेक कामको लागि काठमाडौं जानुपर्ने, कुनै योजना ल्याउनु प¥र्यो अथवा कुनै योजना परिवर्तन गर्नु प¥यो भने सिधैं मन्त्रालयमा नै धाउनुपर्ने अवस्था थियो तर अहिले त्यस्तो छैन । अहिले कुनै योजना बनाउनु प¥यो वा योजना परिवर्तन गर्नु प¥यो, रकम थप गर्नुपर्ने भयो भने तत्कालै बोर्डको बैठक बसेर यही समाधान निकाल्छौं । दलित, पछाडि परेका समुदायहरूलाई कुनै सेवा दिनुप¥यो भने हामीले यही आपतकालीन बैठक बसेर तत्काल उनीहरूलाई राहत दिने व्यवस्था गर्छौं र हरेक हिसाबले यहाँका जनतालाई स्थानीय सरकारले सहयोग गरिरहेको अनुभूति गराउन हाम्रो ध्यान रहने गरेको छ । अहिले यति छोटो समयमा नै यहाँका जनताले सिंहदरबार गाउँमा आइपुगेको अनुभव गरेका छन् र भविष्यमा हामी अझ राम्रो काम गर्दै जानेछौं ।


० अन्य स्थानीय तहका प्रतिनिधिसँग कुरा गर्दा उहाँहरूले सिंहदरबार गाउँ गाउँमा भन्ने नारामा मात्र सीमित भएको छ भन्नुहुन्छ नि ? 
— नारामा मात्र सीमित छ भनेर भन्न मिल्दैन । हामीले आफैं पनि अनुभूति गरेका छौं । हिजोको दिनमा सर्लाही जिल्लाभरीमा एउटा मात्र मेयर हुन्थ्ये अहिले सर्लाही जिल्लामा मात्र २० वटा स्थानीय तहहरू रहेका छन् । २० वटा स्थानीय तहमा हिजोको तुलनामा आजको दिनमा विकासका काम द्रूत गतिमा अगाडि बढेको छ । पदाधिकारीहरू पनि आफ्नो जिम्मेवारीबाट खुसी छन् । पदाधिकारीहरूमा अलिकति कार्य अनुभवको कमी भएर होला, सरसल्लाहको कमी होला । हामीले के सोचेर संघीयता ल्याएका छौं त्यो कुराको अधिकतम जानकारी नभएर हुनसक्ला तर नियमित तालिम, छलफल, गोष्ठीहरूले गर्दा हामीले धेरै नै अनुभव गरिसकेका छौं । वास्तवमा स्थानीय तहले जनतालाई सिधा सेवा दिन सक्छ । स्थानीय तह अप्ठ्यारो अवस्थामा छ भन्ने मलाई लाग्दैन ।


० प्रत्येक वर्ष सामान्य वर्ष हुँदा पनि गाउँघरमा पानी जम्ने, पानीको निकास नहुने समस्या देखा पर्ने गर्दछ त्यतातिर तपार्ईँहरूले ध्यान दिनुभएको छ ? 
— यस्ता समस्या कतिपय ठाउँमा रहेका छन् । अहिले हामीले आपसी छलफल गरेर कसको मनसाय के हो भनेर बुझिरहेका छौं । यो ठाउँमा कस्ता योजना बनाउनुपर्छ भनेर हामीले भन्ने गरेका छैनौं । कुन ठाउँको के समस्या छन्, कस्ता योजनाको आवश्यक्ता रहेको छ त्यहीँका जनतासँग बुझ्ने गरेका छौं । यसो गर्दा निर्विवाद हिसाबले समस्या समाधान भईरहेको छ ।


० तपाईँको गाउँपालिकाका लागि आगामी एजेन्डाहरू केके रहेका छन् ? 
— हामीले आवधिक योजनामा शिक्षामा जोड दिएका छौं । हामीले महिला शिक्षा, प्रौढ शिक्षाको पनि व्यवस्था गरेका छौं । मधेशमा कृषि उत्पादन धेरै हुने गर्दछ । त्यहाँ सिँचाईको समस्या रहेको छ । खेतीबालीमा सिँचाईको व्यवस्था गर्न योजना अगाडि ल्याएका छौं । नदीनालाबाट खेर गइरहेको पानीलाई कसरी खेतबारीमा प्रयोग गर्न सकिन्छ भनेर हामीले सल्लाह गरिरहेका छौं । शिक्षा र सिँचाईलाई प्राथमिकतामा राखेर हामी अगाडि बढेका छौं ।


प्रकाशित मिति : २०७५ साल साउन ११ गते शुक्रबार ।

तपाईको प्रतिक्रिया