डोम र मुसहरका लागि विशेष योजना ल्याउँदैछौं : सलमा खातुन

उपमेयर, पोखरिया नगरपालिका, पर्सा

स्थानीय सम्वाद्

       

० पोखरिया नगरपालिकामा अहिले के कस्ता विकास निर्माणका कार्यहरू भइरहेका छन् ?
— यस नगरपालिकामा हामीले खासगरी सडक र नालालाई विशेष प्राथमिकता दिएका छौं । यो नगरपालिका ग्रामीण क्षेत्र भित्र पर्छ र यहाँको सबभन्दा ठूलो समस्या बाटोघाटोकै रहेको छ । बाटोघाटोकै अभावका कारण यो नगरपालिकाको जति विकास हुनुपर्ने हो, त्यसरी हुन पाएको छैन । तसर्थ हामीले पहिलो प्राथमिकता नाला र सडकलाई दिएका छौं । यसैगरी, विद्यालयका पूर्वाधार र स्वास्थ्य क्षेत्रमा बढी ध्यान दिएका छौं ।


० गत आर्थिक वर्षको बजेट कति खर्च भयो त ?
—गत आर्थिक वर्षको बजेटमा हामीले करिब ८५ प्रतिशतभन्दा बढी बजेट खर्च गर्न पायौं । केही मात्र बजेट खर्च हुन पाएन । जसमा हामीले शिक्षा क्षेत्रमा बढी लगानी ग¥यौं । छात्रवृत्तिदेखि लिएर भौतिक निर्माणमा बजेट खर्च ग¥यौं । समाजमा पिछडिएका वर्गहरूका लागि विभिन्न तालिम, स्वास्थ्यचौकी र अस्पतालमा विभिन्न उपकरणलगायतका व्यवस्था ग¥यौं । ज्येष्ठ नागरिकहरूका लागि सबै किसिमका सेवा सुविधाहरू निःशुल्क ग¥यौं । स्थानीय सरकारको जिम्मेवारी स्वास्थ्य र शिक्षाका सबै कुरा आइसकेका छन् ।


० तपाइँहरूले सोचेजस्तो काम गर्न सक्नुभएको छ ?
— ठ्याक्कै सोचेजस्तो एक वर्षमै उपलब्धि देखिएको छैन तर यहाँका जनता खुशी छन् । किनभने दुई दशकभन्दा बढी समयदेखि स्थानीय तह सरकारविहीनताको अवस्थामा थियो । त्यसहिसावले यहाँ धेरै गर्नुपर्ने रहेको छ । तर अब विस्तारै मुहार फेरिन थालिएको छ जसले गर्दा स्थानीय जनता खुशी र हर्षित देखिएका छन् ।


० स्थानीय तहका जनप्रतिनिधिहरू आएदेखि जनताले स्थानीय सरकारको महसुस कति गर्न पाएका छन् त ?
— जनप्रतिनिधि आइसकेपछि स्थानीय जनतालाई निकै नै सहज भएको छ । जुन धारणा लिएर अगाडि बढिएको छ कि गाउँ–गाउँमा सिंहदरबार अथवा आफ्नो सरकार आफ्नो ठाउँमा भन्ने कुरा विस्तारै जनताले महसुस गर्न थालेका छन् ।


० भनेपछि, सिंहदरबार गाउँ–गाउँमा जनताले महसुस गर्न पाएका छन् ?
— केही हदसम्म महसुस गरेका छन् तर पूर्णरूपमा छैन । किनभने हामी निर्वाचित भएर आएको धेरै समय पनि भएको छैन । एक वर्षमै हामीले सबै कुरा गरिसक्यौं भन्ने दाबी पनि गर्दैनौं । तर, हामीले अहिलेसम्म गरेका पहलहरू सकारात्मक छन् र जनताले पनि त्यसलाई सहज ढंगले स्वीकार गरेका छन् । जनताले गुनासोभन्दा पनि राम्रो काम गर्नका लागि प्रोत्साहन गर्दैछन् । केही हदसम्म हामीले काम गरेर देखाइसकेका छौं भने हामी सही बाटोमा गइरहेका छौं भन्ने लागेको छ ।


० तपाइँ यसअघि सञ्चारकर्मी हुनुहुन्थ्यो, तर अहिले जनप्रतिनिधिको रूपमा निर्वाचित भएर आइसकेपछि कति जिम्मेवारी महसुस भएको छ ?
— एउटा जनप्रतिनिधिको रूपमा काम गर्न मलाई गाह्रो जस्तो लागेको छ । सञ्चारकर्मीको रूपमा प्रश्न गर्नु केही हदसम्म सजिलो हुँदो रहेछ तर त्यो ठाउँमा पुगिसकेर जवाफदेहितालाई अँगालेर काम गर्नु निकै गाह्रो रहेको छ । किनभने सबैको चित्त बुझाउनुपर्ने हुन्छ र आफूले गरेको निर्णयले कस्तो असर पर्छ भन्ने कुराको पनि ध्यान दिनुपर्छ ।


० स्थानीय तहमा केकस्ता बेथितिहरू देख्नुहुन्छ ?
— मेलै देखेअनुसार पहिलो कुरा शिक्षाको अभाव छ तर सुधार हुने क्रममा छ । यसैगरी जनचेतनाको पनि अभाव छ । जसमा सामाजिक जनचेतना छ र राजनीतिक जनचेतनाको पनि कमी छ । युवावर्ग जुन बाटोमा जानुपर्ने हो मलाई चित्त बुझेको छैन । हाम्रो गाउँ ठाउँको भविष्य कस्तो हुने हो त्यसको निर्धारण युवाले गर्ने हो । तर, त्यो माहौल नपाएको जस्तो लागिरहेको छ । यस्तै, अन्य जुन सामाजिक कुरितिहरू छन् त्यो त यथावत् नै छन् ।


० सामाजिक कुरिति विरूद्धमा के कस्ता योजना बनाउनु भएको छ ?
— तराई–मधेशमा देखिएका कुरितिका विरूद्धमा हामी लागेका छौं । जस्तै, बालिका शिक्षालाई हामीले जोड दिएका छौं । बीमाका कार्यक्रम ल्याएका छौं, जसअन्तर्गत शैक्षिक बीमा रहेको छ । बालिकाहरूले आधारभूत तहको शिक्षा प्राप्त गरेर २० वर्षपछि मात्र बिहे गर्दा ती रकम उपलब्ध गराउने खालका प्रावधानहरू रहेका छन् । जसले गर्दा बाल विवाह र दाइजो प्रथालगायत विभिन्न कुरितिलाई कम गर्न सक्छौं । आम जनताको बीचमा पनि यस्ता कार्यक्रमहरू निकै लोकप्रिय भएका छन् । लोकप्रियताका कारण अन्य स्थानीय तहले पनि ती कार्यक्रम अपनाइरहेका छन् ।


० जसरी प्रदेश सरकारले ‘बेटी बचाउ, बेटी पढाउ’ अभियान ल्याएको छ, यसमा प्रदेश सरकारसँग कसरी सहकार्य हुँदैछ त ?
— हामी निर्वाचित भएर आएदेखि नै ‘बालिका स्वर्णिम योजना’ लागू ग¥यौं । जसअन्तर्गत बालिका जन्मेपछि ३५ दिनभित्र निःशुल्क जन्मदर्ता गराएर उनका अभिभावकले हामीसँग सम्पर्क गरेपछि ती बालिकाको नामबाट १० हजारको बीमा गर्छौं । त्यो बीमाको रकम ती बालिकाले २० वर्षपछि प्राप्त गर्छिन् । तर, त्यसका शर्तहरू के निर्धारण गरिएको छ भने उनले न्यूनतम् आधारभूत तहको शिक्षा प्राप्त गरेको हुनुपर्छ र त्यो उमेरसम्म उनले बिहे गरेको हुनुहुँदैन । यसले गर्दा हमीले कुरितिलाई अन्त्य गर्न एकै ठाउँमा एउटा प्याकेज बनायौं । त्यसलगत्तै हाम्रो मुख्यमन्त्रीको बेटी बचाउ बेटी पढाउ योजना आयो यसले हामीलाई पनि धेरै ठूलो बल मिल्यो । हाम्रो कार्यक्रमले मुख्यमन्त्रीको कार्यक्रमलाई पक्कै पनि सहयोग गर्छ भन्ने विश्वस्त छौं ।


० चालू आर्थिक वर्षको बजेटमा के के प्राथमिकतामा राख्नुभएको छ ?
— अहिले हाम्रो नगरसभा भइसकेको छैन, आगामी ३१ गते तोकिएको छ । तर योजना निर्माणमा लागेका छौं । तैपनि हामीले मुख्यतया शिक्षा र स्वास्थ्य क्षेत्रलाई एकदमै महत्व दिएका छौं । सँगसँगै कृषिलाई पनि त्यतिकै महत्व दिएका छौं । किनभने यहाँका अधिकांश जनता कृषिमा नै आधारित रहेका छन् । त्यसैले हामीले यी तीन वटा कुरालाई विशेष ध्यान दिइरहेका छौं । यसैगरी, महिलाको आर्थिक सशक्तीकरण र युवाहरूका लागि आयआर्जन गर्ने खालका कार्यक्रम ल्याउने योजनामा छौं । यस्तै, नगरपालिकालाई बालमैत्री बनाउने योजना पनि छ । खासगरी अतिपिछडिएका डोम र मुसहर समुदायका लागि हामी विशेष योजना लिएर आउँदैछौं ।

 

प्रकाशित मिति : २०७५ साल साउन २५ गते शुक्रबार ।

तपाईको प्रतिक्रिया