राज्यमन्त्रीको शान

सम्पादकीय

       

प्रदेश २ मा हालै भएको मन्त्रिपरिषद् विस्तारमा राजपा नेपालकी डिम्पल झा भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा नियुक्त भइन् । राज्यमन्त्री बन्नुअघि मधेशको राजनीतिमा उनको चर्चा र योगदानका विषयमा धेरै बहस भएको छ । यद्यपी पार्टी र मधेशको आन्दोलनमा उनको व्यक्तिगत योगदानभन्दा उनका पति अनिल झाको विशेष पहलमा उनी प्रदेश २ की समानुपातिकबाट सदस्य भइन् भने अहिले राज्यमन्त्री पनि सफल भएको सर्वत्र चर्चा छ ।


उनी राज्यमन्त्री बनेपछि कसैको आक्रोश पनि छैन भने कसैले विरोध पनि गरेको छैन । तर राज्यमन्त्री बन्ने बित्तिकै उनले देखाएकी शानले सम्पूर्ण मधेश हैरान र चकित भएका छन् । राज्यमन्त्रीको हैसियतमा उनले देखाएकी रवाफ कुनै फिल्मी दृश्यभन्दा कम थिएन ।
राज्यमन्त्रीको सपथ लिए लगत्तै एक कार्यक्रमका लागि सहभागी हुन जाँदा अगाडि पछाडि लागेका गाडीको ताँतीले उनको शान उत्कर्षमा पुगेको थियो । पत्नीलाई पैसा, पद र पावरको भरमा प्रदेश सभा सदस्य बनाएकोमा राजपाका अध्यक्षमण्डलीय सदस्य अनिल झाको चर्को आलोचना नभएको होइन । तर राज्यमन्त्रीको हैसियतमा डिम्पल झाको लावालस्करसहित गाडिको ताँतीले उनको शान र शौकतको परिचय दिएको छ ।


उनी साउन ९ गते प्रदेश २ को भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा नियुक्त भएकी हुन् । नियुक्तिपछि ५८ वटा गाडीको लावालस्करसहित रवाफ देखाउँदै पति अनिल झासँगै उनी आफ्नो गृह जिल्ला रौतहट पुगिन् । 
शक्तिमा पुगेपछि सत्ताको चरम् दुरूपयोग कसरी हुन्छ भन्ने एउटा नमूना हो । प्रदेश सरकारका राज्यमन्त्रीले सुरूमै यो शक्ति प्रदर्शन गर्नुलाई उनको रवाफ प्रदर्शित भएको छ । उनको यो रवैया अवश्य पनि आलोच्य छ भने मधेशका जनताको भावना विपरीत छ । किनभने उनी राज्यमन्त्री हुनु भनेको शक्ति प्रदर्शनका लागि होइन, जनताको हितमा काम गर्नका लागि हो । त्यसैले यसमा बहस हुनु जरूरी छ ।
तर, आफ्नो ठाउँका समस्याको गाम्भीर्यता, जसले त्यो पदमा पु¥याए, त्यसलाई नजरअन्दाज गरी पचासौं गाडीको लावालस्कर लगाएर जिल्ला जानु निश्चित रूपमा अनुचित काम हो । मानव विकास सूचाकाकंको १४४ औ स्थानमा रहेको देशकी एउटी सामान्य राज्यमन्त्रीले पचासौं गाडी पछि लगाएर हिँड्नु सुहाउँदो काम होइन । अहिले स्वनिर्णयको अधिकारसहित गठन भएको प्रदेश सरकारका राज्यमन्त्रीले सुरूमै यस प्रकारको शक्ति प्रदर्शन गर्नु शक्तिको दुरूपयोग हो । यस्ता प्रवृत्ति विरूद्ध अहिले नै बोलिएन र खबरदारी गरिएन भने भविष्यमा यस्ता घटनाहरू सामान्य हुन जान्छ ।


मधेशको राजनीतिमा महिलाको योगदान कम छैन । मधेश आन्दोलनमा पनि थुप्रै महिलाहरू सशादत प्राप्त गरेका छन् भने आफ्ना पति, पिता र छोरा गुमाएको पीडा बोकेका छन् । मधेश आन्दोलनमा घरबाट कुचो, थाल र नाङ्लो ठटाउँदै सडकमा निस्केका ती महिलाहरू सबै आफू पदमा पुग्नका लागि निस्केका थिएनन् । आन्दोलनमा शहीद भएका महिलाले केही महिलालाई शक्तिमा पु¥याएर यस्तो रवाफ देखाउ भनेर ज्यानको बाजी लगाएका थिएनन् । उनीहरूले त यस्ता महिला पदमा पुगून् कि ती आम महिला जो संधै थिचोमिचोमा बसेका छन्, आवाजविहीन छन् तिनको आवाज त्यो ठाउँमा पुगोस् भनेर छातीमा गोली थाप्न तयार भएका थिए । तर मधेशमा महिला मुक्ति र अधिकारको बहस भइरहेको बेला डिम्पल झाहरूलाई यस्तो रवाफ देखाउन केले प्रोत्साहित ग¥यो होला ? आफ्नो यो रवाफ देखेर ती रातदिन हिंसा सहेर बसेका महिलाले के सोचेकी होलान् ?


शक्तिमा पुगेपछि आफै र आफ्नाका लागि मात्रै फाइदा हुने काम गर्ने चलन नौलो होइन । तर गलत प्रवृत्ति विरूद्ध जोसुकै होस् अब नागरिकले निश्चित वर्ग वा जात भनेर छुट दिने हो भने भविष्यमा यसको परिणाम भयावह हुन सक्छ । त्यसकारण आम जनता समयमै बोल्नुपर्छ ।
नेपालको राजनीतिमा पनि मधेशी महिलाको सहभागिता झनै न्यून रहेको छ । यसको कारण मधेशी महिलाको शैक्षिक र आर्थिक रूपमा पनि पछाडि भएकोले हो । मधेशी महिलाको राजनीतिमा कमजोर अवस्था र न्यून सहभागिताका पछाडि राजनीतिक र सामाजिक कारण जिम्मेवार रहेका छन् ।

 

प्रकाशित मिति : २०७५ साल साउन २५ गते शुक्रबार ।

तपाईको प्रतिक्रिया