मधेशीले नेपाली शासनमा पहिचान खोज्नु कल्पना मात्र : कैलाश महतो सह संयोजक, स्वतन्त्र मधेश गठबन्धन

कैलाश महतो सह संयोजक, स्वतन्त्र मधेश गठबन्धन

अन्तर्वार्ता

       

० स्वतन्त्र मधेश गठबन्धन अहिले सेलाएको हो ?
— स्वतन्त्र मधेश गठबन्धन सेलाएको छैन । आफ्ना कामहरू गरिरहेको छ । यो एउटा आन्दोलन हो, आन्दोलनमा एक कदम पछाडि हट्छ भने चार कदम अगाडि बढ्ने रणनीति पनि हुन्छ । त्यसैले हामी आफ्ना रणनीतिअनुसार काम गरिरहेका छौं ।


० के काम गर्दै हुनुहुन्छ ?
— अहिले हामी आफ्नो संगठन बनाने अभियानमा छौं । त्यस्तै, संगठनको प्रचार प्रसार गर्ने, स्वयम्सेवक निर्माण गर्ने, आगामी आन्दोलनका लागि नेतृत्व चयन गर्ने, जिम्मेवारी दिनेलगायतका कामहरू हुँदैछ ।


० गठबन्धनका कतिजना नेता तथा कार्यकर्ताहरूमाथि अहिले पनि मुद्दाहरू लागेका छन् त ?
— जम्मा ४१ जनामाथि राज्य विप्लवको मुद्दा चलेको थियो । तर, विशेष अदालतले सफाई दिइसकेको छ । अब केही साथी र ममाथि पनि सार्वजनिक अपराधसम्बन्धी मुद्दा, सांगठनिक अपराधसम्बन्धी मुद्दा लगाइएको छ । ती मुद्दाहरू सिरहा, रूपन्देही, रौतहटका अदालतमा चलिरहेको छ । जुन मूल मुद्दा थियो राज्य विप्लवको, त्यो समाप्त भइसकेको छ ।


० स्वतन्त्र मधेश गठबन्धनको पक्षमा जुन जनलहर थियो त्यसमा ह्रास आएको देखिन्छ, किन ?
— यसलाई हामीले प्रकृतिसँग जोडेर हेर्नुपर्छ । वर्षमा कति पटक हुरीबतास आउँछ, धेरै कम आउँछ । तर, जब तुफान आउँछ त्यो तुफानले धेरै घरलाई उखालेर फाल्छ, रूखहरूलाई ढाल्छ, अस्तव्यस्तता मच्चाउँछ । त्यो तुफान आउनुभन्दा पहिले शक्ति सञ्चय भएको हुन्छ । त्यो सारा शक्तिलाई ऊर्जाको रूपमा एकैचोटी प्रयोग गर्छ र त्यसले तहसनहस मच्चाइदिन्छ । आन्दोलन पनि त्यस्तै हो । आन्दोलन भनेको जहिले पनि सडक जाम गर्ने, टायर बाल्ने, ज्ञापनपत्र दिने मात्र होइन । त्यो गर्नका लागि पनि भित्रभित्रै तयारी हुनुपर्छ । आन्दोलन पनि प्रकृति हो । हामीले पनि त्यसको तयारी गरिरहेका छौं, त्यसले मधेशमा परिवर्तन ल्याउँछ ।


० तपाइँहरूको अभियान पूरा गर्न कस्तो गृहकार्य हुँदैछ त ?
— डा. सीके राउतले आफ्नो मधेश स्वराज पुस्तकमा लेख्नुभएको छ कि मधेश स्वतन्त्र हुनका लागि १२ वर्ष समय लाग्छ । त्यो १२ वर्षमा लगभग ६ वर्ष बितिसक्यो । हामीले जुन तरिकाले काम गरिरहेका छौं, नागरिकको ‘सेन्टिमेन्ट’ जसरी तयार भइरहेको छ, त्यो हिसावले मधेशमा नेपाल सरकारको अस्तित्व अब अन्तिम पटकका लागि हो । डा. राउतले तोक्नुभएको १२ वर्ष भित्रमा मधेश स्वतन्त्र हुनेछ । यसमा मधेशी जनताले विश्वास राख्नुपर्छ ।


० मधेश स्वतन्त्रताका आधारहरू के–के छन् त ?
— सबभन्दा ठूलो आधार के हो भने मधेश नेपालको उपनिवेश हो । मधेशमा नेपालीहरूको शोषण र शासन आज पनि कायम नै छ । त्यो शोषणको कारणले मधेशी जनता सचेत भइसकेका छन् । त्यो सचेतताको आधारमा जनताहरू पनि आफै अगाडि आइरहेका छन् । नेताहरू केही कदम पछाडि हुनसक्छन् तर जनता, नेताभन्दा धेरै अगाडि छन् । मधेशी जनता यही प्रतिक्षामा छन् कि अबको अन्तिम विकल्प भनेको स्वतन्त्र मधेश गठबन्धन र त्यसका लागि तयार छौं हामी । यो कुरा नेपाली शासकले पनि बुझिसकेका छन् । राज्यले एकातिर भन्छ कि सीके राउतसँग मान्छे छँदैछैन । राज्यले कमसेकम यो फाइदा उठाउनु पर्दथ्यो कि अहिलेको अवस्थामा सीके राउतलाई अन्तर्राष्ट्रिय रूपमा झन् कमजोर बनाउनका लागि हामीले माग गरेअनुसार जनमत संग्रह गराइ दिनुपर्ने थियो । तर, नेपाल सरकारले जनमत संग्रह गराउन चाहेको छैन । यसको मतलब नेपाल सरकारलाई हामीभन्दा पनि बढी थाहा छ कि जनमत संग्रह गराउनु भनेको मधेशबाट नेपालको अन्तिम विदाई हुने हो । उसले जलजफ्ती प्रचार गरिरहेको छ कि सीके राउतको पक्षमा मान्छे छैन ।


० तर, तपाइँहरूले निर्वाचनका बेला ‘कोठा बाहर मतदान गर्नू’ भनेर अभियान चलाउनुभएको थियो, त्यसमा तपाइँहरूको पक्षमा उल्लेखनीय मत खसेको देखिएन नि ?
— सबैले थाहा पाउनुपर्ने कुरा हो कि जब हामीले नारा दियौं कि ‘कोठा बाहर मतदान’, त्यो नारालाई लिएर हामीलाई स्वतन्त्ररूपले नेपाल सरकारले प्रचार प्रसार गर्न दिएन । हाम्रा कार्यकर्तालाई घरमै नजरबन्द राखियो, बाहिर निस्कन दिइएन । त्यसपछि हामीसँग एउटा मात्र साधन रह्यो सामाजिक सञ्जाल । त्योभन्दा बढी हामीले केही पनि प्रयोग गरेनौं । तैपनि हामीलाई गर्व छ कि नेपालको निर्वाचन आयोगका रिपोर्टअनुसार कोठाभन्दा बाहिर परेको मत तेस्रो स्थानमा छ अर्थात् हाम्रो पक्षमा २६ लाख ४० हजार मत परेको छ । एमालेले ३५ लाख प्राप्त गर्दै पहिलो स्थान ल्याएको छ, दोस्रो ३४ लाख जति कांग्रेसले ल्याएको छ भने तेस्रोमा हामी छौं । जबकि हामीलाई नेपाल सरकारले नै लोकतान्त्रिक विधिअनुसार प्रचार प्रसार पनि गर्न दिएन । हाम्रा नेता कार्यकर्तालाई नजरबन्दमा राख्दा पनि हाम्रो पक्षमा २६ लाख ४० हजार मत आउन सक्छ भने हामीले प्रचारप्रसार गर्न पाएको भए सहजै अनुमान लगाउन सकिन्छ कि हाम्रो पोजिसन के हुन्थ्यो ।


० यसैगरी, पहाडका जिल्लाहरूमा पनि त मत बदर भएको अर्थात् कोठा बाहिर परेको छ, यस्तो हुनुका कारण निर्वाचन शिक्षाको अभावले पनि त हुन सक्छ नि ?
— मधेशका जनताले वर्षौंदेखि चुनावको अभ्यास गर्दै आएका छन्, जहिले पनि मधेशकै मत लिएर कांँग्रेसले सरकार बनाउँदै आयो, यहीँबाट कम्युनिष्टले पनि सरकार बना । यहीँबाट राजाको पालनपोषण भयो, यहीँबाट दरबार चल्यो । भनेपछि यहाँका जनताले नजानेर मत बदर ग¥यो भन्न मिल्दैन । यहीँको दानापानी खाएर ठूल्ठूला निर्वाचन आयुक्तहरू बन्छन्, सरकारहरू बन्छन्, नेताहरू बन्छन् भने यहाँका जनतामा निर्वाचन शिक्षाको कमी थियो भन्न मिल्दैन ।


० तर मधेशका जनता नेपालमै बसेर आफ्नो अधिकार खोजिरहेका छन् नि ?
— म पनि जनताका प्रतिनिधि हुँ, म आफ्नै कुरा बताउन चाहन्छु । २०४६ सालमा जब नेपाल सद्भावना पार्टी खुलेको थियो त्यतिबेला सद्भावना पार्टीको म कट्टर विरोधी थिएँ । किनकि म एक नम्बर नेपाली थिएँ । त्यो बेला सद्भावना पार्टी मेरो नजरमा भारतीय दलाल, जुन हामीलाई एमालेले सिकाएको थियो म पनि त्यही भन्थे । त्यो स्कूलिङ्गबाट म निस्केको मान्छे हुँ र म पनि एउटा मधेशको जनता नै हो । जुन जनता त्यतिखेर सद्भावना पार्टीलाई अस्वीकार गरेको थियो तर आज त्यही जनता मधेश देशको कुरा गर्दैछ भने यस्तै अन्य जनतालाई पनि तुलना गर्नुपर्छ । त्यसकारणले मधेशका जनताहरू नेपालमा पहिचान खोज्छन् भन्नु गलत हो । जसरी एउटा नेपालीले आफ्नो पहिचान कोरियामा खोज्नु, पाकिस्तानमा खोज्नु निरर्थक हो त्यसरी नै एउटा मधेशीले नेपाली शासनमा आफ्नो पहिचान खोज्नु त्यो कल्पना मात्र हो ।


० मधेशका जनताको मागअनुसार नेपालमा संघीयता लागू हुँदैछ भने तपाइँहरूले भनेजस्तै मधेश देशको माग कतिको सार्थक हो त ?
— सबभन्दा पहिला त संघीयता के हो त्यो बुझ्नुपर्छ । तपाइँको घरमा चारवटा कोठा छ भने त्यो नै संघीयता हो । जब छोराले घरमा बस्छ, उ स्वतन्त्र भएर बस्न चाहन्छ । उसलाई बाउले डिस्टर्ब गर्न जाँदैन । त्यो हो प्रान्त, त्यो हो संघीयता । त्यहाँ पूर्णरूपमा आफ्नो अधिकारको प्रयोग गर्न पाउनुपर्दछ । तर नेपालमा नेपाली शासकहरूले जुन संघीयता निर्माण गरेको छ, त्यो बिल्कुलै संघीयता होइन । नेपाली शासकले यस्तो संघीयता निर्माण गरेको छ कि प्रदेश २ मा अहिले मधेशीको सरकार भएपनि त्यहाँ शासन खस शासकहरूले गर्छन् । यसबाट सहजै कल्पना गर्न सकिन्छ कि यो कस्तो संघीयता हो । तपाइँकै घरमा बाहिरका मान्छेले बढी अंश पाउँछन् तर घरकै मालिकले न्यून अंश पाउँछन् । यो कस्तो संघीयता हो, यो कस्तो प्रान्तीय सरकार हो ? यो त बडो विचित्र छ नि । यो कुरा जनताले बुझ्नुपर्छ र बुझ्छन् ।


० तपाइँहरू जसरी स्वतन्त्र मधेशको अभियानमा लाग्नुभएको छ, त्यसरी मधेशमा यस्ता अन्य सशस्त्र समूहहरू पनि छन् जसले तराई राष्ट्रको माग गरिरहेका छन्, उनीहरूसँग तपाइँहरूको साँठगाँठ त छैन ?
— सशस्त्र भूमिगत संघर्ष गरिरहेकाहरूले जसरी तराई राष्ट्रको माग गर्दै आइरहेका छन्, यो माग डा. सीके राउतभन्दा पहिलादेखि नै उठाउँदै आएका हुन् । जस्तै, जयकृष्ण गोइत नेतृत्वको सशस्त्र समूहले स्वतन्त्र तराई राष्ट्रको माग गर्दै आएको छ । गोइतजीको माग गलत छैन तर बाटो गलत रहेको हाम्रो ठहर छ । किनभने अहिलेको समयमा हतियार चलाएर मात्र संघर्षमा विजय हासिल गर्न सक्ने अवस्था छैन । उहाँहरूको माग सही छ तर, बाटो गलत छ । हतियारको आन्दोलनको सन्दर्भमा हाम्रो कुनै किसिमको साँठगाँठ वा सहकार्य भएको छैन र हुने पनि छैन ।


० अहिलेको अवस्थामा मधेशकेन्द्रित दलहरूको भूमिका कस्तो पाउनुहुन्छ ?
— मधेशकेन्द्रित दलको कुरा सर्प र छुचुन्द्रोको खेल जस्तो देखिएको छ । आन्तरिकरूपमा उनीहरूको कस्तो योजना छ भने डा. सीके राउतकै मुद्दा ठिक छ, स्वतन्त्र मधेश हामीलाई चाहिन्छ । राज्यसँग उनीहरूको यस्तो सम्बन्ध छ कि त्यो सम्बन्धलाई तोडेर स्वतन्त्र मधेशका लागि खुलेर लाग्न एकदमै अप्ठ्यारो छ । उहाँहरू सामु धेरै बन्धनहरू छन्, त्यो बन्धनलाई उहाँहरूले तोड्न सक्नुहुन्न । त्यो तोड्यो कि गयो ।


० भनेपछि मधेशकेन्द्रित दलका धेरै नेताहरूको भित्री मनसाय स्वतन्त्र मधेश नै हो ?
— उहाँहरू प्रतिक्षामा हुनुहुन्छ । धेरै नेताहरूले हामीलाई भनिसक्नुभयो कि अब अन्तिम विकल्प स्वतन्त्र मधेश नै हो ।


० उपेन्द्र यादव नेतृत्वको फोरम नेपालले संविधान संशोधन गराउनका लागि सहमति ग¥यो र सरकारमा गयो, उहाँले संशोधन गराउन सक्नुहुन्छ ?
— उपेन्द्र यादवले यदि मधेशको माग सम्बोधन गराउन सक्ने भएको भए पहिला नै भइसक्थ्यो  । उहाँ मेरो सहकर्मी हुनुहुन्थ्यो, उहाँलाई म राम्ररी चिन्दछु र मलाई पनि चिन्नुहुन्छ । उहाँले मलाई ठूलो पद दिन तयार हुनुहुन्थ्यो । तर मलाई राम्ररी थाहा छ कि उपेन्द्रजी मधेशको समस्या समाधान हुने हैसियतमा हुनुहुन्न । 
(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)


प्रकाशित मिति : २०७५ साल साउन ११ गते शुक्रबार ।

तपाईको प्रतिक्रिया