मधेशी दलका नेताहरू स्वार्थमा लिप्त भए : अभिषेक प्रताप शाह प्रतिनिधिसभा सदस्य, नेपाली कांग्रेस

अभिषेक प्रताप शाह प्रतिनिधिसभा सदस्य, नेपाली कांग्रेस

अन्तर्वार्ता

       

० तपाइँले राष्ट्रिय राजनीतिमा मधेशका क्रान्तिकारी युवाको रूपमा पहिचान बनाउनु भएको थियो तर एकाएक मधेशकेन्द्रित दलबाट कांग्रेसमा जानुको कारण के हो ?
— हेर्नुस्, मधेशको ठेक्का कुनै एउटा क्षेत्रीय पार्टीले मात्रै लिन सक्दैन । त्यो राष्ट्रिय पार्टीहरूको पनि एजेन्डा हो । मधेशकेन्द्रित अथवा एउटा क्षेत्रीय पार्टीको रूपमा चिनिने संघीय समाजवादी फोरम लगायत राष्ट्रिय जनता पार्टी नेपालले केवल मधेशको ठेक्का लिएको होइन । मधेश राष्ट्रिय पार्टीहरूको जिम्मामा हो । त्यसैले राष्ट्रिय पार्टीहरूले पनि यो मुद्दा उठाउनुपर्छ भनेर मैले नेपाली कांग्रेसमा प्रवेश गरेको हुँ ।


० फोरमले मधेशको मुद्दा उठाएको थिएन त ?
— फोरमले भूमिका उठाएको थियो तर, त्यति बलियो तरिकाले मधेशको मुद्दालाई देशमा पु¥याउन सकेको थिएन ।


० तर, ती राष्ट्रिय पार्टीहरूले नै विभेद ग¥यो भनेर तपाइँले भनेजस्तै ती क्षेत्रीय पार्टीहरूको गठन भएको हो नि ?
— राष्ट्रिय पार्टीहरूले विभेद गरेका छैनन् । ती क्षेत्रीय पार्टीका नेताहरू आफैले विभेद गराएका हुन् ।


० कसरी ?
— उनीहरूभित्र रहेका केही सीमित स्वार्थ, व्यक्तिगत स्वार्थ र पदका लागि मात्रै राजनीति गर्ने, मुद्दालाई थाती राख्ने काम गर्दै आएका छन् । अहिले पनि हेर्नुस् तिनीहरूको एजेन्डा कहाँ छ र उनीहरू आफै कहाँ छन् । संविधान संशोधनको कुरो थियो, खोई त संशोधन भएको ? नागरिकताको यत्रो मुद्दा थियो, त्यो खोई त ? अहिले सत्तालिप्सामा मात्रै क्षेत्रीय दलका नेताहरू लागेका छन् । त्यसैले, उनीहरूको यस्तो चरित्र देखेर र उनीहरूमा राजनीतिक चेतनाको कमीको कारणले म त्यहाँ बस्न सकिन । म ती विषयमा धेरै कुरो पनि गर्न चाहन्न । उनीहरूको जुन चरित्र थियो, त्यो चरित्र जनताले आज छर्लङ्ग देखिरहेका छन् । त्यसमा मैले बढी बोल्नुपर्ने आवश्यक्ता पनि छैन ।


० तपाइँ फोरममा हुँदा सामाजिक सञ्जालमार्फत् छुट्टै मधेश देशका लागि लडौं भन्ने आह्वान पनि गर्नुभएको थियो किन ?
— नेताहरूको आफ्नो अभिव्यक्ति दिने स्वतन्त्रता हो । मैले त्यतिबेला दिएको वक्तव्य आजको राजनीतिको सन्दर्भमा तुलना गर्नुहुँदैन । त्यतिखेरको राजनीतिक अवस्था अर्कै किसिमको थियो र अहिले फरक खालको माहौल छ । त्यसैले, त्यतिबेला मैले के लेखेँ, के बोलें त्यसमा बढी बहस गर्नुपर्ने अवस्था मैले देखिरहेको छैन ।


० नेपाली काँंग्रेस अहिलेको अवस्थामा मुद्दाविहीन रहेको देखिन्छ । जुन किसिमको भूमिका उसले निर्वाह गर्नु पर्ने हो त्यस्तो देखिँदैन । के भन्नुहुन्छ ?
— कांँग्रेसको भूमिकाभन्दा पनि सरकारकै भूमिका हेर्नुस् । सरकार गठन भएको ६÷७ महिना हुन लागेको छ, अहिलेसम्म सरकारको भूमिका के त ? केवल कर मात्र बढाउने, मन्त्रीहरूले अपशब्दहरू मात्र प्रयोग गर्ने ? अहिलेको अवस्थामा सरकारले सिन्डिकेट प्रथा समाप्त ग¥यौं भनेर भन्यो तर, खोई त समाप्त भएको । अहिले पनि सिन्डिकेट चलिरहेकै छ । यस्तो अवस्थामा मैले देखिरहेको छु भने केवल जनतामाथि आर्थिक भर थोपार्ने काम मात्र गरिरहेको छ । कांग्रेसकै कारण आज एक मन्त्रीले राजीनामा दिनुप¥यो । त्यसैले, कांँग्रेसको भूमिका बलियो थियो, बलियो छ र बलियो नै रहन्छ । अहिलेको अवस्थामा नेपाली काँंग्रेस एकदम सशक्त रूपले अगाडि बढ्दैछ । हामी आफ्नो सांगठनिक संरचनाहरूलाई पनि मजबुत बनाउँदैछौं । संसदमा पनि कांग्रेसले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्दैछ । संसद भनेकै विपक्षका लागि हुन्छ र विपक्षकै लागि संसद खोलिन्छ । सरकारमा चेक एण्ड ब्यालेन्स गर्नका लागि संसद छ । संसदमा सरकारले के राम्रो काम ग¥यो के नराम्रो काम ग¥यो त्यसको दोष र गुणको आधारमा समर्थन वा विरोध गर्ने थलो हो ।


० कांँग्रेसले डा. गोविन्द केसीकै मात्र मुद्दा लिएर यत्रो विरोध जनाउनुको कारण के ?
— डा. केसी नेपाली होइन र, डा.केसी नेपालको एउटा धरोहर होइन ? उहाँलाई यदि केही भयो भने त्यसको जिम्मेवारी कसले लिने ? विपक्षले वा सरकारले लिनुपर्दैन ? जब उहाँका मागहरू जायज छन् भने त्यसका लागि कांग्रेसले समर्थन गरेको छ । उहाँका माग पूरा गराउन हामी आन्दोलनरत् पनि छौं । त्यसैले कांग्रेसले डा.केसीको जुन मुद्दा, जुन संवेदनशीलता छ त्यसलाई पनि सरकारले सम्बोधन गर्नुपर्छ भन्नेमा हामी लागिपरेका छौं ।


० तर, डा. केसीले उठाउनु भएको मुद्दा यसपटकको सरकारको सामु मात्र ल्याइएको होइन, उहाँले २०६५ साल यता गठन भएका हरेक सरकारसामु ती मुद्दाहरू राख्दै आउनु भएको छ । विगतमा काँंग्रेसकै सरकार हुँदा किन सम्बोधन भएन त ?
— कांग्रेस नेतृत्वको सरकारले उहाँसँग वार्ता पनि गरेको थियो । वार्तापछि देश चुनावतिर लाग्यो, चुनावपछि अर्को सरकारलाई सत्ता हस्तान्तरण गर्नुप¥यो । त्यो समयमा संसद पनि चलेको थिएन । विगतमा सरकारले के–के सम्झौता गरेका थिए, त्यसको राम्रा÷नराम्रा पक्ष के हो त्यसको अध्ययन हुनुपर्छ । 
० डा.केसीको मुद्दाबाहेक जनजीविकासँग जोडिएका अन्य पनि मुद्दाहरू छन्, ती मुद्दाहरूबारे कांँग्रेस मौन देखिएको छ नि ?
— त्यस्ता आरोपहरूको कुनै औचित्य छैन । यस्ता आरोपहरू काँंग्रेसमाथि धेरै लागेको हो । सरकारलाई पनि डर के लागेको छ भने यसपटक राम्रोसँग प्रस्तुति देखाउन सकिएन भने निश्चितरूपमा दुई तिहाईको सरकार कांँग्रेसले लिएर आउँछ । जनतालाई ढाँटेर, दिवास्वपन देखाएर मत माग्ने तर जब जनताले राहत खोज्छन् त्यो अवस्था झन् कर बढाइएको छ ।


० विगतमा संविधान संशोधनप्रति नेपाली काँंग्रेस लचक थियो र गर्ने प्रयास पनि गरेको थियो । तर, अहिले संशोधनबारे कांग्रेसको कुनै प्रतिक्रिया देखिएको छैन, किन ?
— संविधान संशोधनको एजेन्डा मधेशकेन्द्रित दलहरूले उठाएको हो । त्यहीं मुद्दामा सहमति गरेर आज फोरम संघीय सरकारमा पनि छ । सरकारमा बसेर फोरमले किन संविधान संशोधनबारे आफ्नो प्रस्तुति देखाउन सकेको छैन । यदि सत्तारूढ दलहरूले संशोधन विधेयक संसदमा ल्याए भने कांँग्रेसले त्यसमा विचार गर्छ । हाम्रा पार्टीका सभापतिज्यूले संसदमा पनि भनिसक्नुभएकै छ कि समर्थन गर्छौं । यस्तो अवस्थामा यो सरकारको जिम्मेवारी हो ।


० भनेपछि, संविधान संशोधन काँंग्रेसको एजेन्डाभित्र पर्दैन ?
— कांग्रेस राष्ट्रिय पार्टी हो । मधेशमा भएका अन्याय पनि कांग्रेसले उठाउनेछ, पहाडमा भएका अन्याय पनि कांग्रेसले उठाउनेछ । तर अहिले जसको जिम्मेवारी हो उसले संसदमा प्रस्तुत गर्नुप¥यो । त्यसपछि मात्रै कांग्रेसमाथि कुनै आरोप÷प्रत्यारोप लगाउन सकिन्छ ।


० त्यसो हो भने सरकारले संशोधन विधेयक ल्याए मात्र त्यसप्रति कुनै प्रतिक्रिया दिन्छ, नभए यसैगरी संशोधनको सन्दर्भमा चुप लागेर बसिरहन्छ ?
— संविधान संशोधन काँंग्रेसको पनि एजेन्डा हो । काँंग्रेसले बोलेकै हो कि मधेशमाथि भएका अन्यायहरू सम्बोधन हुनुपर्छ । मलाई विश्वास छ कि कांँग्रेसले मधेशका जायज मागहरूमा पक्कै पनि समर्थन गर्छ ।


० सप्तरीको मलेठ घटनासम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनप्रति काँंग्रेसको धारणा के छ ?
— वास्तवमा मलेठ घटना एउटा निन्दीय थियो । राज्यसत्ताले जनतामाथि दादागिरी देखाउने खालको व्यवहार ग¥यो । सरकारको दम्भ थियो त्यतिबेला । त्यसैले, कांग्रेस यस विषयमा एकदम गम्भीर छ । यसबारे पार्टीभित्र पनि छलफल गर्छौं र पार्टीको एउटा आधिकारिक निर्णय हुने नै छ ।


० काँंग्रेस मधेशमा दिनप्रति दिन कमजोर हुँदै गइरहेको छ, तपाइँलाई के लाग्छ ?
— दुईटा कम्युनिष्ट पार्टी मिलेर चुनावमा भाग लियो । कतिपय ठाउँमा कांँग्रेस हजार÷बाह्र सय मतबाट पराजय भएको हो । भनेपछि दुईटा पार्टी मिलेर कांग्रेसका उम्मेदवार मात्र हजार÷बाह्र सय मतबाट हार्नु कुनै ठूलो विषय होइन । मधेश वास्तवमा कांँग्रेसकै गढ थियो र अहिलेको अवस्थामा पनि मत प्रतिशत बढेको छ । तर, आगामी दिनमा कांँग्रेस फेरि पनि मधेश र देशमा ठूलो पार्टी बनेर आउँछ ।


० भनेपछि कांँग्रेसको पराजयको कारण वाम गठबन्धन नै थियो भन्ने कुरा तपाइँ पनि स्वीकार्नुहुन्छ ?
— दुईटा ठूला पार्टी एक भएर चुनाव लड्छ भने यस्तो परिणाम त आउँछ नै ।


० तपाइँ आफ्नो निर्वाचन क्षेत्रबाट लगातार तेस्रो पटक निर्वाचित हुनुभएको छ, तपाइँको क्षेत्रका समस्याहरू के–के छन् ?
— मेरो क्षेत्र, प्रदेश र जिल्लाका धेरै समस्याहरू छन् । जस्तै, बाटोघाटो, सिँंचाइ, किसानले पाउनुपर्ने मलखादको व्यवस्था, किसानले पाउनुपर्ने ऋणहरू लगायतका समस्याहरू छन् । त्यसमा मैले प्रतिबद्धता पनि जनाएको थिएँ, त्यसमा अडिग छु । त्यसका लागि सम्बन्धित ठाउँमा आवाज उठाइरहेको छु । हामीले गरेका वाचाहरू सबै पूरा गर्छौं ।

 

(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)

प्रकाशित मिति : २०७५ साल साउन ११ गते शुक्रबार ।

तपाईको प्रतिक्रिया