मधेशको राजनीति र मुद्दा विसर्जनवादीले खाइसके : सर्वदेव ओझा पूर्वमन्त्री

सर्वदेव ओझा पूर्वमन्त्री

अन्तर्वार्ता

       

० तपार्इँ लामो समयदेखि राजनीतिबाट टाढा बसिरहनु भएको छ, के राजनीतिबाट सन्याश लिनुभएको हो ?
— म राजनीतिबाट सन्यास लिएको छैन । मुख्य कुरा अहिले जस्तो राजनीतिक परिस्थिति छ, हाम्रा नेतृत्ववर्गको जुन कामकारबाही छ त्यसबाट असन्तुष्ट भएर म टाढा बसेको हुँ । उनीहरू सिद्धान्त र मुद्दाप्रति इमान्दार नरहेकोले म राजनीतिमा सक्रिय छैन ।


० अहिले केमा व्यस्त हुनुहुन्छ ?
— म अहिले अध्ययन गरिरहेको छु, देश दुनियाको गतिविधिलाई हेरिरहेको छु । देश कहाँ गइरहेको छ, यो संविधान कतिसम्म कार्यान्वयन हुन सक्छ त्यसबारे सुक्ष्म अध्ययन गरिरहेको छु ।


० देशको राजनीति कतातिर गइरहेको छ त ?
— म पहिलो संविधानसभामा एकदमै क्रियाशील भएर काम गरेको थिएँ । राज्य पुनर्संरचनादेखि सबै ठाउँमा सक्रिय नै थिएँ । त्यसपछि हामी नेतृत्वपंक्तिका नेताहरूको काम कारबाही र इमान्दारिताप्रति विश्वास लागेन । वर्तमान संविधान अहिले जारी भएको छ, त्यसलाई गहनरूपमा अध्ययन गरेँ । संविधानलाई अध्ययन गर्दा के निष्कर्षमा पुगें भने यसले देशलाई कुनै न कुनै दिन ठूलो द्वन्द्वमा फसाउनेछ । त्यसकारणले उनीहरूसँग बसेर मलामी जानुभन्दा छुट्टै बस्ने वेश ठाने ।


० कसरी यो संविधानले देशलाई ठूलो द्वन्द्वमा फसाउँछ त ?
— संविधानका बुँदाहरू एकआपसमा बाँझिएका छन्, नेताहरूको काम गर्ने तरिका र नेताहरूको झुठ बोल्ने बानी, जनतालाई गलत बचनबद्धता दिने काम भइरहेको छ, त्यसले मुलुकमा द्वन्द्वको नयाँ बिजारोपण भइरहेको छ ।


० भनेपछि, मुलुक अहिले गृहयुद्धतर्फ लम्किँदैछ ?
— गुहयुद्ध शब्द नभनौं । तर, सामान्यभन्दा सामान्य समस्याहरू समाधान तिर गइरहेको स्थिति छैन ।


० अहिले मधेशको राजनीतिलाई कसरी नियालिरहनु भएको छ ?
— वर्तमान अवस्थामा मधेशको राजनीति र मुद्दा विसर्जनवादीहरूले खाइसके । अहिले मधेशको मुद्दा बोकेर अगाडि बढ्न सक्ने क्षमता भएका कुनै नेता वा पार्टी छैनन् । किनभने उनीहरूले मधेशको मुद्दा सम्बोधन गराउन सक्दैनन् । बरू, आफ्नो स्वार्थपूर्ति गराउन सक्छन् । मधेश आन्दोलनपश्चात् पहिलो संविधानसभाको गठन भयो त्यो बेला यत्रो संख्या थियो कि त्यति बेला हाम्रा नेताहरू चुके भनेपछि अहिलेको अवस्थामा झन् के नै गर्न सक्छन् । उनीहरूलाई पैसा, पद, सुविधा, मन्त्री चाहियो, त्यति भएपनि मधेशी जनताले केही पाएका छैनन् । उनीहरूबाट मधेशी जनताले केही पाउनेबाला छैनन् ।


० त्यतिबेला तपार्इँ पनि त मन्त्री हुनुहुन्थ्यो, किन गर्न सकिएन ?
— त्यो बेला म राज्यपुनर्संरचना आयोगमा क्रियाशील थिएँ । मैले मधेशी नेताहरूलाई भनेको थिएँ कि तपाइँहरू आफ्नो स्वार्थ छोड्नुस्, एउटा अडानमा बसौं, हाम्रो कुरा पूरा भएन भने जनतामा जाऔं, त्यसपछि जनताले हामीलाई साथ दिन्छन् । आउने दिनमा हामी योभन्दा पनि ठूलो संख्यामा संसद्मा आउन सक्छौं । तर, त्यसपछि मधेशकेन्द्रित दलहरूबीच विभाजनको शृङ्खला सुरू भयो । त्यसपछि मधेशकेन्द्रित दलहरू राज्यको सियासतमा फस्ने एउटा खेलमा फसे । हामीले शासकलाई मात्र गाली गर्नुहुँदैन, हाम्रो कमजोरी आफैमा थियो, हाम्रा नेतृत्वमै थियो । शासकवर्गलाई गाली गर्नुभन्दा पनि हाम्रा नेतृत्व नै गद्दार भए । त्यसैले यो नेतृत्वबाट हामीले अगाडि बढाउने केही देखेनौं ।


० अहिलेका मधेशकेन्द्रित दलहरू राजपा र फोरमको क्रियाकलाप सन्तोषजनक छ त ?
— राजपा र फोरमले त प्रदेश २ मा सरकार पनि बनाएको छ, तर त्यो प्रान्तीय सरकारसँग केही अधिकार छैन । कर बढाएको विरोधमा वीरगन्जमा आन्दोलन भइरहेको छ । जब कर बढाउनेलगायतका सबै काम केन्द्रले तय गर्ने हो भने प्रदेश र केन्द्रबीच टकराव त हुन्छ नै । जब स्वायत्तता छैन, शक्ति छैन भने यो कस्तो संघीयता हो ? यो संघीयता टिक्दैन, यसले द्वन्द्व निम्त्याउँछ । स्थानीय सरकार केन्द्रको मातहतमा छ भने त्यसले प्रान्तलाई टेर्छ त ?


० तपाइँर्ले यसरी व्याख्या गरिरहँदा संघीयताको भविष्य कति देख्नुहुन्छ ?
— नेपालमा संघीयताको भविष्य छैन । अब समाप्त भइसक्यो । किनकि जुन संघीयता हामीले उठान गरेका थियौं, त्यसमा हामीले समावेशिता, समानुपातिक, समन्यायको कुरा गरेका थियौं । त्यसमध्ये कुनै पनि मूल्यमान्यता आएन । हामीले नेताहरूलाई मन्त्री बनाउन र तलब भत्ता मात्र खान संघीयता खोजेको होइन नि । जनतालाई कसरी समृद्ध बनाउने, सुशासित बनाउने, परिचालन गर्ने खालको संघीयता हामीले खोजेका थियौं । अहिलेको बजेटमा १५ खर्बमध्ये एक खर्ब पुँजिगत खर्च छ । त्यसमा पनि २६ प्रतिशत नेपाल सरकारको स्रोत हो र ७४ प्रतिशत ऋण र अनुदानमा छ । भनेपछि के अपेक्षा गर्ने ? यसबाट देशको के कल्याण हुन्छ सहजै मूल्यांकन गर्न सकिन्छ ।


० मधेश आन्दोलनबाट आएको संघीयता यसरी असफल हुँदा अब फेरि संघीयताका लागि आन्दोलन हुने अवस्था छ ?
— हुँदैन अब, जनता अघाइसके । जनताले राम्ररी बुझिसकेका छन् कि अब कसलाई नेता बनाउने । जनताले नेता बनाउनका लागि होइन, स्वायत्तताका लागि संघीयता चाहेका थिए । मधेश आन्दोलनमा यत्रो सहादत भयो, तिनका मर्म र भावनाको कदर भएको छैन । यो तरिकाले जनता अब फेरि कसरी आन्दोलनका लागि सडकमा आउँछन् । अहिलेको संविधानमा संशोधन गराउँछु भन्ने कुरा जतिसुकै भने पनि कसैले पनि गराउन सक्दैनन् । नेताहरूका लागि मन्त्री खाने बाटो मात्र हुन् ।


० मधेशको अबको बाटो के देख्नुहुन्छ ?
— मधेशका लागि अहिले बडो चिन्ताजनक र दुःखदायी बाटो छ । किनभने मधेशको माग पूरा गराउने मौका नेताहरूले गुमाइसकेका छन् । अहिले नेतृत्वबाट मधेशको भविष्य देखा परेको छैन ।


० भनेपछि, मधेशमा अब वैकल्पिक शक्तिको आवश्यक्ता महसुस भएको हो ?
— अब मधेशमा कहीं न कहीं ठूलो ‘रिएक्सन’ हुन्छ । त्यो ‘रिएक्सन’बाट अर्को रूप लिन्छ । प्रदेश २ कै कुरा गर्ने हो भने सिडियोले त्यहाँका मुख्यमन्त्रीको कुरा टेर्दैन । जिल्लाका हरेक निकाय केन्द्रको मातहतमा छन् भनेपछि संघीयता कहाँ छ ? बरू तत्कालिक रूपमा धेरै जनाले जागिर पाएका छन्, स्वार्थ सिद्धि गर्न सक्छन् ।


० तपार्इँजस्ता मधेशवादी नेता वा बुद्धिजीबीहरू जो हालका नेतृत्वबाट असन्तुष्ट छन्, तपाईँहरूको बाटो के हुने ?
— मजस्ता नेता वा बुद्धिजीबीहरू मौन छैनन् । तर, काठमाडौं नै यो देशको हर्ताकर्ता भएका छन् । काठमाडौंमा जो बसेका हुन्छन्, डेरा जमाएका हुन्छन्, दिनभरि घुम्छन् मिडियामा उसैको कुराहरू बढी आउँछन् । जो बाहिर हुन्छन् उनीहरूको आवाज आउँदैन । अब काठमाडौं नै नेपाल हो भने हामी पनि त्यही हिसावले आनन्दले सुशुप्त अवस्थामा बसेका छौं । विचार र बीऊ मर्दैन, एक न एक दिन जुर्मुराउँछ । म पर्ख र हेरको अवस्थामा छु । यो अवस्थामा कहीं न कहीं परिवर्तन होला । अहिले नै हुँदैन तर भयंकर हुन्छ । त्यो दिनका लागि प्रतिक्षामा छौं ।


० अहिलेको दुई तिहाईको बहुमतको सरकारले संविधान संशोधन गर्ने भनेर लिखित सहमति गरेको छ, के संशोधन होला त ?
— यो सहमति सरकारमा जाने बाटो मात्र थियो । यस्ता सहमतिहरू हेर्ने हो भने मसँग २०६३ देखि अहिलेसम्म दर्जनौं छन् । मैले सबै दस्तावेज राखेको छु । यो त कागजी भुलभुलैया हो, यसमा भरै नपरे हुन्छ ।


० फोरम नेपालका नेताहरूले संविधान संशोधन गराउन सरकारमा गएको भन्छन् नि ?
— छोड्नुस् यस्ता कुराहरू । तपार्इँसँग मैले लडाई लड्छु, विद्रोह गर्छु भने तपाइँकै घरमा गएर दालभात खाएर म झगडा गर्न सक्छु ? नुनको सोझो हो त्यो ? त्यत्रो हिम्मत छ ? अहिले प्रधानमन्त्रीले कुनै निर्णय ग¥यो भने प्रधानमन्त्रीको विरोध गर्ने कसैको हैसियत छ ? विगतकै कुरा गर्दा जेपी गुप्ता सञ्चारमन्त्री हुँदा सरकारको प्रवक्ता हुनुस् भनेर प्रधानमन्त्रीले भन्दा उनले चारबुँदे सहमति कार्यान्वयन गर्नुस् अनि मात्रै प्रवक्ता बन्छु भन्दा गुप्ताजीको के हालत भयो सबैलाई थाहा छ । त्यसैले फोरम सरकारमा गए पनि, नगए पनि केही हुनेबाला छैन । फोरमका नेताहरूले केही गराउन सक्छन् भन्ने कुरा कल्पना पनि गर्न सकिँदैन । यदि गराए भने सुनमा सुहागा हुन्छ । तर, त्यसको कुनै आधार नै छैन ।


(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)

प्रकाशित मिति : २०७५ साल साउन १८ गते शुक्रबार । 

तपाईको प्रतिक्रिया