जितेन्द्र सोनलको भूमिका दुःखलाग्दो छ : मनिष सुमन

मनिष सुमन महासचिव, राष्ट्रिय जनता पार्टी नेपाल तथा प्रदेश नम्बर २ का प्रदेशसभा सदस्य

अन्तर्वार्ता

       

० प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर २ को प्रदेशसभामा गरेको सम्बोधनको विषयमा राजपा भित्र विवाद देखिएको हो ? 
— सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीजी मधेशमा मधेश विरोधी व्यक्तित्वको रूपमा चित्रित हुनुहन्छ । उहाँले विगतको ४०÷५० वर्षे राजनीतिक कार्यकालमा मधेशमैत्री कुनै पनि कार्य गरेको मधेशी जनतालाई हेक्का छ । बरू मधेशी जनतालाई उहाँले असभ्य, अमर्यादित, असंसदीय भाषा बोलेर होच्याउने काम गर्नुभएको छ । व्यवहार र बोली नै मधेश विरोधी देखिँदै आएको छ । लोकतान्त्रिक मुलुकमका कुनै पनि प्रधानमन्त्रीले प्रदेशसभालाई सम्बोधन गर्ने परिपाटी हामीलाई थाहा छैन तर उहाँले त्यो सीमा कुल्चेर प्रदेशसभालाई सम्बोधन गर्न आउनुभयो । प्रधानमन्त्रीले प्रदेशसभामा सम्बोधन गर्दै गर्दा जनकपुरका युवाहरूले विरोध गरे । संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्दा मधेशको भावनालाई नेतृत्व गर्ने मधेशवादी दलहरूले के गर्छन् भन्ने मधेशी जनताको उत्सुकता थियो र बहिष्कार गर्नुपर्छ भन्ने सुझाव पनि आएको थियो । त्यही कारणले मैले बहिष्कार गरे । म जस्ता राजपाका अन्य सांसदहरूले पनि सम्बोधन बहिष्कार गरे । यद्यपी राजपाको संस्थागत निर्णयको अभावका कारणले गरिएका कामहरू साँच्चै दुःख लाग्दा थिए । केही मन्त्रीहरूले फूलको माला लिएर विमानस्थल भित्रै गएर प्रधानमन्त्रीलाई ढोग गर्न भ्याए । केही मन्त्रीले सामाजिक सञ्जालमा विरोध गछौं भनेर लेख्न भ्याए, केही मन्त्री जनकपुर छोडेर हिड्न भ्याए । मैले संचार माध्यममा नै भनेको थिएँ–म केपी अ‍ोलीको भाषणको साक्षी बस्न सक्दिन, मेरो आत्माले मान्दैन । यी सबै विषयमा पार्टीभित्र छलफल भएर निर्णय गर्नुपर्दथ्यो । राजपा नेपालको प्रदेश नम्बर २ को संसदीय दलको भूमिका त्यो दिन निकै दःुखदायी रह्यो । संसदीय दलका वर्तमान अध्यक्ष तथा प्रदेशमन्त्री जितेन्द्र प्रसाद सोनलको भूमिका पनि दुःखलाग्दो रह्यो । समयमा ठोस निर्णय लिन नसक्नेलाई कसरी नेता भन्ने ?


० प्रधानमन्त्रीले प्रदेशसभालाई सम्बोधन गर्ने विषय त प्रदेश सरकारसँगै समन्वय गरेर तय भएको होला, तपाईहरूसँग छलफल गरिएन यो विषयमा ? 
— प्रधानमन्त्रीज्यूको सम्बोधनको पूर्वसन्ध्यामा भएको मन्त्रिपरिषद्को बैठक प्रदेश सरकारको २१ दिनपछिको पहिलो मन्त्रिपरिषद्को बैठक थियो । मुख्यमन्त्रीज्यूले काठमाडौं आएर प्रधानमन्त्रीज्यूलाई निम्ता दिनुभएको थियो । उहाँले निश्चय पनि मन्त्रिपरषद्को बैठकमा यो कुरा उठाउन पाउनुभएको थिएन होला । मन्त्रिपरिषद्को बैठकको नै अभाव भइरहेको अवस्थामा हामीसँग समन्वय गर्ने त कुरै भएन । मुख्यमन्त्रीज्यूले एकल आमन्त्रण गरेर प्रधानमन्त्रीज्यूलाई निम्त्याउनु भएको थियो ।


० प्रदेश २ का सत्ता साझेदार दलहरूबीच मत भिन्नता देखियो नि ? 
— सबै कुरामा मत भिन्नता छैन तर थुप्रै कुराहरूमा मतैक्यता नै छ । हामीले निर्वाचनताका नै मधेशी जनताको आँखामा एउटा विश्वास देखेका थियौं । उनीहरूले हामीलाई भन्दै छन्–तिमीहरू आन्दोलन सँगै गर्छौ तर चुनाव छुट्टिएर लड्छौं, चुनाव पनि सँगै लड । त्यस्तो जनादेश प्राप्त भएपछि मधेशका विभिन्न ६ वटा पार्टीहरू एक भएर राष्ट्रिय जनता पार्टी नेपाल नै निर्माण ग¥यौं । एकीकरण हुन बाँकी रहेको संघीय समाजवादी फोरम नेपालसँग चुनावमा एक प्रकारको विशेष गठबन्धन बनाएर हामी निर्वाचनमा गयौं र सन्तोषजनक सफलता मिल्यो । मधेशमा संघीयतालाई संस्थागत गर्ने अधिकार तिमीहरूलाई भयो भनेर जनताले हामीलाई आदेश दिएका थिए, सोही आदेश अनुसार अहिलेसम्म हामी प्रदेशमा संयुक्त सरकार सञ्चालन गरिरहेका छौं । तर, सरकार सञ्चालनको दौडमा हामीबीच अझै पनि थुप्रै कामहरूमा समन्वयको गम्भीर अभाव भइरहेको हामीले देखेका छौं । प्रदेश सरकारले दैनिक काम गर्नु बाहेक केही अधिकार नै पाएको छैन । प्रदेश सरकारका राज्यमन्त्रीहरूले अझै भवन नै पाएका छैनन् । प्रदेशसभाले कुनै ठोस अधिकार पाएको छैन, मन्त्रीहरूको कतै कुनै काम छैन । संघीय सरकारले प्रदेशलाई आफ्नो अधिकार विनियोजन नगरेको हुनाले प्रदेश सरकारसँग खासै अधिकार त छैन । अधिकार र दायित्वविहीन एउटा सरकारले दैनिक प्रशासन चलाउने बाहेक अरू केही काम गर्न सक्दैन ।


० तपार्इंहरूले प्रधानमन्त्रीको सम्बोधनलाई विरोध गर्नुहुन्छ तर केन्द्रमा तपाईकै अध्यक्षमण्डलका प्रधानमन्त्रीसँग हप्तामा दुई÷तीन पटक भेट्नुहुन्छ । आफ्नो नेतृत्वसँग किन प्रष्ट कुरा गर्नुहुन्न ? 
— राजपा नेपालभित्र संस्थागत बैठकहरूको धेरै अभाव छ । पछिल्लो धेरै दिनदेखि पार्टीभित्र केन्द्रीय समिति, पदाधिकारीहरूको बैठक हुन सकेको छैन । अध्यक्षमण्डलको मात्र बैठक हुने गरेको छ । केन्द्रमा केन्द्रीय सरकारलाई एउटा औचित्यहीन समर्थन रहेको छ जसलाई हामीले संविधान संशोधनको दायित्व दिएका थियौं । तर, ओलीजीले संविधान संशोधनको ‘स’ पनि सुरू गर्नु भएको छैन । प्रधानमन्त्रीलाई समर्थन गर्दै गर्दा हामीसँग गरिएको बाचा भनेको आन्दोलनकारीको झुट्टा मुद्दा फिर्ता हो तर आजसम्म एक जनाको पनि मुद्दा फिर्ता भएको छैन । बरू प्रदेश नम्बर २ का मन्त्रीहरूलाई नै मुद्दामा मुछिने कामहरू थप गरिएको छ । हामीले मधेश आन्दोलनमा शहादत प्राप्त गरेका शहिदहरूलाई राज्यद्वारा शहादतको दर्जा दिनका लागि सरकारसँग आग्रह गरेका थियौं तर त्यसको लागि पनि सरकारले कतै कुनै पहल गरेको छैन । जब प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले मधेश आन्दोलन ताका उठाइएका अर्थात् राष्ट्रिय जनता पार्टी नेपालसँग गरिएका वाचा अनुसारका कुनै पनि काम गर्दैन भने त्यस्ता औचित्यहीन सरकारलाई समर्र्थन गरिरहनुको अर्थ छैन । राजपा नेपालले सरकारलाई समर्थन दिँदा संविधान संशोधनको लागि आवश्यक दुई तिहाई मत पुग्यो । तर, संशोधन गर्न नै नचाहने सरकारलाई समर्थन किन दिइराख्ने ? राष्ट्रिय जनता पार्टीको अब हुने कुनै पनि बैठकबाट हामी यो सरकारलाई दिएको समर्थन फिर्ताको घोषणा गछौं ।


० प्रदेश २ को प्रदेशसभामा प्रधानमन्त्रीले गर्नुभएको सम्बोधनलाई तपाईहरूले कसरी हेर्नुभएको छ ? 
— प्रधानमन्त्रीज्युको यस्तै प्रकारको सम्बोधन हामीले अन्य प्रदेशसभाहरूमा पनि सुनेका थियौं । वाककटुताको धनी हुनुहुन्छ उहाँ । दुई नम्बर प्रदेशमा सम्बोधनको क्रममा उहाँले प्रगतिशील कुराहरू गर्नुभयो । उहाँले बोलेका कुराहरू सुन्न त मीठो लाग्छ । हुन्छ हुन्छ भन्नुहुन्छ तर कहिल्यै गर्नुहुन्न । भनेको काम पूरा गरेर देखाउनु भयो भने विश्वास गरौंला ।


० मलेठ घटना नेकपाले नै गराएको भन्ने तपाईंहरूको आरोप थियो र छ पनि तर प्रधानमन्त्रीले सम्बोधनका क्रममा हाम्रो त्यस घटनामा कुनै सम्बन्ध छैन भन्नुभयो नि ? 
— प्रधानमन्त्री जस्तो उच्च ओहदामा बसेको व्यक्तिले यसरी झुठ बोल्न हुँदैनथ्यो । मलेठमा उहाँहरूको सभाको दिनभन्दा पहिले नै आयोजक मध्येको एक जना ठूलै नेताजीलाई मैले फोन गरेको थिएँ । नआउनुस् यहाँ भिडन्त हुनसक्छ भनेर सम्झाएको पनि थिएँ तर उहाँहरू हठ गरेर सेना र बलका साथ आउनुभयो र हत्याको खेल रचेर जानुभयो । त्यस्ता हत्याका खेल रचेर गएका प्रधानमन्त्रीले कसले, किन हत्या ग¥यो मलाई थाहै छैन भन्ने जस्ता कुराहरू गर्न सुहाँउदैन । त्यो हत्याको मूल कारण तत्कालीन नेकपा एमाले र त्यो हत्याको मूल कारक सम्माननीय केपी ओली हुनुहुन्छ ।


० मलेठ घटनाको सम्बन्धमा राष्ट्रिय मानअधिकार आयोगले प्रतिवेदन बुझाएको छ , त्यसप्रति प्रदेश २ को सरकारले असहमति जनाउँदै मन्त्रिस्तरीय समिति गठन गरेर छानबिन गर्दैछ  । प्रदेश २ को सरकारले दिएको प्रतिवेदन अनुसार कारवाही गर्ने क्षमता राख्नुहुन्छ ? 
— जे घटना हुनु थियो भईसक्यो, प्रतिवेदनहरू कार्यान्वयन हुने विश्वास अब हामीलाई छैन । हत्या गर्ने व्यक्ति प्रहरी अधिकृत भए पनि अब ती प्रहरीमाथि यो सरकारले मुद्दा चलाउला र कारवाही गर्ला भन्ने विश्वास मधेशी जनतामा रहेन । प्रदेश सरकारले छानबिन गर्दैछ अब त्यहाँबाट एउटा प्रतिवेदन आउँला । त्यो प्रतिवेदन कार्यान्वयन नभए पनि भविष्यको लागि एउटा दस्तावेजको रूपमा रहनेछ । जुन दिन हाम्रो राज्य हुनेछ, राज्यसँग हाम्रो पनि साइनो गाँसिनेछ र त्यो दिन त्यस्ता हत्यारा माथि कारबाही गर्छौं ।


० तपार्ईंले हाम्रो राज्य भन्नुभयो, कस्तो राज्य भन्न खोज्नुभएको ? 
— अहिले देश मेरो हो, देशको झण्डा, राष्ट्रिय जनावर, राष्ट्रिय गीत मेरो हो तर कुनै पनि मधेशी जनताले राज्य मेरो हो भनेर अनुभूति गर्न सकेका छैनन् । एउटै वर्ग विशेषको देशमा हालीमुहाली हुनु, ७७ वटा सिडियो मध्ये ७४÷७५ वटा सिडियो एउटै वर्ग समुदायको हुनु, न्यायलयमा ९०÷९५ प्रतिशत न्यायधीश एउटै समुदायको हुनु, नेपाली सेनामा पनि उपल्लो तहमा एउटै समुदायका व्यक्ति हुनुले पनि मधेशी जनताले राज्यप्रति अपनत्व महसुस गर्न सकेका छैनन् । तल्लो तप्कामा आरक्षणको कारण केही समावेशिता देखिए पनि माथिल्लो तप्कामा अहिले पनि अवस्था उही छ । यस्ता विभिन्न कारणहरूले गर्दा मधेशी जनताले देश मेरो हो भनेर गर्व गर्छन् तर राज्य नि मेरो हो हैं भनेर यो राज्यबाट आशा राख्दैनन् ।


० राजपा भित्र महाधिवेशनको तयारी कस्तो हुँदैछ ? 
— हामीले निर्वाचन आयोगमा पार्टी एकीकरण गर्ने उद्देश्यका साथ दर्ता गराएको विधान अपूर्ण छ त्यसले महाधिवेशनसम्म जान सकिदैन । साधारण सदस्यता कसरी गर्ने, सक्रिय सदस्यता कसरी गर्ने, महाधिवेशन प्रतिनिधि कसरी छनोट गर्ने, महाधिवेशनका कार्यक्रमहरू कसरी गर्ने यी सबै निर्णयहरूका लागि हामीले एउटा विधान तयारी गरेका छौं । त्यो विधानलाई राजनीतिक समितिमा छलफल पनि गराइयो अब त्यसले पूर्णता प्राप्त गर्न बाँकी छ । विधान पूरा भएपछि हामी महाधिवेशन तर्फ उन्मुख हुन्छौं । वैशाख ७, ८ र ९ गते राष्ट्रिय जनता पार्टीको महाधिवेशन हुन्छ ।


(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)

प्रकाशित मिति : २०७५ साल भाद्र ८ गते शुक्रबार ।

तपाईको प्रतिक्रिया