बिमस्टेक सम्मेलन : कुटनीतिमा नेपालको परीक्षा

संगीता रेग्मी

विचार/दृष्टिकोण

       

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रका प्रयास बिमष्टेकको चौथो सम्मेलन काठमाडौंमा चलिरहेको छ । बिमस्टेक होस् वा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क), त्यति संगठित र व्यवस्थित हुन सकेको छैन । नेपालले अहिले सार्क र विमस्टेक दुवैको अध्यक्षता गरिरहेको छ । सन् २०१४ देखि यो मञ्चको नेतृत्व गरिरँहदा बेलाबेलामा हुने सरकार परिवर्तन र आन्तरिक खिचातानीले गर्दा प्रभावकारी संगठनका रूपमा दिशानिर्र्देशन गर्ने क्षमता नेपालसँग नभएको प्रष्ट देखिन्छ । 


ऐतिहासिक संविधानसभाबाट संविधान बनाएको र दुई तिहाई बहुमतको सरकार निर्माण गरी शक्तिशाली सरकारको नेतृत्व गरिरहेका केपी शर्मा ओलीको ध्यान यतिबेला बिमस्टेकलाई कसरी सफल रूपमा सम्पन्न गर्न सकिन्छ भन्नेमा नै छ । तर, दुई तिहाईले मात्र कुटनीति चल्दैन भन्ने केपी ओलीले पनि बुझ्नु जरूरी छ । लामो समयपछि स्थिर सरकार पाएको नेपालले विश्व समुदायमा आफ्नो आत्मविश्वास बढाउन र एजेण्डाबारे प्रष्टताका साथ व्यक्त गर्न पनि यो मञ्चलाई उपयोग गर्न सक्नुपर्छ । 
सार्कको विकल्प बिमस्टेक होइन भनेर विज्ञहरूले भन्दै आइरहँदा र सार्क कमजोर भएको स्थितिमा नेपालमा जारी बिमिस्टेक सम्मेलनलाई अझ महत्वका साथ हेरिएको छ । भारत र पाकिस्तानको आन्तरिक विवादका कारण पाकिस्तानमा हुनुपर्ने १९ औं सार्क शिखर सम्मेलन हुन नसकिरहेको अवस्थामा २०१६ मा नै हुनुपर्ने बिमिस्टेको चौथो सम्मेलन दुई वर्ष पछि हुँदै गर्दा यो सम्मेलन केही फलदायी हुने आशा गर्न सकिन्छ । नेपालले सम्मेलन आयोजक राष्ट्रका रूपमा यो ऐतिहासिक अवसरलाई सदुपयोग गर्दै आफ्ना प्राथमिकता र चासो प्रस्तुत गर्न सक्नुपर्छ ।


व्यापार तथा लगानी, प्रविधि, उर्जा, यातायात तथा सञ्चार, पर्यटन, मत्स्यपालन, कृषि, सांस्कृतिक सहयोग, वातावरण तथा विपत् व्यवस्थापन, जनस्वास्थ्य, जनस्तरको सम्बन्ध, गरिबी निवारण, आतंकवाद तथा संक्रमणकालीन अपराध र जलवायु परिवर्तन जस्ता मुद्दाहरूमा राष्ट्रहरूबीच सहकार्य गरेर अगाडि बढ्नु नै बिमिस्टेकको उद्देश्य हो । तर, विमिस्टेकबाट नेपालले वा अन्य सदस्य राष्ट्रले तत्काल कुनै लाभ लिने अपेक्षा लिनु तत्कालका लागि महत्वकांक्षा मात्र हुनेछ । अहिलेसम्म यो मञ्च संगठन बनिसकेको अवस्था छैन । यद्यपि यदि यो मञ्चले राम्ररी काम गर्न सक्यो भने सबै राष्ट्रहरूलाई फाइदा हुनेमा शंका छैन । नेपाल र भुटान जस्ता भुपरिवेष्ठित मुलुकहरूले समुद्रसम्म पहुँच बनाएर अझ बढी फाइदा लिन सक्छन् । यो संगठन मार्फत नेपालले समुद्रको उपयोगमा पहुँच बढाउन प्रयत्न गर्नुपर्छ भने हिमालदेखि बग्ने नेपालका सबै नदीनाला बंगालको खाडीसम्म पुग्ने भएकाले यस क्षेत्रमा जलवायु परिवर्तन, पर्यावरण र प्राकृतिक प्रकोप न्यूनीकरणका लागि पनि बिमिस्टेकको प्राथमिकतामा पार्नुपर्छ ।


बिमिस्टेकमा नेपाल, भारत, म्यानमार, भुटान, बंगलादेश, श्रीलंका र थाइल्याण्ड गरी सातवटा देशहरू रहेका छन् । यी सबै देशहरूमा बुद्ध धर्मावलम्बी र त्यससम्बन्धी सम्पदा छन् । त्यसो त त्यहाँका जनतामा पनि बुद्धसम्बन्धी आस्था पक्कै होला । सन् २०२० मा भिजिट नेपाल वर्ष मनाउने लक्ष्य लिएर अगाडि बढिरहेको नेपालले त्यसै वर्ष लुम्बिनीमा बिमिस्टेक बौद्ध सम्मेलन गर्ने पनि प्रस्ताव गर्न सकिन्छ । बिमिस्टेक मार्फत नेपालले दक्षिणपूर्व एसियाका मुलुहरूसँग व्यापार, यातायात, पर्यटन र ऊर्जा व्यापार लगायातका धेरै विषयमा लाभ लिन सक्छ ।


सार्क र बिमिस्टेकका उद्देश्य लगभग समान भए पनि फरक फरक राष्ट्रहरू मिलेर बनेका यी दुई संगठनका उद्देश्य एकै वा उस्तै हुन सक्दैनन् । त्यसैले सार्कको विल्कप बिमिस्टेक हुँदै होइन् । सार्क र बिमिस्टेक दुवैलाई एकअर्काको परिपूरकको रूपमा अघि बढाइनुपर्छ । दुवै संगठनको अध्यक्ष रहेको नेपालले लामो समयदेखि हुन नसकेको सार्क शिखर सम्मेलन गराउन पहल गर्नुपर्ने देखिन्छ भने त्यसको लागि बिमिस्टेकका क्रममा हुने साइडलाइन भेटघाटलाई पनि उपयोग गर्न सकिन्छ । 
‘समृद्ध नेपाल सुखी नेपाली’ को अभियान लिएर अगाडि बढेको दुई तिहाई बहुमतको सरकारले अब आफ्नो कुटनीतिलाई पनि बलियो बनाउनु पर्ने समय आइसकेको छ । देशभित्रको आन्तरिक व्यवस्था जे—जस्ता भएपनि पार्टीगत रूपमा विभाजित भए पनि कुटनीति मुलुकको साझा नीति अनुरूप हुनुपर्छ, विभाजित भएर प्रस्तुत हुनुहँुदैन । सार्क होस् वा बिमिष्टेक, यस्ता सम्मेलन र संगठनहरूबाट नेपालले फाइदा लिन सक्नुपर्छ । अनि विकासको गतिमा पनि सहयोग पुग्ने निश्चित छ ।

 

प्रकाशित मिति : २०७५ साल भदौ १५ गते शुक्रबार ।

तपाईको प्रतिक्रिया