संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको गठन

दस्तावेज

       

प्रस्तावना ः

मधेशीहरूलाई समानता, स्वतन्त्रता, आधारभूत मानवअधिकार, सामाजिक न्याय, जनताको आत्मनिर्णयको अधिकार सहितको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली र स्वायत्त प्रदेशका साथै राज्यको हरेक निकाय, तह र अंग तथा राजकीय शक्ति, साधन र स्रोतमा समेत जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व, साझेदारी एवं सहभागिता दिलाउन र सार्थक संविधानसभाको निर्वाचन हुनु आजको मूलभूत आवश्यकता हो । मधेशी जनताको आधारभूत अधिकार आकांक्षा एवं चाहनालाई मूर्तरूप दिनका लागि निम्न राजनीतिक दलहरू एकतावद्ध भै सबै प्रकारका विभेदहरूको अन्त्य गर्न र मधेशी जनताको राष्ट्रिय पहिचान एवं आत्मसम्मान सहित हाम्रा साझा लक्ष्यहरूको प्राप्तिका लागि संयुक्त अहिंसात्मक एवं शान्तिपूर्ण रूपमा जारी मधेशी आन्दोलनलाई सार्थक परिणाम एवं निष्कर्षमा पु¥याउन “संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा” को गठन गरिएको छ । मोर्चा निम्नानुसारका न्यूनतम साझा मागहरूको प्राप्तिका लागि संघर्षरत रहनेछ । मोर्चाका तत्कालीन माग र कार्यक्रमहरू यस प्रकार रहेका छन् ।

१. ऐतिहासिक मधेशी जन विद्रोहको क्रममा सहादत प्राप्त गर्नु भएका ४५ जना वीर मधेशी सपुतहरूलाई स–सम्मान शहीद घोषणा गरियोस् । आन्दोलनको दौरान घाइते र अपांग भएकाहरूको सम्पूर्ण उपचारको व्यवस्था, उपचारमा गरिएको सबै खर्च र उचित क्षतिपूर्ति एवं जीवन निर्वाहको व्यवस्था गरियोस् । 

२. जनताको आत्मनिर्णयको अधिकार र स्वायत्त प्रदेश सहितको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली अन्तर्गत स्वायत्त तराई अर्थात् मधेश प्रदेशको स्थापना गरिनु पर्दछ । सो को प्रत्याभूति वर्तमान अन्तरिम संविधानमा गरिनु पर्दछ । 

३. संविधानसभाको प्रयोजनको लागि हुने समानुपातिक निर्वाचनको निम्ति वर्तमान संविधानसभा सदस्य निर्वाचन ऐन २०६४ को दफा ७ को उपदफा १४ मा रहेको २० प्रतिशत भन्ने वाक्यांश ५० प्रतिशत हुने गरी संशोधन गरिनुपर्दछ । 

४. राज्यको प्रत्येक निकाय, अंग र तहमा मधेशी सहित आदिवासी÷जनजाति, दलित, अल्पसंख्यक समुदाय र महिलाहरूको समानुपातिक प्रतिनिधित्व अविलम्ब गराइनु पर्दछ । 

५. देशको सैनिक संरचनामा मधेशी समुदायलाई सहभागिताबाट वन्चित गराइएकोले सेनाको बनौट एंकागी छ । तसर्थ जनसंख्याको अनुपातमा तत्कालै मधेशीहरूको पहिचान सहित सेनामा समूहगत प्रवेश गराइनु पर्दछ । 

६. राजनीतिक उद्देश्य प्राप्तिका लागि संघर्षरत मधेशी सशस्त्र सगठनहरूलाई मूलधारमा ल्याउन अविलम्ब राज्यको पहलमा सार्थक निकास खोजिनु पर्दछ ।


राजेन्द्र महतो राष्ट्रिय अध्यक्ष सद्भावना पार्टी
उपेन्द्र यादव केन्द्रीय संयोजक मधेशी जन अधिकार फोरम, नेपाल
महन्थ ठाकुर अध्यक्ष तराई मधेश लोकतान्त्रिक पार्टीमिति २०६४/१०/२५ गते

तपाईको प्रतिक्रिया