दुहबीमा अर्बौंको विदेशी लगानी ल्याउँदैछौं : मेयर वेद नारायण गच्छदार

दुहबी नगरपालिका, सुनसरी

स्थानीय सम्वाद्

    प्रकाशित मिति : २०७५ असोज १२   

० दुहबी नगरपालिकाको मेयरको रूपमा निर्वाचित भइसकेपछि के कस्ता कार्यहरू गर्नुभयो ?

— यस नगरपालिकामा धेरै कामहरू भएका छन् । यो नयाँ नगरपालिका पनि हो । यो नगरपालिकालाई सही रूपमै नगरपालिकाको रूपमा स्थापित गर्न लागेका छौं । पहिलो आर्थिक वर्षमा आइओडीपी (इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट प्रोजेक्ट) तयार गरिसकेका छौं । त्यस हिसावले दीर्घकालीन र समकालीन योजनाहरू पनि बनाएका छौं । त्यस्तै, यस आर्थिक वर्षमा सबै डिपिआर गर्दै नगरसभाबाट पारित गरेर कार्यान्वयनमा लाँदैछौं । यस नगरपालिकालाई शहरीकरण गर्नका लागि सडक सञ्जालको सन्दर्भमा निर्वाचित हुने बित्तिकै मापदण्ड तयार पा¥यौं । त्यहीं अनुसार सडकहरूको प्रारम्भिक कार्य विस्तार भएर मुख्य सडकहरूमा जोड्ने काम भइसकेको छ । यो नगरपालिकाको समृद्धिका दुई वटा आधार छन्, पहिलो कृषि र दोस्रो उद्योग । यसकारणले दुईटैलाई समेटेर हामीले योजनाहरू बनाई कार्यान्वयनतर्फ लगिरहेका छौं । पशुपालनतर्फ कृषकलाई आकर्षित गर्नका लागि विभिन्न योजनाहरू बनाएका छौं ।

० दक्ष जनशक्ति उत्पादनका लागि के कस्ता योजनाहरू छन् ?

— दक्ष जनशक्ति उत्पादनका लागि हामी युवाहरूका लागि विभिन्न किसिमका तालिमहरू दिएका छौं । मनमोहन पोलिटेक्निकसँग समन्वय गरेर दुहबीमा रहेका उद्योगहरूमा आधारित दक्ष प्राविधिक उत्पादन गर्नेतर्फ लागेका छौं । अहिलेसम्म हामीसँग सामान्य कामका लागि पनि प्राविधिक नहुँदा छिमेकी राष्ट्र भारतबाट ल्याउनुपर्ने अवस्था थियो । त्यो परम्परालाई तोडेर पहिलो चरणमा ४२ जना प्राविधिक तयार गरेका छौं । उद्योगहरूमा युवालाई आकर्षित गर्न तालिमहरू दिई स्वदेशमै रोजगारीको अवस्था सिर्जना गर्दैछौं । वैदेशिक रोजगारभन्दा पनि यही बसेर राम्रो आम्दानी गरोस् भन्ने त्यतातिर पनि हामी योजनाहरू अगाडि बढाउँदैछौं । यस्तै, अन्य धेरै हाम्रा योजनाहरू छन् जसले यो नगरपालिकालाई नमुना नगरपालिका बनाउन सक्छौं ।

० पर्यटकीय स्थलको सम्भावना कति छ दुहबीमा ?

— यस नगरपालिकामा पर्यटक भित्र्याउने पनि हाम्रो योजना छ । जसका लागि हामी बृहत् किसिमको ‘वाटर पार्क’ को योजना अगाडि सारेका छौं । यसका लागि हामीले यसै वर्षमा रू. ५० लाख छुट्याएर डिपिआरसहितको प्रारम्भिक कार्यहरू यसैपालीदेखि थाल्ने छौं ।

० दुहबीमा विदेशी लगानीको अवस्था कस्तो छ ?

— कतार सरकारको तर्फबाट एउटा ठूलो सहयोग आउने आश्वासन आएको छ । केन्द्रीय श्रममन्त्री गोकर्ण विष्ट र उहाँसँगै मन्त्रालयका सचिव, प्रदेशका सामाजिक विकासमन्त्रीको उपस्थितिमा मन्त्रीज्यूले हामीलाई कमिटमेन्ट गर्नुभएको छ । अरब कन्ट्रीबाट आउने अर्बौंको फन्ड हामीले लगानी गर्दैछौं । यसकारणले यसप्रति हामी आशावादी छौं । यस्तै, अन्य योजनाहरू पनि छन् ।

० तपाइँका योजनाहरू पूरा गर्न कतिको चुनौतीहरू छन् ?

— हामीले बनाएका योजनाहरू पूरा गर्न कुनै पनि चुनौती छैन । आइओडिपी बनाउनका लागि जर्मन सरकारको सहयोगमा सञ्चालित छ, नेपालभरिमा जम्मा ९ वटा नगरपालिकाले मात्रै त्यो अवसर पाएको छ । जसमा नयाँमध्ये दुहबी नगरपालिकाको म मेयरको हैसियतले अघिल्लो वर्षमै ल्याउन सफल पनि भएँ । दुहबी नगरपालिकालाई सम्पूर्ण कुराले सुविधा सम्पन्न बनाउन ५१ अर्बको दश वर्षे योजना हामीले बनाएका छौं । यद्यपि यो ठूलो महत्वाकांक्षी योजना हो । हामीलाई काम गर्न चुनौती छैन । हामीसँग आम जनताको पनि साथ छ । चुनौती भनेको अर्थको मात्रै हो । मुलुक अहिले संघीय व्यवस्था गइसकेको छ । ७० प्रतिशत बजेट प्रदेश र स्थानीयमा दिनुपर्ने हो तर अहिले पनि ती संघीय सरकारले राखेको छ ।

० दुहबीमा सुकुम्वासी समस्या कस्तो छ ?

— दुहबीको एउटा ठूलो चुनौती भनेको सुकुम्वासी हो । यहाँ दशौं हजार सुकुम्वासी रहेका छन् । यसपटक हामीले दुई सय सुकुम्वासीलाई व्यवस्थित बस्तीअन्तर्गत ल्याएर घर बनाइ दिएका छौं । अन्य संघसंस्थासँग पनि सहकार्य गरेर उनीहरूका लागि एकैनाशको घर बनाइदिन ७५ लाख रूपैयाँ छुट्याएका छौं । त्यसमा अहिले करूणा फाण्डेशन र प्रदेश सरकारले पनि साथ लिने कुरा गरेको छ । हेविटेट फोर ह्युमन रिसोर्सले पनि ४० वटा घर बनाउने भनेर हामीसँग प्रारम्भिक रूपमा कुरा गरेको छ । यसपटक हामीले कमसेकम दुई सय सुकुमवासीलाई घर बनाएर दिने र तिनीहरूलाई स्वरोजगार बनाउन योजना अगाडि सारेका छौं ।

० निर्वाचनका बेला तपाइँले गरेका प्रतिबद्धताहरू कति पूरा भए ?

— मैले गरेका प्रतिबद्धताहरू पूरा हुने क्रममा छन् । निर्वाचनका बेलामा मैले जे जे प्रतिबद्धताहरू व्यक्त गरेको थिएँ ती कुराहरू पाइपलानमा छिरिसकेको छ । मैले रिंगरोडको कुरा गरेको छु, त्यसको डिपिआर हुँदैछ । त्यसकारणले कतिपय दीर्घकालीन योजनाहरू त्यसलाई पूरा गर्न निश्चितरूपमा समय त लाग्छ ।

० तपाइँहरूको काम गराईले जनता सन्तुष्ट छन् ?

— पूरै सन्तुष्ट छन् भनेर त भन्दिँन, झुठो कुरा पनि बोल्नुभएन । तर आशा जागेको छ ।

० जसरी सिंहदरबार गाउँ–गाउँमा भनिन्थ्यो, यो नारा दुहबीका जनताले महसुस गरेका छन् ?

— सिंहदरबार गाउँ–गाउँमा भन्ने नाराको सन्दर्भमा जनताले धेरै कुराहरूमा सेवा सुविधा पाइरहेका छन् । तर, जनताले जुन कल्पना गरेका थिए त्यस अनुसार छैन । केही हदसम्म महसुस गर्न सकेका छन् ।

० तपाइँको नगरपालिकामा करको अवस्था कस्तो छ ?

— बाहिर जसरी चर्चा छ कि कर बढ्यो भन्ने कुरामा हामी बढाएकै छैनौं । छेउछाउका नगरपालिकाभन्दा दुहबी नगरपालिकामा कर अलि कम नै छ । हिजो जिल्ला विकास समितिले कर लिन्थ्यो तर अब नगरको अधिकारमा आयो । तर, नगरपालिकाले पनि कर लिन थाल्यो भनेर बदनाम गर्ने काम मात्र भएको छ । तर हामीले कुनै नयाँ कर थप गरेका छैनौं । करको दर बढाउनेभन्दा पनि म करको दायरा बढाउनेमा विश्वास गर्छु । हामीले त्यो दायरा बढाउने काम मात्रै गरेका छौं । तर करै बढाएर व्यवसायीलाई तर्साउने अथवा जनतालाई दुःख दिने जस्ता काम गरेका छैनौं ।

(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)

तपाईको प्रतिक्रिया