सीमा व्यवस्थित गर्दा त्यस क्षेत्रका जनताको पनि धारणा बुझ्नुपर्छ : संयोजक राजीव झा

नेपाल–भारत सीमा सम्वाद समूह

अन्तर्वार्ता

    प्रकाशित मिति : २०७५ असोज १२   

० तपाईंहरूले गठन गर्नुभएको नेपाल–भारत सीमा संवाद समूहको उद्देश्य के हो ?

— अहिले नेपाल–भारत खुल्ला सीमानालाई व्यवस्थित गर्न तार जाली लगाउने भन्ने विषय उठिरहेको छ । बोर्डरको छेउछाउ बस्ने व्यक्तिहरूसँग छलफल नै नगरी सीमा व्यवस्थापनको विषय अगाडि ल्याइएको छ । त्यहाँका जनताका लागि यस्तो प्रकारको सीमा व्यवस्थापन उचित हुन्छ कि हुँदैन भन्ने विषयमा संवाद गर्नका लागि नै हामीले यो संवाद समूहको निर्माण गरेका छौं । नेपाल–भारत प्रवुद्ध समूह (ईपीजी)ले आ–आफ्नो देशको सरकारलाई प्रतिवेदन तयार पारेको छ । ईपीजीका सदस्यहरूको विज्ञतामाथि कुनै प्रकारको शंका मलाई छैन । तर, आँखाको डाक्टर आँखाकै लागि मात्र ठिक हुन्छ उसले मुटुको अप्रेशन गर्न सक्दैन । त्यस्तै जो प्रभावित व्यक्ति छ उनीहरूको अवस्था पनि बुझ्नुपर्ने हुन्छ । सीमा व्यवस्थित गर्ने विषयमा निर्णय गर्दा त्यस क्षेत्रका जनताको धारणा पनि बुझ्न आवश्यक छ । मधेशमाथि नाकाबन्दी गर्ने र दबाब दिने अन्तिम अस्त्रको रूपमा भारतसँगको नाकामा तारजाली लगाउने विषयलाई अगाडि ल्याइएको हो जस्तो लागेको छ ।

० ईपीजीको प्रतिवेदनमा के–के विषयलाई समेटिएको छ भनेर अहिले बाहिर आइसकेको छैन । अनि तपाईं कसरी भन्नुहुन्छ कि सिमानामा तार जाली लगाउने र परिचय पत्र लागू गरिदैछ ?

— ईपीजीमा संलग्न व्यक्तिहरूले दुवै देशका प्रधानमन्त्रीलाई बुझाउन प्रतिवेदन तयार पारेको छ । त्यसलाई आधार बनाएर विभिन्न मिडियामा खबरहरू आइरहेको छ । त्यसैको आधारमा हामीले यो विषय उठान गरेका हौं । यदि त्यस्तो व्यवस्था हुनुपर्ने भनेर प्रतिवेदनमा उल्लेख भएको छैन भने त राम्रै हो । तर यदि सीमा व्यवस्थापन नै गर्ने हो भने दुई देशका सुरक्षाकर्मीहरू पनि इमान्दार हुन जरूरी छ । नेपालको अपराधी भारतमा र भारतका अपराधी नेपालमा आएर लुक्ने गरेको तथ्य नयाँ होइन । त्यसको व्यवस्थापनका लागि सीमा क्षेत्रका प्रहरी इमान्दार हुने हो भन्ने यस्ता घटना न्यूनीकरण भइहाल्छ । देशमा अहिले सुन काण्ड भएको छ तर यो नेपाल र भारतको खुल्ला सीमानाका कारण भएको होइन, रक्तचन्दनको खुलेआम तस्करी चीनतिर भइ रहन्छ । पाकिस्तान र भारतकोबीचमा रहेको कश्मीरमा द्वन्द्व धेरै हुन्छ तर त्यहाँ त खुल्ला सीमाना छैन । सीमा बन्द गर्दैमा अपराध नियन्त्रण हुन्छ भन्ने होइन ।

० नेपाल—भारत सीमामा के–कस्ता समस्याहरू देख्नुहुन्छ ?

— नेपालका किसानको जग्ग भारततिर पनि छ भने भारतका किसानको नेपालतिर जग्गा जमीन रहेको छ । नेपाल र भारतबीचमा राजनीतिक आधारमा सीमा कोरिएको हो परापूर्वक कालदेखि राखिएको सीमा त्यो होइन । राजनीतिका कारणले यस्तो सीमा राखिदिएको हो भन्ने हामीलाई लाग्छ । अहिले पनि सीमानामा त्यति सहज आवाज–जावत छैन । सहज आवाज–जावतको लागि सबै सहज प्रक्रिया अपनाउनु पर्छ । हाम्रो संस्थाले नेपाल र भारत दुवै देशको सीमानामा रहेका जनताको घरघरमा गएर उनीहरूले चाहेको कुरा बुझ्ने प्रयास गर्नेछौं । सीमाका जनताको भावना बुझेर समाधानको बाटोतर्फ लाग्नु नै यो संस्थाको उद्देश्य हो ।

० समय–समयमा सीमा विवादका विषय पनि उठ्ने गरेको छ । त्यस विषयमा तपाईहरूको संस्थाको अध्ययन कस्तो रहेको छ ?

— सीमा मिचिएको भनेर खबर बारम्बार आउने गरेको छ । देशका ७५ प्रतिशतभन्दा बढी सेना त सीमानामा नै तैनाथ गरिएको छ । उनीहरूको काम हो सीमाको निगरानी गर्ने । यदि कसैले सीमा मिच्छ भने सम्बन्धीत निकायले कारबाही गर्नुपर्छ ।

० तपाईंहरूको अध्ययनले के भन्छ, वास्तवमा भारतले नेपालको सीमा मिच्ने गरेकै हो ?

— त्यस्ता समस्याहरू हाम्रो संस्थामा आएको छैन । मेरो घर सीमा क्षेत्रमै पर्छ । हाम्रो गाउँको केही मान्छेहरूको जग्गा आधा नेपाला छ भने आधा भारतमा छ । यो संस्थाको गठन भएदेखि यस्ता घटना मैले देखेको छैन । कतै त्यस्तो समस्या छ भने दुई देशका सुरक्षाकर्मी, राजनीतिककर्मी बसेर आपसी समझदारीमा सीमाको समस्या समाधान गनुपर्छ ।

० नेपाल र भारतबीचको सम्बन्धमा जुन उतार–चढाव आउने गरेको छ यसलाई कसरी हेर्नुभएको छ ? दुई देशका बौद्धिक व्यक्तिहहरूलाई राखेर बनाइएको ईपीजी हुँदाहुँदै तपाईहरूलाई यस्तो संस्था गठन गर्नुपर्ने आवश्यक्ता किन प¥यो ?

— ईपीजीका सदस्यहरू विद्धान हुनुहुन्छ तर उहाँहरू बोर्डरको विज्ञ हुनुहुन्न । उहाँहरूले बोर्डरको जनताको पीडा हेर्नुभएको छैन । उहाँहरूको सम्बन्ध मधेश र बिहारसँग होइन, काठमाडौं र दिल्लीसँग रहेको छ । हामीबीच रोटीबेटीको मात्र होइन, पशुपतिनाथ र काशी तथा विश्वनाथसँग, जानकी र अयोध्यासँग सम्बन्ध छ । परापूर्व कालदेखि नेपाल र भारतको ऐतिहासिक सम्बन्ध रहेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ र जनकपुर भ्रमण गर्नुभएको थियो । त्यही कारणले अहिले यो क्षेत्रमा पर्यटकको संख्या उल्लेख मात्रामा वृद्धि भएको छ । यदि नेपाल–भारत सीमानामा तारबार गरियो भने पर्यटकको संख्यामा कमी आउनुको साथै अन्य विभिन्न समस्याहरू आइरहनेछ ।

० नेपाल–भारत प्रबुद्ध समूहले प्रतिवेदन तयार पारेको छ । प्रतिवेदनले सीमा क्षेत्रका जनताको भावना समेट्न नसकेको हो ?

— सीमा क्षेत्रको भावना समेट्न त्यहीँ क्षेत्रका जनता पनि त्यो समूहमा हुनुपर्दथ्यो । सीमा क्षेत्रमा भएका व्यक्तिहरूको सल्लाह लिनु पर्दथ्यो । उहाँहरू मधेश कति घुम्नुभएको होला र यहाँको पिडा बुझ्नुहुन्छ । उहाँहरू सिधैं काठमाडौंबाट दिल्ली जानुहुन्छ र दिल्लीबाट काठमाडौं जानुहुन्छ । यसरी सीमाको समस्या बुझ्न सकिदैन । यहाँको समस्या बुझ्न पटनाबाट जनकपुर, जोगबनीबाट विराटनगर, रक्सौलबाट वीरगन्ज, गोरखपुरबाट भैरहवा आउने मानिसको आवश्यक्ता छ। जसले सीमाको समस्या बुझ्न सक्छ ।

० प्रबुद्ध व्यक्तिको समूहले सीमा क्षेत्रमा स्थलगत निरीक्षण र अध्ययन पनि गरेको छ नि ?

— अध्ययन र निरीक्षण गर्नु र त्यहीँ बस्नुमा अन्तर हुन्छ । हाम्रो जन्म त्यहीँ भएको हो । त्यहाँको पीडा जति मलाई थाहा हुन्छ त्यति नेपाल–भारत सीमाको विषयमा पिएचडी गरेको व्यक्तिलाई थाहा हुँदैन ।

० सिमानामा तारबार गर्ने र जाली लगाउने वा परिचय पत्रको व्यवस्था हुने भन्ने अहिलेसम्म आशंका मात्र छ, खासगरी सीमा व्यवस्था कसरी गर्नुपर्ने हो ?

— सीमा त व्यवस्थित नै छ । सीमामा दुई देशका प्रहरी जवानहरू खटिएका छन् । उनीहरू इमान्दार हुनुपर्ने तथा देश र जनताप्रति समर्पित भई काम गर्ने प्रशिक्षण उनीहरूलाई दिनुपर्छ । सीमा आफैं व्यवस्थित हुन्छ ।

० अहिलेसम्म सिमानामा खटिएका नेपाल र भारतका सुरक्षाकर्मीहरू प्रशिक्षित छैनन् ?

— यदि प्रशिक्षित भइदिएको भए अपराधीहरू आउने–जाने, गाँजा चरेशको लुकीछिपी ओसार पसार गर्ने, सानातिना सामानहरूको तस्करीको समस्या समाधान भईसक्थ्यो । नेपाल भारतको सीमानामा राजस्व पनि चुहावट हुने गरेको छ । यसमा सरकारले विशेष ध्यान दिनुपर्छ । अवैज्ञानिक किसिमबाट राजस्व संकलन गर्ने जुन संयन्त्र छ यसमा सुधारको आवश्यक्ता छ ।

० नेपाल भारत सीमा संवाद समूहले के—के कार्य गर्छ ?

— हामीले छलफल चलाउने हो र के निष्कर्ष निस्कन्छ त्यो मिडियाक मार्फत सार्वजनिक गछौं । हामीले संवाद गर्दा विभिन्न क्षेत्रका विज्ञहरूको सुझावलाई आधारमा बनाएर रिपोर्ट तयार गछौं र दुवै देशका सरकारलाई बुझाउँछौं ।

० तपाईंहरूको संवाद समूहले गर्ने कामबाट दुई देशबीचको सम्बन्धमा कस्तोे किसिमको प्रभाव पर्छ ?
— दुई देशको सम्बन्ध अहिले पनि राम्रो छ । पछि पनि राम्रो होस्, अझ प्रगाढ होस् भन्ने हाम्रो चाहना हो । यो सम्बन्धको निरन्तरता होस् भन्ने हाम्रो संस्थाको उद्देश्य हो । दुई देशको बीचमा रहेको पर्यटकीय, सांस्कृतिक सम्बन्ध कायम रहोस् भन्ने हाम्रो संस्थाको मुख्य उद्देश्य हो ।

(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)

तपाईको प्रतिक्रिया