भारतले त्रिवि पुस्तकालय पुनर्निर्माण गर्ने

शिक्षा

       

काठमाडौं, १२ असोज । भारतले भूकम्पबाट क्षतिग्रस्त भएको त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय भवन निर्माण गर्न अनुदान सहयोग गर्ने भएको छ ।

सन् २०१९ देखि निर्माण सुरु हुने पुस्तकालय दुई वर्षभित्र निर्माण सम्पन्न हुनेछ । त्यसनिम्ति नेपालस्थित भारतीय दूतावासले प्राविधिक नापजाँच गराइसकेको छ भने नेपाली वास्तुकलाअनुसारको नक्सा पाससमेत गराइसकिएको छ ।

नेपाल र भारतीय सहयोग मिसनले २०२४ सालमा निर्माण गरेको पुस्तकालय भवन २०७२ को भूकम्पले जीर्ण भएको छ ।

उक्त जीर्ण भवनलाई पुनर्निर्माण गरिनेछ । साथै, बीच भागमा रहेको विद्यमान ठूलो भवनलाई यथावत् राखेर त्यसको पश्चिम–दक्षिणको खुला मैदानमा नयाँ भवन निर्माण गरिने भएको छ ।

पुस्कालयका उपप्रमुख पूर्णलाल श्रेष्ठका अनुसार पुनर्निर्माणमा १६ करोड रुपैयाँ लागत लाग्ने अनुमान छ  । पश्चिमी मोहडामा बन्ने भवनको लम्बाइ १ सय १४ फिट र चौडाइ ८० फिट रहनेछ । उक्त बजेटले भवन निर्माणसँगै फर्निचर, पुस्तकालयका निम्ति आधुनिक प्रविधि जडानसमेत गरिनेछ ।

तपाईको प्रतिक्रिया