विवादको घेरामा निजगढ विमानस्थल

सम्पादकीय

       

सर्वाधिक चासोको विषय बनेको प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको निर्माण सुरू नहुँदै विवाद र बहस बढेको छ । विमानस्थल आयोजना निर्माण प्रक्रिया अघि बढेसँगै यसमा विभिन्न बहससमेत सतहमा आएका छन् ।

विमानस्थल निर्माणमा लाखौं रूख कटान हुने भनेर वातावरणविद्ले चिन्ता व्यक्त गरेका छन् भने विकासवादीले मुलुक समृद्धिका लागि यो आयोजना अपरिहार्य भएको धारणा व्यक्त गरेका छन् । वन मन्त्रालयले आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) स्वीकृत गरी आवश्यक रूख काट्न पर्यटन मन्त्रालयले अनुमति मागेको छ ।

बारा जिल्लाको पूर्वी उत्तर क्षेत्र अर्थात् राजमार्ग क्षेत्र दक्षिणमा लालबकैया नदीदेखि पश्चिम पसाहा क्षेत्रमा निजगढ विमानस्थल बन्नेछ । फास्ट ट्रयाकले महेन्द्र राजमार्ग भेट्ने स्थलभन्दा केही किमी दक्षिणमा बन्नेछ, निजगढ विमानस्थल ।

सरकारको प्राथमिकतामा परेको निजगढ विमानस्थल आयोजना क्षेत्रमा करिब १६ सय घर धुरीको बसोबास र घना चारकोसे झाडी छ । विमानस्थल निर्माण हुने क्षेत्रभित्र तीन बस्ती (काट गाउँ परैयाँ गाविस ८, टाँगिया वस्ती र मटियानी टोल) र बारा जिल्लाको प्रसिद्ध सहजनाथ महादेवको मन्दिर (गढीमाई नगरपालिका) पर्ने छ ।

निजगढ विमानस्थलको चर्चा सुरू भएको २० बर्ष बितिसकेको छ । सरकारले विमानस्थलको खाँचोको महसुस गरेर २०५१ सालमै नेपालभरका आठ वटा वैकल्पिक क्षेत्रहरूको पूर्वसम्भाव्यता अध्ययन गर्दा बारा जिल्लाको त्यस क्षेत्रमा विमानस्थल बनाउन सबैभन्दा उपयुक्त हुने भनेर किटान गरिए पनि त्यसले खासै महत्व पाएको थिएन । तर, गणतन्त्र स्थापनापछि त्यसले थप चर्चा पायो र पछिल्लो चरणमा अघि बढाउने प्रयास भइरहेको छ ।

विमानस्थलको चार किल्ला क्षेत्र छुट्याइ ५०–५० मिटरमा कंक्रिटको पोलबाट सिमाना छुट्याउने कार्य सम्पन्न भइसकेको छ । चार किल्लाभित्रको निजी स्वामित्वमा रहेका घरजग्गा पहिचान भई अधिग्रहण गर्ने प्रक्रियामा रहेको भनिए कामको प्रगति खासै हुन सकेको छैन ।

जे भए पनि वर्तमान सरकारले त्यसलाई अघि बढाउने निश्चित रहेको बताइन्छ । कुनै पनि आयोजनाका लागि कटान हुने रूखको क्षतिपूर्ति गर्न प्रत्येक एक रूख बराबर २५ नयाँ रूख रोप्नुपर्ने कानुनी प्रावधान छ । वृक्षरोपणको सुनिश्चिततासँगै तत्काल आवश्यक रूख कटान हुने सरकारले जनाएको छ । विकास गर्दा विवादरहित तरिकाले गर्नुपर्छ । तत्कालको आवश्यक्ता अनुसारमात्र रूख काट्नु उपयुक्त हुन्छ ।

आयोजना क्षेत्रमा तथा त्यसको वरपर जम्मा २३ विभिन्न प्रजातिका स्तनधारी प्राणी र करीब ५ सय प्रजातिका चरा पाइन्छन् । आयोजना क्षेत्रमा पर्ने टांगिया, मतियानी र काठघाट बस्तीमा जम्मा एक हजार ६१० घरधुरीको बसोबास छ । आयोजना क्षेत्रमा पाँच लाख ८५ हजार ४९९ वटा रूख र १८ लाख ६४ हजार ८२० वटा पोल आकारका वनस्पति छन् । यस विमानस्थलको पूर्वसम्भाव्यता अध्ययन सन् १९९५ मा गरिएको थियो । धेरै सम्भाव्यस्थानको अध्ययन गरिएकामा बारामा अवस्थित यो क्षेत्र सबैभन्दा उपयुक्त पाइएको हो ।

विकासका लागि पूर्वाधार निर्माणमा वातावरणीय मुद्दा आउनु स्वाभिक नै हो । विश्व वातावरण संरक्षणबाट कोहि पनि पन्छिन सक्दैन तर यस्तै किसिमका पूर्वाधार निर्माणमा यतिकै संख्यामा रूख कटानी गरी संरचना निर्माण गरेका धेरै उदाहरणहरू रहेका छन् । जसमध्ये टर्कीको इस्तानबुल विमानस्थल एउटा नमुना हो । उक्त विमानस्थल निर्माण गर्दा पनि वातावरणविदहरूले यस्तै किसिमको आवाज बाहिर ल्याएका थिए ।

इस्थानबुल विमानस्थलको क्षेत्रफल निजगढ विमानस्थलको भन्दा केही सय मात्र कम छ । उक्त विमानस्थलको क्षेत्रफल ७ हजार ६ सय पचास हेक्टर रहेको छ । जसमध्ये ६ हजार १ सय ७२ वन क्षेत्र रहेको थियो । जसमा साना ठूला गरेर २५ लाख १३ हजार ३४१ रूखहरू रहेका थिए । जसमध्ये कटानी नगरी नहुने ६ लाख ५७ हजार रूख काटिएको थियो । जसको बदलामा झण्डै १८ लाख रूखहरू रोपिएको थियो । निजगढ विमानस्थल पनि यसै गरी निर्माण गर्न सकिन्छ ।

पूर्वाधार विकाससँगै वातावरणको विनाशको चिन्ता लिनु स्वाभाविकै हो । तर विकास बिना वातावरण संरक्षणको मन्त्रले मात्र केहि पु¥याउँदैन । आज विकसित भनिएका मुलुकले वातावरण संरक्षण मात्र हेरेको भए त्यो अवस्थाको विकासमा पुग्दैन थिए होला ।

कार्बन डाइअक्साइड र क्लोरोफ्लोरो कार्बनको उत्सर्जन र तिनले वातावरणमा निम्त्याउने समस्या अल्पविकसित देशभन्दा विकसित देशकै हिस्सा बढी छ । राष्ट्रिय गौरवको आयोजना दोस्रो विमानस्थल निर्माण अगाडी बढ्दै गर्दा ठूलै वातावरणीय विनाश हुने भन्दै कोकोहोलो मचाउनेहरूलाई प्रश्न छ नेपालको कूल ४३ प्रतिशत भू–भाग वनजंगलले ढाकिँदा पनि हाम्रा चाँदी जस्ता हिमालहरू किन पगल्दै छन् ? तापक्रम दैनिक किन बढ्दै छ ?

अतः पर्याप्त पूर्वाधार विकासले मात्र देशलाई आर्थिक समृद्धि तर्फ डो¥याउँछ । समृद्धिले मात्र दिगो विकासलाई संरक्षण गर्न सक्छ । वन विनाश र वातावरणीय असरको रडाको मच्याएर निजगढ विमानस्थलको विकल्प खोज्ने होइन कमभन्दा कम वातवरणीय क्षतिमा यसको निर्माण समयमै सम्पन्न गर्नु आम नगारिकको हितमा हुनेछ ।

तपाईको प्रतिक्रिया