एडिबीले १८ करोड डलर सहयोग गर्ने

अर्थ/वाणिज्य

       

काठमाडौ, १९ असोज । पूर्वपश्चिम राजमार्गको स्तरोन्नतीका लागि एसियाली विकास बैंक एडीबीले १८ करोड डलर ऋण सहयोग गर्ने निर्णय गरेको छ ।

एडिबीको निर्देशक समितिको बैठकले नेपालको मुख्य राजमार्ग स्तरोन्नतीका लागि १८ करोड डलर ऋण स्वीकृत गरेको हो । राष्ट्रिय तथा क्षेत्रीय सम्पर्क बिस्तार गरी व्यापार विकास र प्रवद्र्धन तथा सडक सुरक्षामा सहयोग गर्दै यातायात प्रणाली बलियो बनाउने उद्देश्यले सो सहयोग गर्न लागिएको एडीबीका यातायात विज्ञ जोहान जर्जेटले बताए ।

एडिबीका अनुसार सडक विभागमार्फत सो रकम १ हजार २७ किलोमिटर लम्बाईको राजमार्ग सम्पूर्ण भू–भागको स्तरोन्नतीका साथै कामदार र आवश्यक निर्माण सामाग्री खरिदमा खर्च हुनेछ । विशेष गरि कञ्चनपुरदेखि कमलासम्मको ८७ किलोमिटर सडकको स्तरोन्नतीमा सहयोगी हुने जनाईएको छ ।

सहयोग रकममध्ये ७ लाख ५० हजार डलर रकम सरकारको सडक सुरक्षा नीति र कार्ययोजनाका लागि खर्च हुने एडिबीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राजमार्गमा हाल दैनिक ८ हजार ६ सय सवारीसाधन गुड्ने गरेका छन् । सन् २०३३ सम्ममा सो राजमार्गमा दैनिक २५ हजार ४ सय सवारी गुड्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया