शिक्षक संघद्वारा निवृत्त शिक्षकको विदाई

शिक्षा

रामसेवक यादव

       

कपिलवस्तु, २१ असोज । कपिलवस्तुको यशोधरा गाउँपालिका अन्तर्गत सेवा अवधिबाट निवृत्त भएका शिक्षकहरुको आज एक समारोहका बीच विदाई तथा सम्मान गरिएको छ ।

यशोधरा गाउँपालिका स्तरीय नेपाल शिक्षक संघले आयोजना गरेको दशैं तथा दिपावली पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा त्यस गाउँपालिका भित्रका निवृत्त शिक्षक रामशुभाग यादव तथा रमेश प्रसाद ओझालाई सम्मानका साथ उहाँहरुको योगदानको कदर गर्दै विदाई गरिएको छ ।

यशोधरा गाउँपालिकाका नेपाल शिक्षक संघका अध्यक्ष वृहस्पती पाण्डेयको अध्यक्षता , नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति सुधाकर पाण्डेको विशिष्ठ अतिथ्यतामा भएको कार्यक्रममा वडा अध्यक्ष श्यामनारायन उपाध्याय , नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष अफाक मुसलमान लगायतका अतिथिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा अस्थायी , बाल विकास सहयोगी कार्यकर्ता , विद्यालय परिचर तथा विद्यालय कार्यालय सहायकहरुले आफ्नो सेवासुविधाप्रति असन्तुष्टि जनाएका थिए ।

समान कामको समान सुविधाको लागि सरकारसमक्ष काडरुपमा माग गर्नु पर्ने कुरामा शिक्षक संघ लाग्नु पर्ने कुरामा जोड दिएका थिए । स्थानीय तह गाउँपालिकाले पनि आफ्नो पीरमर्का नबुझेको गुनासो गरेका थिए ।

शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने अतिथि वक्ताहरुले शिक्षक आफ्नो पेसाप्रति इमानदारी पूर्वक लाग्नु पर्ने , गुणस्तरीय शिक्षा दिनु पर्ने र शिक्षकको जायज मागप्रति नेपाल शिक्षक संघ कडा रुपमा लाग्ने कुरामा प्रतिवद्धता जनाएका थिए ।

देवेन्द्र कुमार पाण्डेयको संचालनमा भएको कार्यक्रममा यशोधरा गाउँपालिका भित्रका ४० जना शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो । कार्यक्रम जनसेवा आधारभूत विद्यालय अमलोनहामा सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया