मधेश आन्दोलनका घाइतेलाई सहयोग रकम हस्तान्तरण

मधेशी जनताको अधिकार विरुद्ध हुने कुनै पनि गतिविधि स्वीकार नगरिने : मुख्यमन्त्री राउत

राजनीति

       

जनकपुरधाम, २२ असोज । मधेश आन्दोलनका घाइते विजय कुमार ठाकुरलाई प्रदेश सरकारले एक लाख ५० हजार रकम सहयोग उपलब्ध गराएको छ ।

प्रदेश सरकारले मधेश आन्दोलन क्रममा घाइते भएका हरुलाई सहयोग गर्ने प्रतिवद्धता जनाए अनुरुप प्रथम मधेश आन्दोलनको क्रममा गम्भीर घाइते भई एउटा खुट्टा समेत गुमाएका पिपरा गाँउ पालिका वडा नं. ५ रतौलीका ठाकुरलाई सो सहयोग रकम हस्तान्तरण गरिएको हो ।

घाइते ठाकुरको गृह नगर रतौलीमै आयोजित मधेश आन्दोलनका घाइतेहरुको सम्मान कार्यक्रममा मुख्यमन्त्री मो.लालबाबु राउतले उक्त रकमको चेक घाइते ठाकुरलाई हस्तान्तरण गरेका छन् ।

मधेश आन्दोलनकै बलमा मुलुकमा संघीयता स्थापित भई प्रदेश नं. २मा मधेशी जनताको भावना बमोजिम सरकार गठन भएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले उनिहरुको बलिदानीलाई प्रदेश सरकार आत्मसाथ गरेर अघि बढने बताए ।

प्रदेश सरकारले शहीद परिवारलाई रोजगारी दिने गरेको निर्णय अनुरुप आफनो काम शुरु गरि सकेको उल्लेख गर्दै उनले क्रमशः शहीद परिवारलाई योग्यता र क्षमताको आधारमा रोजगारी दिइने प्रतिवद्धता समेत दोह¥याए ।

उनले मधेश आन्दोलनका घाइतेहरुको संख्या हजारौ रहेको उल्लेख गर्दै प्रदेश सरकारले उनिहरुको अवस्था हेरी क्रमशः सहयोग रकम उपलब्ध गराउने समेत बताए ।

शहीदहरुको सहादत तथा आन्दोलनकारीहरुको अथक प्रयासले स्थापित मधेशीहरुको अधिकारमा कुनै आँच आउन नदिने प्रतिबद्धता जनाउदै मुख्यमन्त्री राउतले मधेशी जनताको अधिकारी विरुद्ध हुने कुनै पनि गतिविधी प्रदेश सरकारले स्वीकार गर्न नसक्ने बताए ।

प्रदेशको शान्ति सुरक्षा र विकासको जिम्मा प्रदेश सरकारको रहेपनि केन्द्र सरकारले त्यसमा अल्झाएर संघीयतालाई नै असफल बनाउने प्रयास गरि रहेको उल्लेख गर्दै उनले यस्ता गतिविधि विरुद्ध लडन प्रदेश सरकार तैयार रहेको बताए ।

संघीयता विरोधीहरु प्रदेशलाई असहयोग गरेर जनतामा संघीयता प्रति नै वितृष्णा फैलाउने प्रयास गरि रहेकोले त्यसलाई चिर्न आफूहरु प्रदेश प्रहरी ऐन र करारमा कर्मचारी भर्ना गर्ने सम्बन्धि ऐन संसदमा टेवल गरेको उल्लेख गरे ।

उनले भने,‘ दुई तिन दिनमै प्रहरी ऐन पास गराउछौ, करार ऐन पनि पास हुन्छ, त्यस पछि संविधान प्रदत गरेको सबै अधिकार कार्यान्वयन तर्फ हामी लाग्छौ ।’

प्रदेशभित्र पनि केही शक्तिहरु प्रदेशलाई समृद्ध बन्न देख्न नचाहनेहरु रहेको उल्लेख गर्दै उनले त्यस्ता शक्ति विरुद्ध लडन जनतालाई सहयोग गर्न आग्रह गरे ।

पिपरा गाँउपालिकाका अध्यक्ष विनोद चौधरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पिपरा गाँउ पालिकामा संघीय समाजवादी फोरम नेपालका तर्फ बाट अध्यक्षका प्रत्यासी एवं सर्वोदय बोर्डिङ्ग स्कुलका संचालक व्रजेन्द्र कुमार मिश्रा (बुलन)ले घाइते ठाकुरको छोरा छोरीलाई कक्षा १२ सम्म आफुले निशुल्क अध्यापन गराउने घोषणा गरे ।

कार्यक्रममा पूर्व मन्त्री हरिनारायण यादव, प्रदेश सभा सदस्यहरु जैलुन राइन, सुरिता साह, अल्का झा, संघीय समाजवादी फोरम नेपालका नेताहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया