घाइते बालिकाहरुलाई सांसद यादवद्वारा अस्पतालमै पुगेर सहयोग

राजनीति

       

वीरगन्ज, २३ असोज । संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रदीप यादवले वीरगन्जको लालबंगला परिसरमा सोमबार साँझ ह्युमपाइपले च्यापिएर घाइते भएका बालिकाहरुको उपचार खर्चका लागि आर्थिक सहयोग गरेका छन् ।

काठमाडौंको बिएण्डबी अस्पतालमा उपचार गराइरहेका पर्साको जीराभवानी गाउपालिका वडा नम्बर १ स्थायी घर भइ हाल वीरगन्ज ९ रानीघाटमा बस्दै आएका गोविन्द चौधरीकी छोरीहरु १० वर्षकी अनुष्का चौधरी र सात वर्षकी अंकीता चौधरीलाई मंगलबार बिहान अस्पतालमै पुगेर सांसद यादवले जनही २५÷२५ हजार रुपैयाँ नगद सहयोग गरेका हुन् ।

यादवले उक्त रकम, बालिकाद्वयका बुबा गोविन्द चौधरीलाई प्रदान गरे । त्यही घटनामा घाइते भइ वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचार गराइ रहेकी वीरगन्ज ९ रानीघाटका राकेश यादवकी छोरी नौ वर्षकी आयुषा यादवलाई पनि २५ हजार रुपैयाँ प्रदान गरिने काठमाडौंमा रहेका सांसद यादवले बताए ।

यसैगरि सोमबार साँझको घटनामा परि ज्यान गुमाएका रानीघाटका बालमुकुन्द राउत चौधरीका आठ वर्षीय छोरा रोहित चौधरीको परिवारलाई भने आफू वीरगन्ज आएलगत्तै ५० हजार रुपैयाँ प्रदान गर्ने सांसद यादवले बताए ।

यसैबिच मंगलबार बिहान एक विज्ञप्ति जारी गर्दै सांसद यादवले सोमबार साँझ भएको दुखद घटनाले आफू स्तब्ध भएको बताएका छन् ।

लालबंगला परिसरमा ह्युम पाइप राख्ने कालिका कन्ट्रक्सनकै लापरवाहीका कारण दुखद घटना भएकाले यसको सम्पूर्ण जिम्मेवारी कालिकाले नै लिनु पर्ने पनि उनले बताएका छन् ।

त्यहाँ लापरवाहीपूर्वक ह्युम पाइप थुपारेर राख्ने कालिका र ह्युम पाइप राख्न लगाउने दुवै पक्षलाई कारबाही गर्न पनि सांसद यादवले स्थानीय प्रशासनलाइ निर्देशन दिनुका साथै सरकारसँग माग पनि गरेका छन् ।

तपाईको प्रतिक्रिया