राजन मुक्तिको संयोजकत्वमा मोर्चाको वार्ता टोली सार्वजनिक

राजनीति

       

काठमाडौं, २४ असोज । जनतान्त्रिक तराई मुक्ति मोर्चाले विगत पाँच वर्षदेखि कारागारमा बन्दी जीवन बिताइरहेका मोर्चाका पूर्वअध्यक्ष तथा वरिष्ठ नेता राजन मुक्ति भनिने रंजित कुमार झाको नेतृत्व वार्ता टोली गठन गरेको छ ।

सरकारले मन्त्रिपरिषद्स्तरीय निर्णयबाट विद्रोही समूहहसँग वार्ताका लागि सोमप्रसाद पाण्डेको नेतृत्वमा गठन गरेको अधिकार सम्पन्न उच्चस्तरीय वार्ता टोलीले बन्दी जीवन बिताइरहेको राजन मुक्तिकै नाममा पत्र पठाएकोले आफूहरुले पनि सोहीअनुसार वार्ता टोली सार्वजनिक गरेको मोर्चाका अध्यक्ष मनोज मुक्ति विवेकले मधेशवाणीलाई बताएका छन् ।

मोर्चाको वार्ता टोलीको संयोजक झुम्का कारागारमा रहेका राजन मुक्ति, सदस्यहरु सप्तरी कारागारमा रहेका प्रवेश मुक्ति भनिने लक्ष्मण यादव, जलेश्वर कारागारमा रहेका लालरत्न मुक्ति भनिने निरञ्जन चौधरी, भिमफेदी कारागारमा रहेका शशि मुक्ति भनिने सुनिल कुमार अधिकारी र झुम्का कारागारमा रहेका अजय मुक्ति भनिने दिपक कुमार सिंह रहेका छन् ।

मोर्चाको वार्ता टोलीमा रहेका सबै सदस्यहरु अहिले कारागारमा छन् । सरकारले वार्ता गर्न चाहेको छ भने ती सबै सदस्यहरुलाई रिहा गर्नुपर्ने हुन्छ ।

र, मोर्चाको पहिलो माग नै वार्ताको वातावरण बनाउन बन्दीहरुको रिहाई रहेको छ ।अब हेर्न बाँकी छ कि सरकारी वार्ता टोली वास्तवमै वार्ता गर्न इच्छुक छ भने ती बन्दीहरुको रिहाई पहिलो काम गर्नुपर्ने हो ।

यता, सरकारी वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले विद्रोही समूहहरुसँग वार्ताका लागि हरसम्भव प्रयास गर्ने मधेशवाणीसँगको कुराकानीमा बताए ।

तपाईको प्रतिक्रिया