झिलिमिली होस् मधेश (सम्पादकीय)

सम्पादकीय

    २०७५ साल कार्तिक १६ गते शुक्रबार   

दशैंको पन्ध्रौं दिनमा आउने ठूला पर्वहरूमा मध्ये तिहार अर्थात् दिपावली पनि एक हो । यो पर्व कात्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरू भएर कात्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म अर्थात् पाँच दिन मनाइन्छ । हिन्दु धर्मावलम्वीले दीपावलीको रूपमा यस पर्वलाई धूमधामका साथ मनाउने पनि गर्दछन् । पाँच दिनसम्म मनाईने तिहारको सम्बन्धमा हिन्दु धर्मशास्त्रका पौराणिक कथाहरूमा पनि तिहारलाई वर्णन गरिएको छ । सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक मानिएको कुरा हिन्दु शास्त्रमा उल्लेख गरिएको छ । तिहारले एकातिर मानव तथा पशुबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनी बीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई पनि यसले छर्लङ्ग पार्दछ ।
पहिले दशैं अनि त्यसको पन्ध्र दिनपछि आउने तिहार दुवै पर्वमा देवी दुर्गाका विभिन्न रूपहरूको पूजा आराधना गरिन्छ । सम्पत्तिकी देवी लक्ष्मीको पूजा घरमा अन्न धेरै आओस् भन्ने उद्देश्यमा गरिएको पनि विश्वास रहेको छन् । दक्षिण एशियाका धेरै देशमा विशेष गरि भारत, नेपाल, भूटान र बर्मा म्यानमारमा यो पर्व विभिन्न प्रकारले मनाइन्छ । तिहार हिन्दुहरूको सबैभन्दा ठूला पर्वहरू मध्ये एउटा हो । तिहार अर्थात दिपावली मधेशमा पनि निकै उत्साहका साथ मनाइन्छ । जीवनका अज्ञान रूपी अन्धकारलाई हटाएर प्रकाशको दिब्य आलोकमा प्रवेश गर्न सकौं भन्ने सन्देश यस पर्बले दिएको हुन्छ । अभाव ग्रस्त जीवनलै परिपूर्ण बनाएर आत्म ज्योतिको दिव्य प्रकाशको अनुभूति गर्न सकौं भन्ने सन्देश दिपावलीले दिएको छ भन्दा फरक नपर्ला । प्रकृति भोग्य होइनन यी त सहगामिनी हुन् भन्ने कुरा यो पर्वबाट थाहा हुन्छ ।
दिपावलीले सबैमा सुख, समृद्धि तथा श्रीसम्पति छाओस् भन्ने सबैको कामना छ । मधेश अहिले पनि संक्रमणमा छ । मधेशका दलहरू राजनीतिक मुद्दा बनाएर आन्लोलनको तयारीमा छन् । प्रधानमन्त्री बने पति केपी ओलीले पटक पटक संविधान संशोधन गर्ने र मधेशको माग पूरा गरिदिने कसम पनि खाएका छन् । दुई तिहाइभन्दा बढी समर्थन प्राप्त ओलीले संविधान संशोधन गर्न प्रतिवद्धता जनाएका छन् । तर मधेशी विरोधी र संविधान संशोधनमा उनले विगतमा दिएको अभिव्यक्ति र निर्वाह गरेको भूमिकाले उनी सहजै संविधान संशोधन गर्लान त ? प्रश्न उठनु स्वभाविक हो तर पनि फोरम र राजपाले ओलीलाई विश्वासको मत दिएर झन शक्तिशाली बनाइ दिएका छन् ।
यद्यपी फोरम र राजपाले दुई तिहाइको मत भएको सरकारले नै संविधान संशोधन गर्न सक्छ भनेर आफूहरूले विश्वासको मत दिएको तर्क गरिरहे पनि भित्री आशय भनेको उनीहरूको सत्ता यात्रा नै हो । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल तीन बुँदे सम्झौता गरेर सत्ता यात्रा गरेका छन् । राजपाले पनि सरकारलाई समर्थन गरेको छ र अहिले उ समर्थन फिर्ता लिएर छठ पछि आन्दोलन गर्ने चेतावनी दिएको छ । मधेशी दलले यसरी नै १० वर्षदेखि विभिन्न प्रधानमन्त्रीसँग सहमति गर्दै माग पूरा गराउन संघर्ष गर्दै आएका छन् । उनीहरूको सबै माग यथावत छ र सम्बोधन भइरहेको छैन ।
२०६३ माघ १ गतेदेखि पहिलो मधेश आन्दोलन शुरू हुँदा स्व.गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए । मधेश आन्दोलन चर्केपछि उनले दुई–दुई पटक मधेशलाई सम्बोधन गरे । मधेशको आन्दोलनलाई शान्त पार्नका लागि २२ बुँदे सम्झौता पनि गरेका थिए तर त्यो सम्झौता कार्यान्वयन नभएपछि पुनः आन्दोलन भएको थियो । त्यसपछि २०६४ फागुन १६ गते ८ बुँदे सम्झौता भएपछि मात्र आन्दोलन रोकिएको थियो । आठ बुँदे सम्झौतामध्ये कति कार्यान्वयन भयो, कति भएन केही पत्तो छैन । तर आठ बुँदे सम्झौतापछि मधेशी दल विगतमा थुप्रै पटक सरकारमा सहभागिता भए तर आफूले उठाएको माग पूरा गराउन सकेन ।
सरकारले कुनै प्रतिकूल काम गरे राजपा र फोरमले विश्वासको मत फिर्ता दिने चेतावनी दिएका छन् । यद्यपी सरकारले भने मधेसी दलको आन्तरिक कारणले वार्ता निष्कर्षमा पुग्न नसेकको पनि टिप्पणी गरिन्छ । आन्दोलनको चेतावनी दिएको राजपा भित्रको आन्तरिक कलह र खिचातानीले आन्दोलनलाई कमजोर त पार्ने होइन भन्ने आशंका पनि छ । मधेशलाई आन्दोलनको मैदान मात्र बनाउनु हुँदैन । संघीयता लागू भएपछि मधेशले विकास र समृद्धि खोजेको छ । अब आन्दोलन होइन, विकासको यात्रामा सबै सहभागी हुनुपर्छ । मधेशलाई मिलिमिली बनाएर विकासको रथलाई अगाडि बढाउने समय आएको छ ।

तपाईको प्रतिक्रिया