डेढ दशकपछि रानीतलाउमा डुंगा चल्यो

समाचार

       

दिनेश ठाकुर, नेपालगञ्ज, २० कार्तिक । नेपालगञ्जको रानीतलाऊमा डेढदशकपछि डुङ्गा चल्न थालेका छन् । मङ्गलबार प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले पुननिर्मित रानीतलाऊको उद्घाटन गरेका छन् ।

रानीतलाऊको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले पर्यटन विकासलाई प्रदेश सरकारले मुख्य प्राथमिकता दिएको बताए ।

पर्यटनबाट प्रदेशसँगै समग्र मुलुकको विकास गर्न सकिन्छ, मुख्यमन्त्री पोख्र्रेलले भने,– यसका लागि स्थानीय तहको पनि ध्यान जान आवश्यक छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाका अनुसार २२ लाख ७८ हजार लागतमा रानी तलाउ पुनःनिर्माण गरिएको हो ।

डा. राणा पहिलो पटक मेयर हुँदा २०५४ सालमा रानीतलाउको निर्माण गरिएको हो । संयोगले अहिले राणा मेयर हुँदानै पुन उद्घाटन भएको छ । रानीतलाउ सबैका लागि उपयुक्त गन्तव्य बन्ने प्रमुख राणाले बताए ।

पहिले २०५४ सालमा रानी तलाऊ वोटिङ विहारको निर्माण भएको थियो । पछि स्थानीय तहमा जननिर्वाचित प्रतिनिधी नभएपछि रानीतलाऊ जीर्ण भएको हो । वर्षौैदेखि जीर्ण अवस्थामा रहेको नेपालगन्ज उपमहानगरपालिका ८ मा अवस्थित रानीतलाउ पुनः निर्माणपछि पुनः जलविहार सुरु भएको हो ।

जलविहार गर्न चाहनेका लागि मङ्गलबारदेखि नै खुला गरिएको छ । जल विहारका लागि प्लाष्टिकका चार वटा बोट (डुंगा) तयारी अवस्थामा छन् ।

पछिल्लो पटक तलाउलाई चारैतिरबाट पर्खालले घेरिएको छ । पर्खाल र जीर्ण बनेका अन्य भौतिक संरचनामा आकर्षक रङरोगन गरिएको छ । डिप बोरिङमार्फत पानी भरिएको छ भने वरिपरि पलाएका झारपात सफा गरेर चिटिक्क पारिएको छ ।

बालबालिकाका लागि उद्यान, बटुवा बस्नका लागि कुर्ची, खाजा, नास्ताका लागि क्यान्टिनको व्यवस्था गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

दक्षिणतर्फ तीनवटा कटेज निर्माण गरिनुका साथै पूर्व र पश्चिमतर्फ रमणिय पार्क पनि स्थापना गरिएको छ । उपमहानगरपालिकाका अनुसार नगरभित्रको वाटरपार्क र कान्ती ताल पनि निर्माणको क्रममा रहेको छ ।

तपाईको प्रतिक्रिया