जनशक्ति व्यवस्थापन नभए अधिकारले मात्र विकास हुँदैन : राजेश राय यादव

मेयर, कलैया उपमहानगरपलिका

स्थानीय सम्वाद्

    २०७५ साल मंसिर ७ गते शुक्रबार ।   

० कलैया उपमहानगरपालिकामा काम गर्न के कस्ता चुनौतीहरू भोगिरहनु भएको छ ?

— यहाँ सबै क्षेत्रमा चुनौती नै छ । कुनै पनि क्षेत्र राम्रोसँग सञ्चालन भएर अगाडि बढेको छैन । सडक, शिक्षा, स्वास्थ्य लगायत हरेक क्षेत्रमा सुरूको अवस्थादेखि नै काम गर्नुपर्ने छ ।

० तपाई निर्वाचित भएर आइसकेपछि के–कस्ता कामहरू गर्नुभयो ?

— आर्थिक वर्ष २०७४÷७५ मा सबैभन्दा बढी सडकको काम भएको छ । ढलान गर्ने, सडक व्यवस्थित गर्ने लगायत कलैया उपमहानगरपालिका ३ नम्बर क्षेत्रमा पर्ने सिद्देश्वर महादेवको मन्दिर व्यवस्थित गरिएको छ । हामी निर्वाचित भएर यस उपमहानगरपालिकामा आउँदा केही पनि व्यवस्था थिएन । कुनै पनि योजनाको फाईल थिएन । भर्खर नगरको फाईल तयार भएको छ । त्यतिबेला आर्थिक वर्षको अन्तिम अवस्था भइसकेको थियो  । बजेट सक्याउन हतार थियो । गाउँघरमा नाला निर्माणमा खर्च गरियो । कलैया बजारको सडकमा रहेको खाल्टाखुल्टी पुर्ने काम भयो । ९०% बजेट खर्च भएको छ ।

० दोस्रो वर्षको बजेट चलाइरहनु भएको छ, यो वर्ष तपाईहरूको योजना के—के छ ?

— खेलमैदान निर्माण, पार्क निर्माण, उपमहानगरपालिका प्रवेशद्वारा निर्माण जस्ता योजना बनाएर हामीले अहिले काम गरिरहेका छौं । कलैया बजारमा सुपर मार्केट निर्माण गर्ने योजनालाई हामीले प्राथमिकतामा राखेका छौं ।

० तपाईहरूको उपस्थितिसँगै त्यहाँका जनताले स्थानीय सरकारको अनुभूति गर्न पाएका छन् ?

— हामीले चुनाव जितेर आएको भर्खरै १ वर्ष भएको छ । अघिल्लो वर्ष हामीले पुरै बजेट खर्च गर्न पाएनौं । अन्तिम अवस्थामा वर्षाका कारणले काम गर्न सक्ने परिस्थिति बनेन । यो वर्ष हामी योजना अनुरूप अगाडि बढिरहेका छौं ।

० त्यहाँ काम गर्न प्रतिपक्षीबाट कस्तो सहयोग भइरहेको छ ?

— निर्वाचित सदस्यहरूले मात्र काम गरेर विकास हुन्छ भन्ने हुँदैन । प्रतिपक्षी दलहरूसँग पनि समन्वय गरेर अगाडि बढ्नुपर्छ । यहाँ काम गर्न प्रतिपक्षी दलको कुनै अवरोध छैन। उनीहरूबाट सहयोग पाएको छु ।

० तपाईँको उपनगारपालिकामा कर वृद्धिको सम्बन्धमा जनताले के भन्ने गरेका छन् ?

— यहाँ कर उठाउने प्रक्रिया नै व्यवस्थित हुन सकेको छैन । आर्थिक वर्ष २०७५÷७६ मा हामीले यो प्रणालीलाई केही व्यवस्थित बनाउनेछौं । यहाँका व्यावसायीलाई न्युनतम र अधिकत्म कर कसरी लागू गर्नेे भन्ने विषयमा हामी छलफलमै रहेका छौं । अहिलेसम्म यहाँ विगतकै कर प्रणाली चलिरहेको छ न। याँ कर प्रणाली लागू भएको छैन ।

० करको मामलामा तपाईँले त्यहाँका जनतालाई कस्तो सुविधा दिइराख्नुभएको छ ?

— नयाँ कर लादिएको छैन । कर प्रणाली व्यवस्थित गरेर अगाडि बढ्ने हाम्रो योजना हो । कलैया पहिले नगरपालिका थियो, अहिले उपमहानगरपालिका भएको छ । यहाँ १६ वटा वडाहरू थपिएको छ । जग्गा सम्बन्धी कर पहिले सम्पत्ति कर भनेर उठाउने गरिन्थ्यो । अब यसलाई घरजग्गा करमा ल्याउने हो र खेतीयोग्य जग्गा बिक्री वितरण गर्दा मालपोतबाट नै प्रक्रिया अगाडि बढाउने हो ।

० निर्वाचनको समयमा त्यहाँका जनतालाई के–के प्रतिबद्धता गर्नुभएको थियो ?

— मैले निर्वाचनको समयमा गरेको प्रतिबद्धता अनुरूप नै काम गरिरहेको छु । कलैया उपमहानगरपालिकाका विभिन्न ठाउँमा बाईफाई फ्रि गर्ने र कलैया बजारलाई सुपर मार्केट बनाउने, सडकलाई व्यवस्थित बनाउने जस्ता बाचा हामीले चुनावको समयमा गरेका थियौं त्यो पूरा गर्नेगरी नै काम भइरहेको छ ।

० स्थानीय निर्वाचनपछि सिंहदरबार गाउँ–गाउँमा भन्ने गरिन्थ्यो । तपाईंको क्षेत्रमा यो नारा कति सान्दर्भिक भएको छ ?

— स्थानीय सरकारले कस्तो खालको काम गर्न सक्छ र निर्णय लिँदा जनताको हितमा गर्न सक्छ कि सक्दैन भन्ने प्रमुख विषय हो । हामीले सकेसम्म जनताको काम सजिलोसँग होस् भनेर अगाडि बढ्ने गरेका छौं तर जनताले सोचे अनुरूप सन्तुष्टि प्राप्त गर्न सकेका छैनन् । जुन अधिकार स्थानीय तहमा आएको छ, त्यसलाई पू्र्ण रूपमा प्रयोग गर्न पनि केही समय लाग्छ । अधिकार गाउँमा आएपनि त्यसलाई परिचालन गर्न जनशक्ति छैन, बजेटको अभाव छ । अघिल्लो आर्थिक वर्षमा भन्दा यो वर्ष बजेटमा पनि कटौती भएको छ । २० वर्षदेखि प्रतिनिधिविहीन रहेको स्थानीय तहलार्ई सुधार्न केही समय त लाग्छ ।

० बजेट किन कटौती भयो ?

— स्थानीय आयस्रोत बढाउनु पर्छ । प्रत्येक वर्ष बजेट परिमार्जित गर्दै जाने नेपाल सरकारको नीति छ । कलैया उपमहानगरपालिकाको नीजि आय नै धेरै कम छ । यो वर्षको बजेट चार करोडको हाराहारीमा छ तर सरसफाईमा मात्र लगभग २ करोड ६० लाख खर्च हुन्छ ।

० अन्य नगरका पमुख उपप्रमुखहरूले हामीलाई केन्द्रबाट अधिकार दिइएन भनेर गुनासो गर्नुहुन्छ, तपाई के भन्नुहुन्छ यो विषयमा ?

— केन्द्रबाट अधिकार आए पनि त्यसलाई परिचालन गर्न त जनशक्ति चाहियो । कर्मचारी आए पनि यहाँ दिगो भएर काम गरेको अवस्था छैन । कसरी सरूवा मिलाउन सकिन्छ भन्ने मात्र कर्मचारीले सोचाई राखेपछि त्यो क्षेत्रको विकास कसरी गर्ने भनेर उसले सोच्दै सोच्दैन । जबसम्म जनशक्तिको व्यवस्थापन गर्न सकिदैंन तबसम्म अधिकारले मात्र प्रदेशको विकास हुन सक्दैन ।

० तपाईंले आफ्नो उपमहानगरपालिकामा युवा, महिलाहरूको लागि कस्ता योजना बनाउनु भएको छ ?

— रोजगारमूलक विशेष किसिमको कार्यक्रम हामीले गाउँघरमा चलाएका थियौं । महिलाहरूको लागि मैनबत्ती निर्माण, सिलाई लगायतका विभिन्न तालिमहरू सञ्चालन गर्ने गरेका छौं । युवाहरूलाई कम्प्युटर तालिम, कृषि सम्बन्धी विभिन्न तालिमहरू पनि दिने गरेका छौं । त्यसको प्रतिफल के कस्तो आउँछ आउने वर्षमा थाहा हुन्छ ।

० प्रदेश २ मा सबैभन्दा धेरै भ्रष्टाचार हुन्छ भन्ने गरिन्छ, त्यहाँको अवस्था के छ ?

— नियम र कानुन विपरित यहाँ केही काम हुँदैन ।

० कलैया उपनगरपालिकालाई तपाईं आफ्नो ५ वर्षे कार्यकालमा कस्तो बनाउनु हुन्छ ?

— शिक्षा, स्वास्थलाई व्यवस्थित गरेर कृषि क्षेत्रमा परिवर्तन ल्याउने मेरो मुख्य योजना छ र म ५ वर्षको अवधिमा यी कामहरू पुरा गरेरै छोड्छु ।

तपाईको प्रतिक्रिया