शिक्षामा लापरवाही बर्दास्त नहुने : मेयर गुप्ता

शिक्षा

       

रौतहट, ११ मङ्सिर । गौर नगरपालिकाले नगर स्तरीय शिक्षाको अवस्था सुधार गर्ने उद्देश्यले विद्यालय अनुगमन गर्ने अभियान कडाईका साथ सञ्चालन गरेका छन् ।

विद्यालयमा कार्यरत रहेका शिक्षक कर्मचारीहरुलाई आफ्नो पेशा प्रति इमान्दारिता बनाउन तथा समय अवधिभरी अध्यापन गराउने वातावरणको विकासका लागि नगरपालिकाले यस्तो अभियान सञ्चालन गरेका हुन् ।

विद्यालयमा अध्यापन गर्नेतर्फ शिक्षकहरु गम्भीर नभएको गुनासो आएपछि छड्के गर्ने कार्य अगाडी बढाइएको छ ।

नगरभित्र रहेका आधारभूत विद्यालयदेखि माध्यमिक विद्यालयसम्म छड्के गर्ने कार्य भइरहेको नगर प्रमुख अजय कुमार गुप्ताले बताएका छन् ।

अनुगमन गर्नुअघि सबै विद्यालयका प्रध्यानाध्यापकहरुलाई बैठक गराई व्यवस्थित रुपमा विद्यालय सञ्चालन गर्नु पर्ने निर्देशन दिइएको बताउँदै मेयर गुप्ताले शिक्षाको सवालमा लापरवाही कतई बर्दास्त नगरिने समेत चेतावनी दिएका छन् ।

नगरपालिका भित्रको विद्यालय अनुगमन गर्न कार्यदल समेत बनाइएको छ । विद्यालयमा जाने हाजिरी गर्ने र बसेर गफ गर्ने प्रवृति अनुगमन कार्य शुरू भएपछि अंत भएको छ । नगरप्रमुखको कड़ा कदमको कारण शिक्षकहरु समयमै विद्यालयमा उपस्थित हुने गरेको पाइएको छ ।

नगरप्रमुखको नेतृत्वमा गएको टोलीले पूरेनवा ,कुड़वामा रहेको विद्यालयमा निरिक्षण गरेका छन् । निरिक्षणको क्रममा कोही शिक्षक कर्मचारी अनुपस्थित फेला नपरेको प्रमुख प्रशासकीय अधिकृत सुमन कार्कीले बताएका छन् ।

अनुगमन टोलीमा मेयर गुप्ता, प्रमुख प्रशासकीय अधिकृत कार्की, शाखा अधिकृत सुभाष कुमार ठाकुर लगायत सरोकारवाला निकायका जिम्मेवार व्यक्तिसहित संचारकर्मीहरु रहेका थिए ।

तपाईको प्रतिक्रिया