नेपाललाई आर्जेको मुलुक भन्नु आन्तरिक औपनिवेशीकरणको प्रमाण हो : श्रेष्ठ

राजनीति

       

काठमाडौं, १६ मंसिर । सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य राजेन्द्र प्रसाद श्रेष्ठले नेवाः ताम्सालिङ समन्वय समितिको आयोजनामा नेपाल संवत ११३९ को उपलक्ष्यमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा पहिचानसहितको सङ्घीयता प्राप्तिका लागि संयुक्त आन्दोलन आवश्यक भएको बताए ।

उनले पूर्वमा लिम्बुवान र किरातबिच समन्वय नहुँदा पहिचानको आन्दोलन पहिला जस्तो गतिशील हुन नसकेको भन्दै त्यसबाट पहिचानविरोधीहरूलाई फाइदा पुगेको बताउँदै नेवाः र ताम्सालिङ एक आपसमा समन्वय गरी संयुक्त स्वायत्त प्रदेशको माग अगाडी बढाएकोमा सन्तोष व्यक्त गरे ।

सहअध्यक्ष श्रेष्ठले नेपालमा लिच्छवी कालदेखि प्रचीन स्वरूपको सङ्घीय व्यवस्थाको रूपमा नेपालमण्डल राज्य हुँदा यहाँका जनताको रूपमा नेवार र तामाङ दुबै शासित रहेको तथा ती दुबै जातिले खास खास ठाउँमा स्वायत्त शासन मात्र चलाएको बताए ।

उनले गोपाल वंशदेखि मल्ल कालसम्म शासन गर्ने राजाहरू राज्य चलाउँदासम्म गोपाल, महिषपाल, लिच्छवी, मल्ल भएर शासन गरे पनि पछिल्ला शासकहरूबाट पराजित भए पछि यहाँका आदिवासी नेवारहरूको थर ग्रहण गर्दै नेवाकरण भएको बताउँदै तामाङ जातिमा भने शासकहरू त्यसरी बिलय नभएको बताए ।

नेता श्रेष्ठले शासकहरू नेवाकरण हुने प्रक्रिया गोरखा राज्य विस्तारपछि अवरुद्ध भएको बताउँदै पृथ्वी नारायण शाह स्वयंले नेपाललाई आर्जेको मुलुक भन्नु आन्तरिक औपनिवेशीकरणको प्रमाण भएको बताए ।

उनले गोरखा राज्य विस्तारपछि तत्कालिन पर्वत, गोर्खा आदि राज्यमा प्रचलित पर्वतीय गोरखा भाषा, फूलपाती संस्कृति, शक संवत आदि लाडेको बताए ।

उनले आफूहरूले समानताको आधारमा राष्ट्रिय एकता कायम गर्न तथा आन्तरिक औपनिवेशीकरणबाट उत्पीडित राष्ट्रियताहरूको मुक्तिका लागि नै सङ्घीयता चाहेको बताए ।

तपाईको प्रतिक्रिया