विवाहपञ्चमीको अर्थशास्त्र (सम्पादकीय)

सम्पादकीय

    २०७५ साल मंसिर २१ गते शुक्रबार    

मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा पौराणिक प्रचलनअनुसार भगवान् सीतारामको विवाह महोत्सव आउने बुधबार मनाइँदै छ । हरेक वर्ष मंसिर शुक्लपक्षका दिन राम र जानकीको स्वयंवर भएको विश्वासमा विवाह पञ्चमी पर्व मनाउने गरिन्छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलाबासीले यस महोत्सवलाई विशेष महोत्सवका रूपमा मनाउने गर्दछन् । महोत्सवका लागि जनकपुरधाममा श्रद्धालु भक्तजनको ठूलो भिड लाग्ने गर्छ । महोत्सवमा देवीदेवताको सहभागिता नभए पनि अदृश्यरूपमा उपस्थित हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्म मिथिलाबासी सहभागी हुने गर्दछन् ।

मैथिल संस्कृतिअनुसार विवाह महोत्सव मनाइने क्रममा राममन्दिर र जानकी मन्दिरबाट राम र सीताको प्रतिमालाई विशेष सुसज्जित डोलामा राखी रङभूमिमा लगि स्वयम्बर भएपछि जानकी मन्दिरमा ल्याई विवाह गरिन्छ । सो अवसरमा निस्किने भगवानको डोला शोभायात्रामा सहभागी हुनेले महोत्सव दैवी विवाह भएको अनुभव गर्दै आफूलाई धन्य सम्झन्छन् । महोत्सवमा बिदाइका क्षण कारूणिक हुन्छ, मिथिलावासीले चेली बिदाइको गीत गाउँदा सबैको आँखा रसाउने गरेकाले प्रतीकात्मक विवाह वास्तविक विवाहझैं हुने गरेको छ । रामजानकी मन्दिरमा लाग्ने विशेष मेलामा सहभागी हुन देशका विभिन्न ठाउँ र भारतबाट समेत भक्तजनको घुइँचो लाग्ने गर्छ । त्रेतायुगमा रामले धनुष तोडेर जनकपुरका राजा जनककी छोरी जानकीलाई विवाह गरेको दिनको सम्झनामा हरेक वर्ष मंसिर शुक्ल पञ्चमीमा विवाह पञ्चमी पर्व मनाउने गरिएको छ । जनकपुरको जानकी मन्दिरबाट निस्किएको सीताजीको डोली र राममन्दिरबाट निस्केको भगवान श्रीरामको डोली रंगभूमि मैदानमा पुगी सीता स्वयम्वर कार्यक्रम आयोजना गरिन्छ । त्रेतायुगमा मिथिलाका राजा जनकले छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीनटुक्रा पारेपछि मङ्सिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको धार्मिक ग्रन्थ रामायणमा उल्लेख छ । रामायणमा वर्णन भएअनुसार जनकपुरधामको रंगभूमिमा आयोजना गरिएको स्वयंवरमा देवी देवताको समेत उपस्थिति थियो ।

सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता शरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुन्छन् । सो महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ । पौराणिक व्यवस्थाअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेषरूपमा निर्मित डोला सिंहासनमा राखी रंगभूमिमा पु¥याइन्छ । त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रंगभूमिमा लगिन्छ । रंगभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीतारामलाई जानकी मन्दिरमा ल्याई मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । त्यस अवसरमा निस्केको भगवान्को डोला शोभायात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गर्छन् ।

रंगभूमि मैदानमा वर र कन्यापक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ संख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको रमितालाई उछिनेको हुन्छ । देवताको मानवीयकरणको भावनासँग सम्बद्ध विवाह महोत्सवमा सरिक भएपछि मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ । उक्त महोत्सव पहिले जनकपुरमा एक महिनासम्म मनाउने गरिएकामा अहिले चार दिनमात्र मनाइन्छ । विवाहपञ्चमीमा भारतबाट ठूलो संख्यामा दर्शनार्थी र श्रद्धालु भक्तजन जनकपुर आउने भएकाले यसले आर्थिक कारोबारलाई पनि मलजल पु¥याएको छ । यसअवधिमा जनकपुरको व्यापार ह्वातै बढ्ने गरेको छ तर यसलाई व्यवस्थित गर्न नसक्दा नकारात्मक प्रभाव पारिरहेको प्रति पनि ध्यान जानु आवश्यक छ । धार्मिक पर्यटन विश्वव्यापी पर्यटनको सबैभन्दा पुरानो रूप हो र जनकपुरमा यसको प्रशस्त सम्भावना छ । विवाहपञ्चमी जस्ता पर्वले जनकपुरको पर्यटन क्षेत्रसँगै आर्थिक कारोबार फस्टाउन सक्छ । 

एउटा छविका रूपमा विकसित गर्न कुनै पनि स्थानलाई ब्राण्डिङ गर्नुपर्ने भएकाले जनकपुरलाई पनि विवाहभूमि वा आदर्श भूमिका रूपमा स्थापित गराई देश—विदेशबाट नवजोडीहरू विवाहका लागि आउने गन्तव्यस्थलका रूपमा विकसित गर्न सकिन्छ । जनकपुर क्षेत्रका महत्वपूर्ण स्थलहरूमा रचनात्मक एवम् सिर्जनात्मक क्रियाकलाप अघि बढाइए यहाँको पर्यटन क्षेत्रले थप महत्व पाउन सक्छ । कुनै पनि देशको आर्थिक समृद्धिका लागि पर्यटन उद्योगको महत्वपूर्ण भूमिका रहेको छ ।
प्राचीनकालदेखि ज्ञानविज्ञान, धर्मदर्शन, कलासंस्कृति क्षेत्रमा प्रसिद्धि कमाएको मिथिलाको राजधानीको रूपमा जनकपुरलाई एक आकर्षक पर्यटकीय स्थलको रूपमा विकास गर्न सकिन्छ । पर्यटकलाई आकर्षित गर्न सक्ने यहाँका प्राचीन चित्रकला, शिल्प, मूर्तिकलासहित संस्कृतिलाई धार्मिक पर्यटकीय संग्रहालयको रूपमा स्थापना गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया