विकास र समृद्धिका लागि प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक : मुख्यमन्त्री

राजनीति

       

जनकपुरधाम, २१ मंसिर । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले विकास र समृद्धिका मुद्दामा स्थानीय तहलाई हातेमालो गरेर अघि बढ्न आह्वान गरेका छन् ।

धनुषाको लालगढमा आयोजित गाँउपालिका राष्ट्रिय महासंघको प्रदेश नं.२ स्तरीय प्रथम प्रदेश अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले विकास निर्माणको मुख्य केन्द्र विन्दु स्थानीय तह नै रहेकोले हातेमालो गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।

स्थानीय तहका जनप्रतिनिधिहरुलाई दलगत प्रवृत्तिबाट माथि उठ्नु पर्ने सुझाव दिँदै उनले इमान्दारिताका साथ विकास निर्माणको कार्यलाग्न आग्रह गरे ।

मुख्यमन्त्री राउतले स्थानीय तहमा रहेका समस्याहरु समाधानका लागि पनि प्रदेश र स्थानीय तह बीचको समन्वय आवश्यक रहेको उल्लेख गरे । नेपालको संघीयता नै सहकार्यमा आधारित रहेको उल्लेख गर्दै संघ, प्रदेश र स्थानीय तह बीचको सहकार्यमा जोड दिए ।

भ्रष्टाचारको विषयमा यो प्रदेश धेरै बदनाम भैसकेको तर्फ सचेत गराउँदै उनले भ्रष्टाचार न्यूनीकरणमा भूमिका निर्वाह गर्न समेत आग्रह गरे ।

मुख्यमन्त्री राउतले प्रदेश सरकार भ्रष्टाचार न्यूनीकरणका लागि स्वशासन ऐन प्रदेश सभामा दर्ता गराइसकेको उल्लेख गर्दै स्वशासन ऐन पारित भए लगतै भ्रष्टाचारीहरु कानूनको पकडमा आउने तर्फ सचेत गराए ।

गाँउपालिका राष्ट्रिय महासंघका प्रदेश संयोजक विजय चौरसियाको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा वन, उद्योग तथा पर्यटन राज्यमन्त्री सुरेश मण्डल, नेपाली कांग्रेस संसदीय दलका नेता राम सरोज यादव, नेकपा नेता एवं प्रदेशसभा सदस्य सत्रुधन महतो सहितका वक्ताहरुले सम्बोधन गरेका थिए ।

प्रदेश अन्तर्गतका ५९ गाउँपालिका प्रतिनिधिहरुको सहभागिता रहेको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै २२ गते सम्पन्न हुने छ ।

तपाईको प्रतिक्रिया