शीतलहरबाट बच्न हामीले पूर्वतयारी गरेका छौं : साधना झा

उपप्रमुख, राजविराज नगरपालिका, सप्तरी

स्थानीय सम्वाद्

    २०७५ साल मंसिर २८ गते शुक्रबार   

० तपाइँ जनप्रतिनिधिको रूपमा निर्वाचित भएदेखि जनताले महसुस गर्ने खालका के कामहरू गर्नुभो ? 

— यहाँ करिब दुई दशकदेखि कर्मचारीतन्त्रमा अस्तव्यस्तताको अवस्था थियो । ती अस्तव्यस्तालाई हटाउँदै कामहरू अगाडि बढाएका छौं । हामीले गरेका विकासका कामहरू अहिले देखिएको छैन । किनभने हामीले सुरू गरेका कामहरू अहिले सम्पन्न भइसकेको छैन । कतिपय कामहरू सञ्चालनमा छन् भने अन्य कामहरू सुरू गर्ने प्रक्रियामा छौं । मैले गर्ने कामको सन्दर्भमा भन्नुपर्दा न्यायिक समितिमा जति पनि मुद्दाहरू आएका छन्, ती सबैलाई निरूपण गरेका छौं । विकास निर्माणका कामहरूको हामीले नियमितरूपमा निरीक्षण पनि गर्दै आएका छौं ।

० विकास निर्माणका के–के कामहरू भएका छन् ?

— विभिन्न किसिमका विकास निर्माणका कामहरू भइरहेका छन् । राजविराज नगरपालिकामा सञ्चालित विभिन्न परियोजनाहरूको काम ७५ प्रतिशत सम्पन्न भइसकेको छ । कुनै पनि काम सुरू गरेर हामीले बीचमै छाडेको अवस्था छैन । केही समस्याहरू आइरहन्छ, किनभने हाम्रो प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भई नै रहन्छ । हामीले नर्सिङ्ग कलेज सञ्चालनमा ल्याउँदैछौं । राजविराज नगरपालिकामा कोल्ड स्टोर सञ्चालनमा ल्याउँदैछौं जुन यहाँका लागि नमूना नै रहनेछ । त्यस्तै, विभिन्न ठाउँहरूमा अतिक्रमणहरूलाई हामीले हटाएका छौं । सरसफाईको क्षेत्रमा पनि थुप्रै उदाहरणीय कामहरू भएका छन् ।

० राजविराज नगरपालिकाका मुख्य समस्या के छन् ?

— राजविराज नगरपालिकाको सबभन्दा ठूलो समस्या ल्याण्डफिल साइडको हो । यसैगरी, यहाँ अतिक्रमित जग्गालाई अतिक्रमणमुक्त गर्नुपर्ने छ । यहाँ लामखुट्टे पनि एउटा समस्या थियो । तर, सरसफाइ गर्दा त्यो समस्या पनि समाधान हुने क्रममा छ ।

० यस वर्षको बजेटमा के–के प्राथमिकतामा छन् ?

— हामीले पहिलाको वर्षमा जुन कामहरू ग¥यौं, त्यसकै कतिपय निरन्तरता छ भने कतिपय नयाँ योजनाहरू पनि ल्याएका छन् । जस्तै, सडक निर्माणका कामहरू छन् त्यसमा निरन्तरता दिइरहेका छौं । गत वर्ष गर्न बाँकी रहेका कामहरूलाई पूरा गर्नेतर्फ लागेका छौं । सबभन्दा ठूलो समस्या के देखियो भने भौतिक पूर्वाधारका काम मात्रै गरेर विकास भएको देखिने अवस्था छैन । अरू पनि क्षेत्रमा काम गर्नुपर्ने हुन्छ । अहिले तत्काल देखिएका समस्याहरू समाधान गर्नेतर्फ लागेका छौं । जस्तै, स्वास्थ्य, शिक्षा, कृषि लगायतमा पनि हामी सुधारका लागि योजनागत रूपमा कामहरू अगाडि बढाएका छौं ।

० महिलाहरूका लागि के योजना ल्याउनुभएको छ ?

— महिलाहरूका लागि १० प्रतिशत बजेट छुट्याइएको छ । यसमा निराशाजनक कुरा के छ भने अहिले हामीलाई काम गर्नका लागि पर्याप्त कर्मचारीहरू छैन । कर्मचारी अभावका कारणले हामीलाई काम गर्न अप्ठ्यारो भइरहेको छ ।

० राजविराज नगरपालिकाका जनता स्थानीय सरकारको कामबाट कतिको सन्तुष्ट छन् ?

— हामीले गरेको कामबाट यहाँका जनता सन्तुष्ट हुने अवस्था छैन । यहाँ धेरै आकांक्षा, अपेक्षा र सपनाहरू रहेको छ । अहिलेको समय भनेको सुरूवाती अवस्था नै हो । यसभन्दा अगाडि जुन किसिमको अवस्था थियो त्यसलाई सुधार गर्दै जाँदा जनताले पूर्णरूपमा सन्तुष्टि महसुस गर्न सकेका छैनन् । पहिलादेखि नै बिग्रेका संरचनालाई टालटुल गरेर जाने अवस्था छैन । तैपनि विभिन्न अभावका कारण पनि हामीले आफ्नो हिसाबले राम्रै काम गरिरहेका छौं ।

० भनेपछि अहिलेसम्म जनता सन्तुष्ट छैनन् ?

— जनता एकदमै असन्तुष्ट नै छन् भन्ने कुरा होइन । तर, स्वाभाविकरूपमा जुन किसिमका आशा र अपेक्षाहरू गरिएका छन्, समृद्धि र विकास खोजेका छन् त्यो कुरा तत्कालै हुँदैन । त्यसका लागि नीतिगतरूपमा काम गर्नुपर्ने हुन्छ । जसले अतिक्रमण गरेका छन्, त्यो हटाउन जाँदा तिनीहरूलाई पीडा भएको छ । नभए सबै सन्तुष्ट नै छन् ।

० स्थानीय चुनावपछि सिंहदरबार गाउँ–गाउँमा भनिन्थ्यो, राजविराज नगरपालिका जनताले महसुस गरेका छन् ?

— राजविराज नगरपालिकामा सान्दर्भिक नै भन्नुपर्छ । किनभने स्थानीय सरकारबाट पाउनुपर्ने सेवा सुविधाहरू यहाँका जनताले पाएकै छन् । यहाँका जनताले आफूले चाहेका सेवा सुविधाहरू पाएपछि सरकारको अनुभूति निश्चितरूपमा नै गरेका छन् ।

० विपक्षीहरूको भूमिका कस्तो छ ? 

— यस नगरपालिकामा विभिन्न वार्डहरूमा विभिन्न पार्टीहरूबाट आएपनि जनप्रतिनिधि भएपछि हामी कुनै पार्टी विशेषको नभई विकास पार्टीका हौं भन्ने भावना राखेका छौं । हामीलाई जनताले विकास गर्नका लागि पठाएका हुन भनेर सबैसँग सहकार्य गरेर नै हामी काम गरिरहेका छौं । कसैलाई काखा वा पाखा गरेका छैनौं । त्यसैले यहाँ कुनै किसिमको विवाद वा अवरोध आएको छैन ।  

० तपाइँहरू आफ्नो कार्यकालमा राजविराज नगरपालिकालाई कस्तो बनाउनुहुन्छ ?
— हामीले आफ्नो कार्यकालमा स्वास्थ्य, शिक्षा, खानेपानी, सडक, कृषिको क्षेत्रमा उल्लेखनीय काम गर्नेछौं ।

० जसरी शीतलहरका कारण प्रत्येक वर्ष ज्यान गुमाउनेपर्ने देखिन्थ्यो, त्यसबाट बच्ने पूर्वतयारी के छ ? 

— यो हाम्रो लागि साह्रै दुःख र पीडादायी कुरा हो कि नेपालमा एकदमै जाडो हुने वा हिउँ खस्ने ठाउँमा चिसोका कारण मान्छे मर्दैन तर मधेशमा मान्छे मर्छन् । त्यसको एउटा कारण चेतनाको कमी पनि हो । यसका लागि हामी गत पनि पूर्वतयारी गरेका थियौं । त्यसबाट जोगिनका लागि हामीले दाउरा, न्यानो लुगा बाँड्नका लागि पूर्वतयारी अवस्थामा छौं ।

० अन्त्यमा के भन्न चाहनुहुन्छ ? 

— कुनै पनि काम गर्दा मान्छे छायाजस्तै समस्या पनि पछि पछि आइरहन्छ । त्यसबाट डराउनु हुँदैन, आफूले गर्ने काम आफ्ना लक्ष्यका साथ अगाडि बढ्नुपर्छ । जन–जनको हित गर्नका लागि दुनियाले के भन्छ भन्ने कुराको ख्याल नगरी आफूले गर्ने काम इमान्दारीपूर्वक गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया