मधेशमा सुरक्षा चुनौती (सम्पादकीय)

सम्पादकीय

    २०७५ साल पुस ६ गते शुक्रबार ।   

पछिल्लो समय भइरहेका आपराधिक घटनाहरूले मधेशमा सुरक्षा चुनौती थपिँदै गएको देखिएको छ । केही समययता शृंखलाबद्धरूपमा भएका अपराधिक घटनाले मधेशको सुरक्षा व्यवस्थापनमा गम्भीर हुनुपर्ने संकेत दिएको हो । हालै पर्साको जगरनाथपुर गाउँपालिका–१, पाडेपुरमा रहेको प्रहरीचौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक विसुनदेवा यादवसहित तीनजनालाई कुटपिट गरी तस्करहरूले बन्दुक लुटेका छन् । कुटाइले प्रहरीजवान अर्जुन चौधरी गम्भीर घाइते भएका छन् ।

सीमावर्ती पाडेपुर गाउँबाट हुने गरेको पेट्रोल र डिजेलको तस्करी रोक्न खोज्दा तस्करहरू प्रहरीमाथि नै जाइलागेका थिए । यो त पछिल्लो घटनाको एउटा नमुनामात्र हो । यसभन्दाअघि पनि मधेशका विभिन्न जिल्लामा यस्ता अपराधिक घटना ठूलो संख्यामा भइरहेका छन्  । गत मंसिर २४ मा सुनसरीको कोसी गाउँपालिका–७, मुसहर बस्तीमा डकैती गर्न आएको अज्ञात समूह र प्रहरीबीचको झडपबाट एक भारतीयको मृत्यु भयो । त्यसअघि, गत मंसिर ७ मा कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा गोली प्रहारबाट स्थानीय दीपेन्द्रकुमार चौधरीको हत्या भयो ।

त्यसैगरी, गत मंसिर ५ गते सुनसरीको दुहबीस्थित जयबाबा इँटा उद्योगका म्यानेजर फिदा हुसेनको गोली प्रहारबाट हत्या भयो । ‘मर्निङवाक’मा गएको समयमा मोटरसाइकलमा आएका दुईजना अज्ञात व्यक्तिले हुसेनमाथि गोली प्रहार गरेका हुन् । एउटा घटना सेलाउन नपाउँदै अविच्छिन्नरूपमा भइरहेका घटनाले नागरिकको जीउधनको सुरक्षामा चुनौती थपिँदै गएको देखिएको छ ।

एकातिर खुला सीमाका कारण भारतीय अपराधीको प्रवेश सहज देखिनु र अर्कोतिर सुरक्षा निकायमाथिसमेत आक्रमण हुनुले मधेशको सुरक्षा व्यवस्थामा थप गम्भीर र चनाखो बन्नुपर्ने अवस्था देखिएको छ ।
देशको परिस्थितिलाई नेपाली सेनालगायत अन्य सुरक्षा निकायले पनि नजिकबाट सूक्ष्म अध्ययन गर्नु, सुरक्षा चुनौतीका बारेमा विश्लेषण गर्नु र सरकारलाई उत्पन्न चुनौतीपूर्ण रिपोर्ट गर्नुले देशका कठिन सुरक्षा चुनौती रहेको अर्थ लाग्छ । विभिन्न राजनीतिक माग राखेर केही भूमिगत सङ्गठन बेलाबेला देखापरिरहेका छन् । खासगरी यस्ता समूहको कतिपय उद्देश्य सामान्य जनतामा डर, त्रास उत्पन्न गरेर अपहरण, फिरौती, चन्दा असुली तथा लुटपाट रहेको देखिन्छ । कमजोर सीमा सुरक्षा र खुल्ला सिमानाको फाइदा उठाउँदै विभिन्न समूहले साना हतियार र विस्फोटक पदार्थ सजिलै ल्याउनने गरेका छन् ।

राष्ट्र, लोकतन्त्र, संविधान र जनता विरोधी अपराधिक समूहले मधेशमा अखाडाका रूपमा काम गरिरहेका छन् । भारतसँगको खुला सिमानाको फाइदा उठाएर अपराधीहरू एकले अर्को देशमा आश्रय लिने गरेका छन् । एउटा देशमा अपराध गरेर अर्को देशमा लुक्न त्यस्ता अपराधीलाई सजिलो भएको छ । दुवै देशका सुरक्षा निकायले समन्वय गरेर अपराधीहरूको खोजबिन गरेर पक्राउ गर्न नसक्ने हो भने स्थिति भयावह बन्दै जाने देखिन्छ । नेपालका अपराधीहरूले भारतीय भूमि प्रयोग गरिरहेका छन् । नेपाली अपराधीलाई भारतबाट पक्राउ गर्न नेपाल सरकारले भारत सरकारलाई विशेष अनुरोध गर्नुपर्छ ।

नेपाली नेता र सरकारले अन्य विभिन्नखाले सन्धि, सम्झौता र सहमति गर्न सक्छन् भने अपराधीहरू पक्राउ गर्नका लागि किन अनुरोध नगर्ने ? तसर्थ, यस्ता अपराधिक घटना रोक्ने, शान्ति, सुरक्षा स्थापित गर्ने तर्फ सुरक्षा निकायको ध्यान दिनुपर्छ । अपराधी जोसुकै भए पनि तिनीहरूलाई पक्राउ गरेर कारबाही नगर्ने हो भने शान्ति सुरक्षाको सवालमा गम्भीर प्रश्न उठ्ने छ । तसर्थ, कुनै पनि हालतमा अपराधीलाई पक्राउ गरेर कारबाहीमा ल्याउनुपर्छ ।

आन्तरिक सुरक्षामा शान्ति तथा अमनचयन कायम राख्न गृह मन्त्रालय मुख्य भूमिकामा रहेको हुन्छ । गृह मन्त्रालय अन्तर्गत नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग छन् र तिनको मुख्य भूमिका शान्तिकालीन समयमा आन्तरिक शान्ति सुरक्षा प्रभावकारी बनाउनु अति आवश्यक छ ।

तपाईको प्रतिक्रिया