न्यानो खोज्दै मधेश (सम्पादकीय)

सम्पादकीय

    २०७५ साल पुस १३ गते शुक्रबार ।   

मधेशमा शीतलहरको प्रभाव सुरू भएको छ । बालबालिका, वृद्धवृद्धा, असहाय र गरीबमाथि बढी प्रभाव पार्ने तथा कतिपय अवस्थामा जीवन हरणसमेत गर्ने शीतलहरबाट जोगिन जरूरी छ । मधेशमा वर्षेनी सयौंको शीतलहरकै कारण अकालमै मृत्यु हुने गरेको छ । तर मधेशमा घट्दो तापक्रमसँगै उत्पन्न शीतलहरका कारण मानिसले ज्यान गुमाइरहँदा प्रदेश र केन्द्र सरकार भने सत्ता र स्वार्थको ‘न्यानो’ मा मस्त छ ।

कुहिरो र शीतसँगै चल्ने चिसो पश्चिमी हावाका कारण स्थानीयको दैनिकी पनि सुस्त हुँदै गएको छ । बजार तथा कार्यालयहरूमा सर्वसाधारणको उपस्थिति पातलिएको छ । सरकारी कार्यालयहरूमा सेवाग्राहीको संख्या घटेको छ । सार्वजनिक स्थलहरूमा मानिसहरू आगो तापिरहेका छन् ।

प्रदेश २ मा करीब ४८ प्रतिशत जनता गरीबीको रेखामुनि रहेका कारण शीतलहरले ज्यान गुमाउनुपर्ने अवस्था आएको छ । नत्र किन माइनस डिग्री तापक्रममा पनि कर्णालीमा मान्छे मरेको खबर आउँदैन ? तसर्थ शीतलहरको दीर्घकालीन समाधान आर्थिक समृद्धि नै हो । यसकारण राज्य पक्षको उदासीनताका कारण पनि जाडोबाट मधेशीको मृत्यु भइरहेको छ । जाडो आइरहेको कुरा सबैलाई थाहा हुन्छ तर मान्छे मरेपछि मात्रै राज्य जाग्ने प्रवृति रहेसम्म न्यानोको अभावमा मधेशी मरिरहन्छ ।

शीतलहरको प्रकोप हुँदा पनि प्रदेश सरकार र निर्वाचित जनप्रतिनिधिले समेत केही गर्न नसक्नु उनीहरूको अकर्मयण्ता मात्र होइन, जनताप्रति बेइमानी पनि हो । चुनावका बेला गर्ने खर्चको थोरै अंश पनि यतिबेला दिने हो भने थुप्रै पीडितले राहत पाउन सक्छन् । तर नेताहरूको भोटमुखी रवैयाले जनताले रहातको सट्टा आहत पाउने गरेका छन् ।

मधेशका सम्पूर्ण नागरिकको अधिकारको कुरा गर्ने, संरचना र सीमामाथि अविरल बहस चलाउने, जागरण अभियान र स्वतन्त्रताको नाममा लाखौं खर्च गरी बस्ने नेतृत्ववर्गहरू वर्षमा एउटा कम्बल बाँड्ने वा सामान्य सक्रियतासमेत नदेखाउनु चिन्ताको विषय हो ।

यस्ता गहन विषयमा मधेशकेन्द्रित दल र तिनका नेताहरूले विशेष ध्यान दिनुपर्नेछ ।

शीतलहर, बाढी, आगलागी र खडेरी हुने क्षेत्रको पहिचान गरी त्यहाँ त्यसको रोकथाम र त्यसबाट बच्न सक्ने उपायसम्बन्धी संयन्त्रको जानकारी सरोकारवालाहरूलाई समयमै दिनुपर्छ । राज्य र सरोकारवालाहरू उचित समयमा क्रियाशील भई आवश्यक पूर्वाधारको निर्माण र जोखिम न्यूनीकरणका प्रयासहरू गर्नुपर्ने हुन्छ ।

मधेशका राजनीतिक दलका नेताहरू ठूलो–ठूलो भाषण गर्ने, ठूला दलका नेताहरूलाई गाली गर्ने, मधेशलाई अधिकार सम्पन्न बनाउनेलगायतका कुराहरू गर्नेहरू अहिले मधेशीको ज्यान जोखिममा हुँदा मधेशीलाई शीतलहरबाट जोगाउनुको साटो आफनै तालमा नाचिरहेको देख्दा उदेक लागेको छ ।

तपाईको प्रतिक्रिया