दुधमति पोखरीमा नमुना पर्यटकीयस्थल बन्छ : योगेन्द्र पजियार

नगरप्रमुख, क्षीरेश्वरनाथ नगरपालिका, धनुषा

स्थानीय सम्वाद्

    २०७५ साल पुस १३ गते शुक्रबार ।   

क्षीरेश्वरनाथ नगरपालिका नेपाल सरकारद्वारा घोषणा गरिएको ७२ नगरपालिकामध्ये एक हो । यो नगरपालिका मिती २०७१ बैशाख २५ गते साविकको ४ वटा गा.वि.स. जस्तै रमदैया भवावडी, सखुवा महेन्द्रनगर, हरिहरपुर र दिगम्बरपुर गरी मिलाएर घोषणा गरिएको नगरपालिका हो ।
यो नगरपालिकाको क्षेत्रफल ५६.७८ वर्ग किलोमीटर र कुल जनसंख्या ४३७४५ मध्ये पुरूषको संख्या २२३९७ र महिलाको संख्या २१३४८ हो । यो नगरपालिकामा घरघुरी संख्या ७९२५ रहेको छ । यो नगरपालिको पूर्वी सिमानामा भुतही पटेर्वा र धनुषाधाम नगरपालिका पर्दछ भने पश्चिम सिमानामा मिथिला नगरपालिका र शान्तिपुर गा.वि.स. पर्दछ । नगरपालिकाको सन्दर्भमा मधेशवाणीले गरेको कुराकानीको सम्पादित अंशः

० तपाई नगरप्रमुखको रूपमा निर्वाचित भएदेखि के–कस्ता कामहरू गर्नुभयो ?

— गत वर्षको बजेटमा हामीले सबै वडाहरूको योजना छनौट ग¥यौं । वडास्तरीय योजनाहरूमा ४५ लाख विनियोजन गरेका थियौं । बाँकी योजनाहरू हामीले नगर सभा गरेर पारित ग¥यौं । ठूल्ठूला योजनाहरू जस्तो पोखरीहरूको संरक्षण, क्षीरेश्वरनाथ मन्दिरको संरक्षण र सम्वद्र्धन, विभिन्न वडाहरूमा पानी निकासका लागि नालाहरूको निर्माण लगायतका योजनाहरू राखेका थियौं । यस्तै, कृषि क्षेत्रमा विभिन्न कार्यक्रमहरूका लागि पनि बजेट विनियोजन गरेका थियौं । शिक्षामा नियमावलीहरू बनाएर स्तरोन्नतिका लागि कार्यक्रमहरू समावेश भएको छ ।

० जनप्रतिनिधिको रूपमा काम गरिरहँदा कति चुनौती महसुस गरिरहनुभएको छ ?

— काम गरिरहँदा विभिन्न चुनौतीहरू आउनु स्वाभाविक नै हो । किनभने काम गर्नका लागि हामीसँग चाहिने आवश्यक कर्मचारी छैन । त्यसले गर्दा कर्मचारी अभावका कारण केही चुनौतीहरू छन् । यस नगरपालिकामा १० वटा वडाहरू छन्, हामीले कुनै निर्णय गर्दा बहुमतीय भन्दा सर्वसम्मतबाट नै गरिरहेका छौं । यहाँ सजिलो तरिकाले काम अगाडि बढाइरहेका छौं । चुनौती भनेको कर्मचारी अभाव मात्र हो ।

० भनेपछि विपक्षीहरूको अवरोध छैन ?

— यहाँ विपक्षीको कुनै अवरोध छैन । १० वटा वडामध्ये आठ वडामा कांँग्रेसले नै जितेको छ र दुई नेकपाले जितेको छ । त्यसैले हामीले यहाँ कुनै निर्णय गर्दा उहाँहरूलाई पनि मिलाएर सर्वसम्मतले नै काम अगाडि बढाइरहेका छौं ।

० जनताले स्थानीय सरकारबाट पाउनुपर्ने सुविधाहरू पाइरहेका छन् त ?

— जनताले स्थानीय सरकारको महसुस गरेका छन् । हामीले गरेका कामहरूको बारेमा जनतालाई भेला गराएर उनीहरूले सेवा सुविधा पाइरहेका छन् कि छैनन् भन्ने सोधपुछ गर्ने गरेका छौं । जनताले काम भइरहेको भन्ने प्रतिक्रिया दिने गरेका छन् । व्यवस्थित रूपमा काम भइरहेको हामीले प्रतिक्रिया पाएका छौं ।

० सिंहदरबार गाउँ–गाउँमा भन्ने नारा जनताले महसुस गरेका छन् ?

— सिंहदरबार गाउँ–गाउँमा भनेको आफैले निर्णय गरेर आफ्नो गाउँ–ठाउँमा विकास गर्ने नै हो । तथापि, तीन तहको सरकार भएपछि केही कुराहरूमा विवाद देखिएको छ । तर पनि स्थानीय तहबाट जनताले पाउनुपर्ने सेवासुविधाहरू पाइरहेका छन् । हामीले पाएका अधिकार क्षेत्रभित्रका सबै काम गर्न पाएका छौं । त्यसबाट जनता लाभान्वित छन् ।

० प्रदेशभन्दा बढी अधिकार स्थानीय तहलाई दिइएको भनिन्छ, के भन्नुहुन्छ ?

— हो, वास्तवमा प्रदेशभन्दा स्थानीय सरकारलाई बढी अधिकार दिइएको मैले पनि महसुस गरेका छौं । हाम्रा वडाअध्यक्षहरूलाई पनि पहिलाभन्दा धेरै अधिकार छन् । विकासका कामको क्षेत्रमा हेर्दा पनि हामीले आवश्यक्तानुसार कार्यहरू गरिरहेका छौं ।

० तर, प्रदेश मातहत स्थानीय सरकार हुनुपर्ने कुराहरू उठ्दैछन् नि ?

— यो त छलफलको विषय हो । विवादास्पद कुराहरूलाई मिलाएर तीनै तहबीच छलफल हुनु आवश्यक छ । अहिले प्रदेश र स्थानीय सरकारको कतिपय अधिकारबारे नै अन्योलता देखिएको छ । प्रदेशले गर्ने काम र स्थानीय तहले गर्ने कामहरू स्पष्ट देखिएको छैन । अहिले पनि धेरै मान्छेमा प्रदेश सरकार भनेको के हो लगायतका अन्योलता देखिएको छ । त्यसैले, यस्ता अन्योलताहरू हटाउनुपर्ने हुन्छ ।

० तपाइँहरूले गर्ने काममा प्रदेश सरकारसँग सहकार्य हुन्छ ?

— हामी गर्ने कामहरूमा प्रदेश सरकारबाट खासै सहयोग पाएका छैनौं । प्रदेश सरकारले हामीलाई जम्मा ३० लाख रूपैयाँ दिएको छ र एक करोड सशर्त दिएको हो । तर, त्यसको कार्यक्रमहरू अहिलेसम्म हामीले पाउन सकेका छैनौं । प्रदेश सरकारका धेरै कानूनहरू अहिलेसम्म बनेको छैन ।

० चालु आर्थिक वर्षमा के–के प्राथमिकतामा राख्नुभएको छ ?

— हामीले बाटोघाटोलाई मुख्य प्राथमिकतामा राखेका छौं । प्रत्येक वडामा सडकको दुईतिरै पक्की नाला बनाउने र विस्तारै कालोपत्रे नभए ढलान गर्ने योजना रहेको छ । त्यसपछि दुधमति पोखरीमा घाट निर्माण गरेर नमुना पर्यटकीयस्थल बनाउने योजना छ । त्यसका लागि हामीले एक करोड रूपैयाँ विनियोजन गरेका छौं । त्यसपछि मन्दिर, मस्जिद, विद्यालय बनाउने योजना पनि छ । त्यसका साथसाथै कृषितर्फ नगरपालिकाबाट ३५ लाख रूपैयाँ विनियोजन गरेका छौं । त्यसबाट कृषिका विभिन्न कार्यक्रमहरू जस्तै, बीउ वितरण गर्ने, कृषकहरूलाई तालिम दिने लगायतका छन् । त्यस्तै, लक्षित वर्गहरूलाई विभिन्न किसिमका स्वरोजगार कार्यक्रमहरू पनि राखेका छौं । यसैगरी, स्वास्थ्य क्षेत्रमा विभिन्न कार्यक्रमहरूलाई प्राथमिकतामा राखेका छौं ।

० क्षीरेश्वरनाथ नगरपालिकालाई आत्मनिर्भरता बनाउने आधार के छ ?

— यहाँ तरकारी खेती गरेर आत्मनिर्भर बन्न सकिन्छ । यहाँ तरकारी खेती राम्रोसँग गरेर उत्पादन बढाउन सक्यौं भने आम्दानीका स्रोत बढ्छन् । त्यस्तै, यहाँ पशु बजार पनि ठूलो छ । यहाँ पर्यटनस्थलको रूपमा विकास गरेर पर्यटकलाई लोभ्याउन सकिन्छ ।

तपाईको प्रतिक्रिया