मधेशको माग पूरा गर्नु ओलीका लागि अवसर हो : सन्तोष मेहता

प्रवक्ता, राष्ट्रिय जनता पार्टी नेपाल

अन्तर्वार्ता

    २०७५ साल पुस १३ गते शुक्रबार ।   

० संयोजक राजेन्द्र महतोको अध्यक्षतामा पहिलो बैठक सम्पन्न भयो, तर त्यसमा महाधिवेशन तयारी बाहेक अन्य कुनै मुद्दाबारे कुनै निर्णय आएन नि ?

— पार्टी एकता भए पछिको महत्वपूर्ण कार्य भनेकै एकताको महाधिवेशन सम्पन्न गर्नुपर्ने हो । त्यसकारण महाधिवेशन सम्बन्धि निर्णय हुनु नै महात्वपूर्ण निर्णय हो । पार्टी एकता पश्चात हाम्रो माथि आन्दोलन गर्ने र निर्वाचनमा सहभागी हुने महत्वपूर्ण कार्यभार थियो ति सबै सम्पन्न भएका छन् । अबको महत्वपूर्ण कार्य भनेकै महाधिवेशनको दृष्टिकोणले संगठन र कार्यक्रमको आयोजन गर्नु हो जुन हामीले निर्णय गरेका छौं । जसअनुरूप माघ १५ गतेसम्म साधारण र सक्रिय सदस्यता वितरणको निम्ति निर्धारित गरिएको छ, त्यसैगरी पौष १८ गतेसम्म जिल्लास्तरीय बैठक र पौष २५ गते प्रत्येक वडास्तरीय बैठक गरी सदस्यता वितरण लगायतका निर्णयहरू गर्न निर्देशन गरिएको छ । यसको अर्थ संगठन नभएका वडाहरूमा वडास्तरीय तदर्थ समितिहरू पनि बनाउने हो । यदि तपाइँको आशय राष्ट्रका वा मधेशका अन्य समसामयिक मुद्दाहरूको विषयमा हो भने त्यस्ता विषयहरू उपर पनि छलफल भएका छन् । संसद अधिवेशनमा पनि संयोजकले त्यस्ता थुप्रै विषयहरू उपर आफ्ना धारणाहरू सार्वजनिक गरिसक्नुभएको छ । उक्त विषयहरू एवं मुद्दाहरू पनि राजपाको हालको ताजा मुद्दाहरू हुन् ।

० महतो संयोजक भएदेखि राजपा अध्यक्षमण्डल बीचको मनमुटाव झनै बढेको हो ? अनिल झाले किन बैठक बहिष्कार गर्नुभयो ?

— मनमुटाब बढेको जस्तो मिडियामा मात्रै बढी देखिन्छ । जब ६ जना अध्यक्षमण्डलको समितिमा तत्कालीन संयोजक श्रदेय महन्थ ठाकुर समेत ५ जना मिलेर संयोजक परिवर्तन गर्ने निर्णय गरेपछि कसरी मनमुटाब बढेको भन्ने बरू अझ एकाकार भएको बुझ्नु पर्दछ । हुन त पार्टी सिस्टममा छलफल हुनु, बहुमत अल्पमत हुनु, सन्तुष्ट असन्तुष्ट हुनु, पक्ष बिपक्ष हुनु निरन्तर चलिरहने प्रक्रिया हो । आफ्ना कुराहरू बहुमत वा सर्वसम्मत नहुन्जेलसम्म निरन्तर लागू गराउने प्रयास गरिरहनु र नेतृत्वले सर्वसम्मति वा बहुमतले गरेको निर्णय सबैले लागू गर्नु गराउनु नै पार्टी भित्रको लोकतन्त्र र पार्टी सिस्टम पनि हो । त्यसो हुन नसके अराजकता निम्तिन्छ । जहाँसम्म अध्यक्षमण्डलका सदस्य अनिल झा बैठक बहिस्कार गरेको तपाइँको प्रश्न छ, त्यस्तो आधिकारिक रूपमा मैले थाहा पाउन सकेको छैन । उहाँले विज्ञप्ति पनि निकाल्नु भएको छैन र कहिँकतै आधिकारिक रूपमा बहिस्कार गरेको मलाई वा पार्टीलाई जानकारी छैन । त्यसकारण उहाँले बहिस्कार गरेको भन्न मिल्दैन र बहिस्कार गर्ने कुनै त्यस्तो कारण पनि छैन । हो, उहाँ अनुपस्थित हुनुभएको सत्य हो तर के कति कारण अनुपस्थित हुनु भएको हो त्यसको सत्यतथ्य त उहाँले नै बताउन सक्नुहुन्छ ।

० अध्यक्षमण्डलका नेताहरू बीचको मनमुटावको मुख्य कारण के हुनसक्छ ?

— मनै त हो, एउटै व्यक्तिको मन त छिन÷छिनमा परिवर्तन हुन्छ । हामी कहाँ अध्यक्षमण्डलमा ६–६ जना छुट्टाछुट्टै पार्टीको पावरफुल नेतृत्व गरेर आउनु भएका नेताहरू अध्यक्ष मण्डलमा हुनुहुन्छ । त्यसकारण अलि अलि समस्या भएको हो । राजपा नेतृत्वसँग केवल दुइटा मात्र विकल्प छ । एउटा, सबै सँगै मिलि पार्टी बनाउने अर्को सबै सँगै समाप्त हुने । अरू बाटा र बिकल्प छैन । हामीले दुई टाउके चराको कथा सुनेका थियौं । जहाँ एउटा टाउकोले अर्को टाउकोसँग इष्र्या गर्दा त्यो चराले ज्यान गुमाउनु परेको थियो । राजपा पनि त्यो चरा जस्तै ६ टाउके हो । त्यसैले सबै अध्यक्षमण्डलका सदस्यहरूबीच अझ मजबुत एकरूपताको आवश्यकता छ । एकअर्कासंग इष्र्या गरे हविगत नराम्रो हुन् सक्छ ।

० प्रधानमन्त्रीले एक साता समय माग गर्नुभएको छ, यसलाई कसरी लिनुभएको छ ?

— के पी ओली प्रधानमन्त्री भएपछि हामीसँग दस पटकसम्म भेटघाट गरेको छ र सधैं माग पूरा गर्ने आश्वाशन दिनु हुन्छ । त्यसैको निरन्तरता स्वरूप पुनः एकपटक भेटघाट भएको हो । सधैं उहाँले माग पूरा गर्ने कुरा गर्नुहुन्छ, हामी सधैं उहाँको कुरालाई सकारात्मक लिने गरेकाछौं । मधेशको माग पूरा गर्नु उहाँका लागि अवसर पनि हो, हाम्रो देश एकीकृत रहिरहन र वास्तविक शान्तिको निम्ति मधेशको माग पुरा गर्नु यो देश र शासक दुबैको लागि अवसर हो । उहाँले दिनुभएको एक साताको बचनप्रति उहाँ कतिको प्रतिबद्ध हुनुहुँदो रहेछ चाँडै थाहा हुनेछ । स्मरण रहोस् के पी ओली २ तिहाई सरकारको प्रधानमन्त्री हुनुहुन्छ, आशा गरौं अब यतिका शक्तिशाली व्यक्ति भद्दा मजाक गर्नु हुन्न । सायद जीवनको अन्तिम समयमा जोडी खोज्नुहुन्नहोला । सांसद रेशम चौधरीको रिहाई एवं आन्दोलनकारी उपर लगाइएका मुद्दा फिर्ता लगायत मधेशले तीनवटा राजनीतिक एजेन्डाहरू पूरा गराउने अपेक्षा राखेको छ । पहिलो, मधेशी समुदायको पहिचानको संवैधानिक ग्यारेन्टी र मधेशी पहिचानको स्वायत्त प्रदेश । दोस्रो, जनसंख्याको आधारमा राजनीतिक प्रतिनिधित्व । तेस्रो राज्यका महत्वपूर्ण निकायमा अर्थपूर्ण समावेशी । राज्यका महत्वपूर्ण निकाय भनेको नीति–निर्माण तहको प्रशासन संयन्त्र, न्यायालय र सुरक्षा निकाय÷सेना र मधेशी पहिचानसहितका संघीयता अर्थात् मधेशका जिल्लाहरू मात्रका दुई प्रदेश मधेशीको अपरिवर्तनीय एजेन्डा बन्न पुगेको छ । के ओली सरकार मधेशको यस्ता माग सुन्न र पुरा गर्न तयार छ ? छैन भने हाम्रो देशको समृद्धि र शान्ति सम्भव पनि हुन्न ।

० यो एक सातापछि राजपाको रणनीति के हुनेछ ? समर्थन फिर्ता लिन्छ ?

— के समर्थन फिर्ता गरेर सबै माग पूरा हुन्छ त । कसैले ग्यारेन्टी गर्न सक्छ । हाम्रो समर्थन संविधान संशोधनको निम्ति हो सरकारको नीति कार्यक्रम प्रति होइन । एक सातापछि सरकारले केही नगरे हामी पुनः दबाब सिर्जना गर्ने छौं । सायद यसपछि सरकारलाई नैतिक दबाब पनि पर्नेछ । अहिलेको समयमा मेरो विचारमा लबिङ्ग र सरकारमाथिको दबाब नै महत्वपूर्ण पक्ष हो । समय आएपछि सदन र संघर्ष दुवै मोर्चाबाट सरकारमाथि राजपाले दरिलो प्रहार गर्नेछ । जनता जनार्दन हुन् जनताले चाहे जस्तो अवस्था पनि आउन सक्छ, राजपा जनताको वास्तविक प्रतिनिधि हो ।

० राजपा नेपाल अहिले के गर्दैछ ?

— राजपा आज पनि आन्दोलनमा नै रहेको छ । हामीले निर्वाचनहरूलाई आन्दोलनकै रूपमा लिएका थियौं । आन्दोलन भनेको केवल सडकमा टायर बाल्ने, नाराबाजी गर्ने, ढुंगामुढा गर्ने मात्रै होइन । हामी शान्तिपूर्ण आन्दोलन गर्दै सरकार समक्ष हाम्रा मागहरू राखेका छौं ।

० तपाइँहरूको मागप्रति सरकार कतिको गम्भीर छ ?

— सरकारको रवैयाप्रति हामी सन्तुष्ट छैनौं । हाम्रा जे अपेक्षाहरू छन् त्यो पूरा भइरहेको अवस्था छैन । सरकारबाट मधेशका अधिकारहरू सुनिश्चि भएनन् भने मधेशमा उठिरहेको अलगाववादी आवाजहरूलाई बल पुग्नेछ । मधेशका मुद्दाहरू सम्बोधन नभए ‘मधेश बेग्लै देश’ को मुद्दाहरू पनि उठिरहेको छ । यस्ता अलगाववादीहरूलाई निरूत्साहित पार्न मधेशको मुद्दाहरू सम्बोधन गर्नुको विकल्प छैन । यदि मधेशका मुद्दालाई यस्तै बेवास्ता गर्दै जाने हो भने देश विखण्डन तर्फ जान्छ । हामी यही देशभित्र रहेर आफ्ना मागहरू सम्बोधन गराउन चाहन्छौं । हामी कुनै पनि हालतमा विखण्डन चाहेका छैनौं । तर, जसरी हाम्रा मागहरूलाई बेवास्ता गरिँदै छ त्यसले अलगाववादीलाई नै बल पु¥याइरहेको छ ।

० सरकारबाट समर्थन फिर्ता लिने विषयमा राजपाभित्र दुई मत देखिन्छ नि ?

— कुनै दुईमत छैन । हामी आफ्नो मागहरूमा अडिग छौं । हामीले यो सरकारलाई सरकार चलाउन वा गिराउन समर्थन गरेका होइनौं । हामीले संविधान संशोधनका लागि दुई तिहाई पु¥याउन प्रधानमन्त्री आफ्ना समर्थन दिएका थियौं । हामी संसदमा विपक्षीको कुर्सीमा बसे तापनि संविधान संशोधन गर्न दुई तिहाई मत पु¥याउन सरकाको समर्थन गरेका हौँ तर सरकार चलाउन, बनाउन गरेका होईनौं । त्यसैले दुबै पक्षको मतमा सत्यता रहेको छ । हामी समर्थन फिर्ता लिन्छौ तर यसको अर्थ सरकार गिराउनु, ढाल्नु भने होइन ।

० संयोजक परिवर्तन पछि राजपाभित्रको उथलपुथल के को लागि ?
— यसलाई सामान्य रूपमा नै लिनुपर्ने हुन्छ । लामो समय पश्चात संयोजक परिर्वतन हँदा केहि सहमति विमति हुनु सामान्य कुरा नै हो । संयोजक परिवर्तन गर्ने विधानमा नै उल्लेख छ । तर, यसप्रति केही असन्तुष्टिहरू देखा पर्नु यो लाकतान्त्रिक प्रक्रिया हो । लोकतान्त्रिक पार्टीमा सबैले आआफ्ना फरक मतहरू राख्न पाउँछन् ।

० के अबको एक महिनामा पुनः संयोजक परिर्वतन होला त ?
— यसमा कुनै निर्णय अहिले नै दिन सकिदैन । पहिलाकै जस्तो लम्बिन पनि सक्छ र परीवर्तन हुन पनि सक्छ । संयोजकका लागि यस पछि कसको पालो हो उहाँले यदि इच्छा जाहेर गर्नुभयो भने राजेन्द्र महतोले छोड्नुपर्छ । होइन भने उहाँलाई नै महाधिशनसम्म संयोजक दिन सकिन्छ । यदि कुनै परिस्थिति विशेष हाम्रो कुनै कार्यक्रमहरू सार्वजनिक भयो भने संयोजक परिवर्तन गर्ने अवस्था आउँदैन । केही समय थपेर उहाँकै कार्यलाई निरन्तरता दिन पनि सकिन्छ ।

(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)

तपाईको प्रतिक्रिया