नगरस्तरीय लैंगिक हिंसा नियन्त्रण सञ्जाल गठन

समाचार

राकेश यादव

       

रौतहट, २५ पुस । रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ८ स्थित प्रहरी चौकी लक्ष्मीपुर बेलविच्छवाको परिसरमा आयोजित भेलाबाट लैंगिक हिंसा नियन्त्रण गर्नका लागि नगरपालिका स्तरीय लैंगिक हिंसा नियन्त्रण संजाल समितिको गठन गरिएको छ ।

महिलाप्रति हुँदै गएको विभिन्न किसिमका हिंसालाई नियन्त्रण गर्न पीडितको न्याय दिलाउने कार्यमा सहयोग पुर्याई सचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल सरकारका गृह मंत्रालयअन्तर्गत प्रहरी प्रधान कार्यलयले जारी गरेको लैंगिक हिंसा नियन्त्रण संजाल समिति गठन तथा कार्यविधि २०७५ अनुसार उक्त समितिको गठन गरिएको हो ।

समितिले नगरपालिका स्तरमा भएको महिला तथा बालबालिका प्रतिको हिंसालाई निगरानी गर्दै पीड़कलाइ कÞानूनी दायरामा ल्याउने कार्यमा प्रहरीलाई सहयोग गरिने छन् ।

जिल्लास्तरीय संजाल गठन भएपछि स्थानीय तहमा संजाल गठन गर्ने कार्य अगाडी बढ़ाइएको प्रहरी चौकीका इंचार्ज प्रहरी सहायक निरीक्षक उमेश पाण्डेयले बताएका छन् ।

कार्यविधि निर्देशिकाअनुसार नगरस्तरीय संजालको गठन गरिएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक दिनेश पौडेलको संयोजकत्वमा गठित समितिको सदस्यमा १२ जना तथा सल्लाहकारमा नगरपालिकाका उपप्रमुख रहेका छन् ।

सदस्य सचिवमा प्रहरी चौकीका इंचार्ज रहेका छन् भने समितिको सदस्यहरुमा स्वास्थ्य प्रतिनिधि सपना पटेल, नागरिक समाजबाट परमेश्वर यादव, नगरपालिकाका महिला तथा बालबालिका क्षेत्र हेर्ने नन्दकिशोर चौधरी, गैरसरकारी संस्थाको तर्फबाट नविन कुमार सिंह, शिक्षक प्रतिनिधि रविशंकर यादव, वडास्तरीय संजाल प्रतिनिधि प्रमिला देवी ठाकुर, युवा क्लब प्रतिनिधि राकेश कुमार यादव, हिंसा निगरानी समूहको तर्फबाट ममता झा, महिला सहकारी संस्थाको तर्फबाट सुमन कुमारी सिंह, स्वास्थ्य चौकीका प्रतिनिधि रीना देवी रहेका छन् ।

छलफल कार्यक्रममा सहभागी भएका नविन कुमार सिंहले रौतहटमा महिलामाथि हुने गरेको हिंसा जटिल रहेकोले यसको नियन्त्रण गर्न सबैको साझा धारणा जरुरी रहेको बताएका छन् ।

महिला तथा बालबालिकाको क्षेत्रमा कार्य गर्दै आएकी ममता झाले वर्तमान अवस्थामा महिला तथा बालिकाको सुरक्षा चुनौतीपूर्ण रहेको टिप्पणी गरिन् । उनले अशिक्षा, गरिबीको कारण बालविवाह गर्ने गरिएको जिकिर गरिन् । बाहिर हुने हिंसा सबैले देख्ने गरेको भए पनि घरभित्र हुने हिंसालाई हेर्न गाह्रो रहेको तर्क राखिन् ।

कागजमा समिति बनाइन्छ तर व्यवहारमा लागू नहुनुले तराईमा महिला तथा बालबालिका हिंसाको शिकार भैरहेको उनको कथन रहेको छ । नगरपालिकामा गठन भएपछि अब वडास्तरमा संजालको समिति गठन प्रक्रिया चाँडै नै शुरू गरिने प्रहरी सहायक निरीक्षक पाण्डेयले जानकारी गराएका छन् ।

तपाईको प्रतिक्रिया