“चौका दाऊ” सामाजिक हास्यप्रधान चलचित्र हो : पुर्णेन्दु झा

चलचित्र निर्देशक

कला/संस्कृति

    २०७५ साल पुस २७ गते शुक्रबार   

० प्रदर्शनमा आएको चौका दाऊ चलचित्रको कथावस्तु के हो ?

— चौका दाउ भन्नाले जुवाताससँग सम्बन्धित भएर आएको शब्द हो । कौडा लेख्दा चौका, पञ्जा, छक्का भन्ने दाउहरू हुन्छन् । ती सबैमध्ये चौका दाऊ सबैको राजा दाऊ हो । यो फिल्ममा चौका दाऊलाई हामीले एउटा प्रतीकको रूपमा प्रयोग गरेका छौं । चारजना छुट्टाछुट्टै उमेरका पुरूष कलाकार एकजना महिला कलाकारको पछाडि लागेका हुन्छन् । यहीबीचमा भएका विषयवस्तुलाई हामीले चलचित्रमा समेटेका छौं ।

० यो कस्तो चलचित्र हो ?

— समाजमा हुने घटनाहरू र कुरितीलाई कमेडी शैलीमा प्रस्तुत गर्ने हिसाबले हामीले यो चलचित्र निर्माण गरेका छौं ।

० तपाईंले यो भन्दा पहिले मधेशको राजनीतिलाई आधार मानेर ‘संरक्षण’ नामको चलचित्र निर्माण गर्नुभएको थियो । अहिले किन कमेडी रोज्नुभयो, तारतम्यता कसरी मिलाउनभयो ?

— मैले फरक–फरक खालको चलचित्र बनाउँछु भन्ने सोच राखेको छु । त्यसैले पहिलो चलचित्रमा राजनीतिलाई आधार बनाएर फिल्म बनाए । दोस्रो कमेडी भयो तेस्रो रोमान्टिक फिल्म निर्माण गर्ने तयारीमा छु । फरक—फरक विषयवस्तुलाई समेटेर चलचित्र निर्णय गरी दर्शकलाई मनोरञ्जन दिन म कोशिश गर्नेछु ।

० चौका दाऊ चलचित्रमा कलाकार छनोट कुन आधारमा गर्नुभएको छ ?

— कलाकार छनोट शम्मुजित बाँस्कोटा र मैले चयन गरेका छौं । चलचित्रमा राखिएका पात्रहरूलाई सुहाउँदो कलाकार हामीले छानेका छौं ।

० यो चलचित्रबाट तपाईले दिन खोज्नुभएको सन्देश के हो ?

— कुनै पनि चलचित्रको मुख्य उद्देश्य मनोरञ्जन दिनु हो । मनोरञ्जन दिइरहँदा सन्देश पनि दिन्छ फिल्मले । चौका दाऊमा मनोरञ्जनका साथ साथै समाजमा भएका कुरितिबाट समाजलाई कसरी मुक्त बनाउन सकिन्छ भन्ने सन्देश नै यो चलचित्रले दिनेछ ।

० चौका दाऊले शहरी क्षेत्रको जनजीवनको विषयलाई उठाएको हो ?

— यो फिल्मको कथावस्तु मुख्यतः काठमाडौं लगायत अन्य ठूला शहरहरू नै हुन् । काठमाडौंमा निर्माण भएका एउटा कोलनी (समाज) को प्रतिनिधि पात्रहरूलाई लिएर रमाइलो कथावस्तु बुनिएको छ ।

० यो चलचित्रलाई सेन्सरले पिजी सर्टिफिकेट दिएको सत्य हो ?

— पिजी भनेको १६ वर्ष भन्दा कम उमेरका बालबालिकाले अभिभावकसँग गएर चलचित्र हेर्नुपर्ने भन्ने खालको सन्देश दिने सर्टिफिकेट हो । चलचित्रभित्रका दुईचार वटा विषयहरू बच्चाले नबुझ्ने वा गलत किसिमबाट बुझ्न सक्ने हुन्छ भन्ने बुझाइले पिजी सर्टिफिकेट दिने गरिन्छ । यो पूर्ण पारिवारिक, सामाजिक, मनोरनात्मक, हास्यप्रधान फिल्म हो ।

० पछिल्लो समयमा कमेडी चलचित्रले नेपाली बजार ओगटेको हो ?

— पहिलेको तुलनामा अहिले कमेडी चलचित्रको निर्माण बढेको छ र बजार पनि राम्रै छ । २ घण्टा हलमा गएर रमाइलो गरौं भन्ने दर्शकको इच्छा हुन्छ कमेडी फिल्ममा रमाइलोको पाटो बढी हुन्छ । तर, कथावस्तु राम्रो छ र प्रचारप्रसार राम्रो छ भने जुनसुकै फिल्म चल्छ ।

० तपाईहरू मोफसलमा पनि प्रचारप्रसार गरेर फर्कनु भएको छ प्रतिक्रिया कस्तो पाउनुभयो ?

— हामी विभिन्न जिल्लामा पुग्यौं । मुख्य शहरहरूमा पत्रकार सम्मेलन ग¥यौं । हलबालाहरूसँग छलफल ग¥यौं । टे«लर र गीतको प्रतिक्रिया कस्तो छ भनेर बुझ्यौं । आम दर्शकको ‘रेपोन्स पोजेटिभ’ छ भन्ने हामीले बुझेका छौं । चलचित्र सफल हुन्छ भन्नेमा विश्वस्त छौं ।

तपाईको प्रतिक्रिया