द्वैध चरित्र भएका व्यक्तिहरूबाट स्वायत्त मधेशको सपना पूरा हुँदैन : भरतविमल यादव (अन्तर्वार्ता)

वरिष्ठ राजनीतिज्ञ

अन्तर्वार्ता

    २०७५ साल पुस २७ गते शुक्रबार   

० तपाइँ अहिले राजनीतिक वृत्तबाट गुमनाम जस्तै हुनुभएको छ, किन ?

— राजनीतिक समयक्रममा विभिन्न आरोह, अवरोह र अवरोध हुनु सामान्य कुरा हो । आजको जस्तो राजनीतिमा कतिसम्म ठग्न सकिन्छ, त्यस्ता मानिसहरूको बिगबिगी भएको समयमा म नैतिकता र इमान्दारिताको राजनीति गर्ने व्यक्तिले अहिलेको समयको भावमा अलि पछि परेको हुँ तर गुमनाम भएको छैन । म अहिले सक्रिय राजनीतिबाट अलि टाढा देखिएको हुँ । यसको मतलब यो होइन कि म राजनीतिबाट सन्यास लिइसकेको हुँ वा राजनीति विषयमा कुनै चासो छैन । जुन आस्था र सिद्धान्तमा अडेर म राजनीतिमा प्रवेश गरेको थिएँ, त्यसमा अडिग छु । म आफ्नो बलबुत्ताले भ्याएसम्म लागिरहन्छु ।

० तपाइँ अहिले कुनै पनि राजनीतिक दलसँग आबद्ध हुनुहुन्न ?

— हो, म अहिले कुनै पनि राजनीति संस्था वा दलसँग आबद्ध छैन । म अहिले स्वतन्त्र राजनीतिक हिसाबमा आफ्नो जीवन अगाडि बढाइरहेको छु ।

० तपाइँ राजनीतिबाट टाढिनुको कारण राजनीतिप्रति वितृष्णा हो कि ? 

— वितृष्णा त पक्कै पनि होइन । मेरो राजनीतिक इतिहास त सबैलाई थाहै होला । २०६२÷६३ को आन्दोलनको समयमा पनि मेरो राजनीतिक सक्रियता जति थियो, आन्दोलनमा जो सच्चा राजनीतिक कार्यकर्ता हुन्छन् उ अगाडि बढ्दै जान्छन । आन्दोलनपश्चात् जुन आन्दोलन हुन्छ त्यसमा आफ्नो स्वार्थका लागि अरूको अगाडि बढ्ने व्यक्तिहरूको बिगबिगी हुन्छ । जनआन्दोलनपश्चात् देशीविदेशी शक्तिहरूले मेरो तत्कालीन पार्टीमा मेरो विरूद्धमा निकै षड्यन्त्रहरू गरे । ती षड्यन्त्रहरूले गर्दा म तत्कालीन पार्टीबाट राजीनामा दिएर अलग भएँ । खासगरी नेपालको राजनीतिमा गैरलोकतान्त्रिक, गैरराष्ट्रवादी शक्तिहरूको हालीमुहाली छ । यस्तो जो आफ्नो निष्ठा, समुदाय र राष्ट्रप्रति बढी बफादार हुन्छन्, उमाथि विभिन्न किसिमका षड्यन्त्र हुन्छन् र त्यो षड्यन्त्रको शिकार हुने गरिन्छ । त्यहीं शिकारको कारणले म राजनीतिको मूलधारबाट टाढा देखिएको हुँ । तर, मेरो जुन राजनीतिक अडान, अठोट, आस्था र सिद्धान्त छ, त्यमा म निरन्तररूपमा प्रतिबद्ध भएर अगाडि बढ्दैछु । अहिले म कुनै दलमा सहभागी छैन तर यसको मतलब यो होइन कि म राजनीतिबाट अलग भइसकेको हो । जुन उद्देश्यले म राजनीतिमा प्रवेश गरेको थिएँ, नेपालमा स्वायत्त मधेश र लोकतन्त्रप्रति म अहिले पनि प्रतिबद्ध छु । यसका लागि म दलीय राजनीतिमा नभइकन पनि राष्ट्रिय राजनीतिमा आफ्नै किसिमले लागिरहेको छु ।

० २०६३ को जनआन्दोलनको समयमा केन्द्रीय संघर्षको मैदानमा मधेशबाट प्रतितिनिधित्व गर्ने तपाई एक्लो नेता हुनुहुन्थ्यो, आफ्नो योगदान सम्झिँदा कस्तो महसुस हुन्छ ?

— संघर्षको बेला मान्छे नेता हुन तयार हुँदैन । संघर्षको बेला जेलनेल जाने अवस्था हुन्छन्, गोली खाने अवस्था रहन्छ । त्यसैले त्यो बेलामा कसैले नेता हुने आँट पनि गर्दैन । २०६२÷०६३ को जनआन्दोलनमा मलाई कुनै किसिमको अप्ठ्यारो थिएन । त्यो संघर्षको बेला थियो, त्यसमा निकै कठिनाइहरू झेल्नुपथ्र्यो । त्यो बेलामा द्वैध चरित्र भएका व्यक्तिहरू पछाडि बस्यो, केही गर्न सकेनन् । आन्दोलनका बेलामा जो सच्चा नेता हुन्छन् उसैको पछि कार्यकर्ताहरू लाग्छन् । तर, आन्दोलनपश्चात् द्वैध चरित्र भएका व्यक्तिहरूले देशीविदेशी शक्तिहरूको पछि लागेर सच्चा नेतालाई विस्थापित गर्न खोज्छन् । सच्चा नेता विस्थापित भएन भने द्वैध चरित्रका नेताहरू कसरी अगाडि बढ्छन् ? त्यसैले, जहाँपनि राजनीतिमा एउटा दुर्भाग्यपूर्ण यो अवस्था हुन्छ । त्यसमा मेरो पनि यस्तो अवस्था आयो । आन्दोलनपश्चात् मेरो विरूद्धमा विभिन्न षड्यन्त्रहरू भयो ।

० के अहिले त्यहीं संघर्षको भावनाअनुसार देशको राजनीति अघि बढिरहेको छ त ?

— जुन सोच र आकांक्षाअनुसार २०६२÷६३ को आन्दोलनमा हामी लागेका थियौं, त्यो बेलामा आन्दोलनको मुख्य उद्देश्य निरंकुश राजतन्त्रलाई अन्त्य गरेर लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने थियो । त्यसपछि समावेशी राज्यको हामीले कल्पना गरेका थियौं । समावेशी राज्य भनेको समावेशिता हो । त्यो समावेशी राज्यका लागि संघीयता आवश्यक थियो । राज्यको पुनर्संरचना संघीय आधारमा गर्नुपर्छ । देशका उपेक्षित वर्ग समुदाय छन्, त्यसलाई समावेश गराएर राज्यको मूलधारमा ल्याउनुपर्छ । यी हाम्रा आन्दोलनका मुख्य उद्देश्य थियो । आन्दोलनपछिका सरकारहरूका गतिविधिहरू हेर्दा दयनीय छ । हामी लोकतान्त्रिक गणतन्त्र भन्छौं तर, शासकहरूको जुन चरित्र हुनुपर्ने हो, जुन इमान्दारिता र नैतिकता हुनुपर्ने त्यो एक प्रतिशत पनि छैन । अहिले गणतन्त्रका शासकहरूले आफूलाई राजा महाराजाजस्तो प्रस्तुत गरिरहेका छन् । राष्ट्रपति वा प्रधानमन्त्रीको कुरा गर्नुस्, मन्त्रीहरूको त कुरै छाडदिनुस्, प्रदेशहरूको त के कुरा गर्ने । जहाँ मुहान नै फोहोरले भरिसकेपछि तलको नदीको के कुरा गर्ने ? राष्ट्रपतिको व्यवहार राजा–महाराजा महारानीको जस्तो छ । यसले गर्दा जनताहरूमा लोकतान्त्रिक गणतन्त्रप्रति राजावादीहरूले दुर्भावना फैलाइरहेका छन् । के यही हो गणतन्त्र ? के यही गणतन्त्रका सम्मानित पदहरू ? यस्ता कुराहरूले गर्दा राजावादीहरूले उकुसमुकुस गरिरहेका छन् । गणतन्त्रका विरूद्धमा उनीहरूका क्रियाकलाप अगाडि बढिरहेका छन् । राजावादीहरूको अहिले जुन किसिमले षड्यन्त्रहरू भइरहेका छन्, यसप्रति यदि प्रमुख पदमा बसेकाहरू सचेत भएनन् भने यो देशको भोली के दुर्गति हुन्छ कसैले भन्न सक्दैन । देश बडो गम्भीर अवस्थामा छ । यसमा हरेक नागरिक सचेत हुनैपर्छ ।

० पछिल्लो समयमा मधेश र काठमाडौं बीचका मतभेदहरू बढेको पाउनु भएको छ कि त्यसमा सुधार आएको छ ?

— मधेश अहिले पनि जहाँको त्यहीं छ । तर, नेताहरूको विलासितामा सुधार भएको छ । मधेशमा नाराबाजी गर्ने नेताहरू प्रशस्त भए, मधेशलाई ठग्ने नेताहरू प्रशस्त भए । वर्तमान नेपालको पनि कुरा ग¥यौं भने मधेशलाई सपना देखाउने जति नेताहरू भए त्यसको नैतिकता र व्यवहारलाई केलाउँदा सबै मधेशलाई ठग्नेहरू भए । मधेश आन्दोलनहरूमा सयौंका जुन बलिदान भएका छन्, त्यो सहादतलाई अहिलेका नेताहरूले मूल्यांकन गरेका छैनन् । आन्दोलनका बेलामा यी फोरम र राजपाका नेताहरू केपी ओलीलाई मधेशको प्रमुख खलनायकको रूपमा चित्रण गरेका थिएनन् ? चुनावपश्चात् त्यही केपी ओलीको सहायक भएर फोरमका नेताहरू बसिरहेका छन् र राजपाले समर्थन गरिरहेको छ । संविधान संशोधन कहाँ गयो त ? संशोधनका लागि कागजमा सहमति गर्ने र सत्तामा जान लालायित रहने यिनीहरूको चरित्र अहिले पनि त्यस्तै देखिएको हो । तर, ती मागहरू कहिले पूरा गर्ने कुनै टुंगो छैन । यो जनतालाई ठग्ने खेल होइन ? यही इमान्दारिता र नैतिकता हो । यसैका लागि मधेशका सयौं जनाले सहादत दिएका हुन् ? यो त मधेशको दुर्भाग्य हो नि ।

० अहिले पनि काठमाडौंले मधेशलाई हेर्ने नजरमा भिन्नता छ कि ?
— काठमाडौं अलि भेग शब्द हो । राज्य पनि मधेशप्रति उदासीन नभनौं, राज्यका केही यस्ता निकायहरू छन् जसले मधेशका जनतालाई पनि अन्य भेगका जनतासरह नै सोच राख्नेहरू पनि छन् । मुख्यतः राज्य र सरकारमा पनि फरक हो । मधेशका नेता र सरकारको तुलना गर्नुस् । काठमाडौं मधेशको विरोधी हो भनेर म भन्दिँन । काठमाडौंका पहाडी मूलका केही पत्रकारहरू यस्ता छन् जसले मधेशप्रति सकारात्मक दृष्टिकोण राखेका छन् । पहाडी मूलका केही यस्ता नेताहरू छन् जसले मधेशप्रति सकारात्मक दृष्टिकोण राखेका छन् । त्यसैले हामीले काठमाडौं र मधेशलाई नभएर सरकार र मधेशी नेताहरूलाई तुलना गर्नुपर्छ । सरकारसँग मधेशका नेताहरू एकअर्कासँग गोप्य मिलान गर्दै मधेशलाई ठगिरहेका हुन्छन् ।

० के मधेशकेन्द्रित दलहरूले भन्दै आएको संविधान संशोधनसहितको मुद्दा यो सरकारबाट पूरा होला ?

— यो सरकार गठन भएको वर्ष दिन पुग्न लागेको छ । यो अवधिमा मधेशको पक्षमा के भयो त ? फोरमका नेताले बडो घुर्की लगाएर म संविधान संशोधन गराउँछु, यो सरकारले मानेको हो त्यसैले सरकारमा गएको भन्थे । खोई संविधान संशोधन भएको त ? अनि लाज पचाउनका लागि प्रधानमन्त्रीलाई १२ बुँदे स्मरणपत्र दिए । भनिन्छ नि, ‘बेशर्मी की भी हद होती है’ । उपेन्द्र यादव आफै यो सरकारको उपप्रधानमन्त्री, केपी ओलीको सहयोगी अनि उहाँको पार्टी स्मरणपत्र बुझाउने । अनि यही संविधान संशोधन भएको हो त । यदि उपेन्द्र यादव र फोरमका नेताहरूको कुरा यो सरकारले सुन्दैन भने सरकारमा बसिरहनुको औचित्य के ? जनतालाई ठग्ने प्रवृत्ति होइन ?

० केपी ओली नेतृत्वको सरकारले संविधान संशोधन गर्छ त ?
— मानौं संविधान संशोधन ग¥यो र मधेशको मूलभूत मुद्दाहरू सम्बोधन भएन भने त्यसको के औचित्य ? सबै अधिकार प्रधानमन्त्रीमा केन्द्रित गर्न वा राष्ट्रपति सक्रिय बनाउनका लागि पनि संविधान संशोधन हुनसक्छ । मूल कुरो मधेशको मुद्दा सम्बोधन गर्नका लागि, स्वायत्त मधेश प्रदेशका लागि संविधान संशोधन हुन्छ कि हुँदैन यो प्रमुख विषय हो । स्वायत्त मधेशका लागि यो उपेन्द्र यादवसहितको सरकारले संविधान संशोधन गर्दैन ।

० रेशमलाल चौधरीको शपथ ग्रहणले के संकेत गर्छ, सरकार मधेशको मागप्रति क्रमशः उदार भएको हो ?

— जहाँसम्म रेशमलाल चौधरीजीको शपथ ग्रहणको कुरा छ यो स्वागतयोग्य छ । किनकि उहाँ जनताबाट निर्वाचित जनप्रतिनिधि हो । शपथ ग्रहण भइरहेको थिएन, त्यो नै अन्याय थियो । तर, यसको पछाडि के कुरा लुकेको छ, त्यो गम्भीर हो । केपी ओली र यो सरकार बडो उदार भएर रेशमलाल चौधरीलाई शपथ ग्रहण गराएको भन्ने जुन भान भइरहेको छ यो गलत हो । केपी ओलीले दुई तिहाईको जुन समर्थन छ त्यसमा राजपा पनि पछि–पछि लागोस् भनेर राजपालाई फसाउने षड्यन्त्र मात्रै हो । राजपा पनि यो सरकारको समर्थन फिर्ता गर्ने आँट गरेको छैन । त्यसलाई ढाकछोप गर्नका लागि रेशम चौधरीको शपथ ग्रहणको विषय उनीहरूको आड भएको मात्रै हो ।

० भनेपछि रेशमलाल चौधरीको शपथ ग्रहण राजपाका लागि एउटा फेस सेभिङ्ग मात्रै हो ?

— हो । रेशमलाल चौधरीको शपथ ग्रहण गराएर राजपाले आफ्नो फेस सेभिङ्ग मात्र गरेको हो । त्योभन्दा अरू केही पनि होइन । तर, रेशम चौधरीको शपथ ग्रहण आफैमा स्वागतयोग्य हो । यसपछिका कारणहरू केलाउँदा अर्कै किसिमको छ ।

० फोरम र राजपाबीच एकताको कुरा पनि चलेको छ, यो सतही बुझाइ मात्र हो कि यस भित्र गम्भीरता पनि छ ?
— एकीकरण भइदियो भने त साह्रै राम्रो हुन्थ्यो । एउटै सिद्धान्त र उद्देश्य भएका पार्टीहरू एक ठाउँमा भइदियो भने धेरै राम्रो हुन्छ । तर राजपा र फोरम एक ठाउँमा बस्छन् भन्ने विश्वास गर्न सकिँदैन । सबै अध्यक्षै बन्न खोज्छन् । या त ६ वटा अध्यक्षको साटो ७ वटा अध्यक्ष राख्नुपर्छ । त्यसमा पनि संयोजक बन्न एकले अर्कालाई हटाइरहेका छन् । अहिले राजपामा महन्थ ठाकुरलाई विस्थापित गरेर राजेन्द्र महतो आए । सबै अध्यक्ष बन्ने आकांक्षा लिएर राजनीति गर्ने हो भने एकीकरण हुनै सक्दैन । उपेन्द्र यादव के कम, महन्थ ठाकुर के कम, राजेन्द्र महतो के कम । एकीकरण हुनु धेरै राम्रो तर हुने सम्भावना छैन । सुउद्देश्यले यो एकीकरणको कुरा गरिएको होला जस्तो लाग्दैन । यसको पछाडि विभिन्न कारण भएर एकीकरण हुँदैन भनेर पनि भन्न सकिँदैन । तर, त्यो कति टिकाउ हुन्छ र उद्देश्य पावन हुन्छ त्यसमा भर पर्छ ।

० अब अन्त्यमा, तपाइँ आफ्नो राजनीतिक यात्रालाई कसरी अगाडि बढाउनुहुन्छ ?

— अहिले वर्तमान क्षीतिजमा जति पनि राजनीति दलहरू छन्, त्यसमा कुनै पनि हालतमा सहभागी हुन्न । यो एउटा ध्रूवसत्य हो । जबसम्म मेरो आफ्नो सोच भएको एउटा समूह बन्दैन तबसम्म आफ्नै किसिमले लागिरहन्छु । मेरो सोच सहितको एउटा समूह बन्यो भने त्यसलाई लिएर पनि अगाडि बढ्न सक्छु ।

० अहिले मधेशमा वैकल्पिक शक्ति उदय हुने सम्भावना देख्नुहुन्छ ?

— सच्चा र इमान्दार व्यक्तिहरूको जबसम्म राजनीतिमा पहुँच र पकड हुँदैन तबसम्म मधेश त जहिले पनि मधेश ठगिने अवस्थामा नै रहन्छ । द्वैध चरित्र भएका व्यक्तिहरूबाट मधेशको कल्याण हुन्छ वा स्वायत्त मधेशको सपना साकार हुँदैन । नेपालको राजनीतिमा अहिले पुस महिनामा नै राजावादीहरूले पृथ्वीनारायण शाहलाई राष्ट्रपिता घोषणा गराउने, उनलाई सम्मान दिनका लागि तस्वीर अंकित मुद्रा निकाल्ने, पुस २७ गते सार्वजनिक विदा घोषणा गराउने विभिन्न क्रियाकलापहरू भइरहेका छन् । त्यसलाई समर्थन गर्ने केही मधेशीहरू पनि छन् जसले भनिरहेका छन् कि पृथ्वीनारायण शाह तराईको शीर जोगाउने राजा हुन् । तर, मधेशलाई सर्वप्रथम नेपालको रैती बनाउने शासक नै पृथ्वीनारायण शाह हुन् । सिपाही भर्ना गर्न खस, क्षत्री, ठकुरी, मगरलाई मात्र राख्नु पृथ्वीनारायण शाहको योजना थिएन ? त्यसमा मधेशी किन आएनन् ? कान्तिपुर विजयपछि जुन तिरहुतिया फौज थियो, मधेशी सेना थियो त्यसलाई बर्खास्त गर्ने पृथ्वीनारायण शाह होइन ? तराईलाई उपनिवेश बनाउने पृथ्वीनारायण शाह होइन ? अनि पृथ्वीनारायण शाह तराईको शीर जोगाएको हो कि बर्बाद गरेको हो ? यसको विरोध किन मधेशी नेताहरूले गरेनन् ?
अर्को कुरा डा.सीके राउतको अभियानको म विरोधी हुँ । उ नेपालबाट अलग देश खोज्ने मान्छे हो । म नेपालमा स्वायत्त प्रदेशको पक्षधर हुँ । तर, कुनै राजनीतिक आस्था बोकेका व्यक्तिलाई जब सरकारले यातना दिन्छन् वा स्वास्थ्य जाँच गराउँदैन भने त्यसको विरूद्धमा मधेशको राजनीति गर्ने नेताहरूले बोल्नुपर्दैन ? यसको बारेमा सरकारमा बसेका सरकारी मधेशी पार्टीहरूले किन आवाज उठाएका छैनन् ? के सीके राउतले हतियार उठाएको हो र ? अनि उसको ज्यान गइरहेको छ भने उसको लागि बोल्नुपर्दैन ? मधेशको राजनीति गर्ने नेताहरूको धर्म यही हो त ?


(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)

तपाईको प्रतिक्रिया