शिक्षा र स्वास्थ्य विकासका लागि आधारभूत आवश्यकता : मेयर गुप्ता

राजनीति

राकेश यादव

       

रौतहट, २७ पुस । गौर नगरपालिकाका प्रमुख अजय कुमार गुप्ताले शिक्षा स्वास्थ्य विकासका लागि आधारभूत आवश्यकता रहेको बताएका छन् ।

उनले शिक्षा विनाको मानवको जीवनको कुनै औचित्य नहुने धारणा राखेका छन् ।

रौतहटको गौर नगरपालिका वडा नम्बर ६ मा नवनिर्मित शहरी स्वास्थ्य केन्द्रको भवन उदघाटन गरी शिक्षा स्वास्थ्य पर्यटन पूर्वाधार र व्यापार, सुन्दर समृद्ध तथा समुन्नत गौरको आधार नारासहित आयोजित उद्घाटन समारोहमा प्रमुख अतिथिको आसन्नबाट सम्बोधन गर्दै मेयर गुप्ताले भविष्यमा गौर नगरपालिका शिक्षा र स्वास्थ्यमा फड्को मार्ने दाबी गरे ।

शिक्षामा र स्वास्थ्यमा व्यापक सुधार ल्याउने रणनीतिका साथ नगरपालिका अघि बढिरहेको बताउँदै मेयर गुप्ताले आगामी दिनमा सबै वडाहरुमा सुविधा सम्पन्न स्वास्थ्य चौकीको स्थापना गरिनेसमेत उद्घोष गरे ।

गौरमा रहेको जिल्ला अस्पतालको जर्जर अवस्थामा पुर्याउने कार्यरत स्थानीय कर्मचारी नै भएको भन्दै स्थानीय तहलाई जिल्ला अस्पतालको प्रशासनिक जिम्मेवारी नदिएसम्म त्यसको सुधार कुनै पनि हालतमा हुन नसक्ने दावी गरे ।

जिल्ला अस्पताल जिम्मामा स्थानीय सरकारको मातहतमा नभएको कारण लापरवाही गर्ने कर्मचारी माथि कडाईका साथ कार्यवाही हुन नसकेको उनको कथन रहेको छ ।

जिल्ला अस्पताल, स्वास्थ्य कार्यालयमा १५ वर्ष भन्दा लामो समयदेखि एउटै कर्मचारी कार्यरत रहेको बताउँदै त्यस्ता कर्मचारीलाई तुरुन्तै हटाउनु पर्ने संघीय सरकार र प्रदेश सरकारसँग आग्रह गरेका छन् ।

जिल्ला अस्पताल हुँदाहुँदै पनि उपचार गराउन अन्यत्र जान पर्ने स्थानीयहरुको बाध्यता रहेको छ । अस्पतालमा राम्रो चिकित्सकको आभाव, भएको कर्मचारी आफ्नो कार्यप्रति जिम्मेवार नहुनुले जिल्ला अस्पतालको अवस्था दयनीय भएको मेयर गुप्ताको भनाइ रहेको छ ।

स्वास्थ्य चौकीको व्यवस्थापन रेखदेख स्थानीय सरकारको मातहत भएकोले सबै वडामा सर्वसुलभ रुपमा स्वास्थ्य सेवामा पहुँच हुने उद्देश्यले सुविधा सम्पन्न स्वास्थ्य केन्द्रको स्थापना नगरपालिकाले गर्न लागेको हो ।

रौतहट शिक्षा, स्वास्थ्य, सरसफाईको साथै मानव सूचकांकमा पछाडि परेकोले मानव सूचकांकमा माथि उठाउन शिक्षामा व्यापक सुधारको आवश्यकता रहेको जिकिर गर्दै मेयर गुप्ताले नगरपालिकाले शिक्षाको स्टार सुधारको निमित्त चालेको अभियानमा अभिभावकहरुले सहयोग गर्नु पर्ने धारणा राखे ।

उनले भने हामीले अभियान सञ्चालन गरेका छौं तपाईहरुले आफ्नो छोरा छोरी शिक्षक शिक्षिकालाई निगरानी गरिनु पर्छ । छोरा छोरीलाई मोबाइल नदिन अभिभावकहरुलाई अपील गरे ।

सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरु तलब खाने र काम नगर्ने सोच राखेको कारण सामुदायिक विद्यालयको आलोचना भैरहेको जनाउँदै शिक्षकहरुले आफ्नो पेशाप्रति इमान्दारिता जनाई दिए निजी विद्यालयभन्दा राम्रो सामुदायिक विद्यालयका शिक्षा हुने दावी गरे ।

नगरपालिकाले सामुदायिक विद्यालयमा नियमित उपस्थित भई राम्रोसित आफ्नो दायित्व निर्वाह गर्ने ५ जना शिक्षकलाई नगद २० हजारका दरले पुरस्कृत गर्ने नीति बनाएको जानकारी गराएका छन् ।

जनताको सेवा गर्ने चाहना रहेकोले नगरपालिकाले गर्ने विकास निर्माणका कार्यदेखि लिएर कला संस्कृतिको संरक्षण गर्ने अभियानमा सहयोगी भूमिका निर्वाह गरिदिन सबैसँग आग्रह गरेका छन् ।

कार्यक्रममा नगरपालिकाका उपसचिव प्रमुख प्रशासकीय अधिकृत सुमन कार्कीले नगरपालिकाले नगरवासीको हितमा काम गर्दै आएको बताएका छन् । बालिकालाइ स्कुल पठाउनु पर्ने भन्दै कार्कीले गौरवले भरिएको गौर भोलीको दिनमा पर्यटकीय क्षेत्रको रुपमा परिचित हुने धारणा राखे ।

नगरपालिकामा भएका स्रोत साधनको प्रयोग गर्दै नगरवासीको चाहना पूरा गर्ने प्रतिवद्ध रहेको बताउँदै प्रमुख प्रशासकीय अधिकृत कार्कीले संविधान र कानून अनुरूप सबैको आधारभूत स्वास्थ्यमा पहुँच पुर्याउने प्रतिवद्धता व्यक्त गरे ।

नगरपालिकाका बवै वडा पूर्ण खोप हुने भन्दै नगरपालिकाको कार्यमा सहयोग गर्न अपील गरे । रुपैयाँ ठूलो भनिए पनि सत्य नभएको सबैभन्दा ठूलो शिक्षा र स्वास्थ्य नै भएको उल्लेख गरे । आफ्नो घर आँगन, बाटोघाटो साफा सुग्घर राखेर स्वास्थ्य जीवन जिउन सुझाव समेत दिए ।

सहायक प्रमुख जिल्ला अधिकारी धर्मानन्द जोशीले जिल्ला अस्पताल माथि कटाक्ष गर्दै शहरी स्वास्थ्य केन्द्रलाई त्यस्तै नबनाउन आग्रह गरेका छन् । ठूलठूला भवन बनाएर केही हुँदै त्यसमा प्राण हाल्नुपर्छ भन्दै जोशीले स्वास्थ्य केन्द्रको प्राण औषधि, स्वास्थ्यकर्मी, उपकरण र सुरक्षा भएको बताए ।

जिल्ला अस्पतालबाट गएको सोमबार चोरी भएको लैवका उपकरणमा कर्मचारीको नै संलग्नता रहेको आशंका रहेको बताउँदै त्यसो नगर्न र स्वास्थ्य केन्द्रको सुरक्षित राख्ने जिम्मेवारी सबैले लिनु पर्ने टिप्पणी गरे ।

मुस्लिम समुदायमा सबैभन्दा शत्रुको रुपमा बाल विवाह रहेको हुँदा त्यसलाई अन्त्य गर्नुपर्ने जोड दिँदै सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बाल विवाह गरिमा कÞानूनी कार्यवाही हुने कानून बनिसकेकोले यसबाट बालविवाह गर्ने गराउने जेल जाने चेतावनी दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहटका सभापति रविन्द्र प्रसाद साहले शिक्षा र स्वास्थ्यको विकास गर्नु उत्तम रहेको बताएका छन् । जनताको घरमा स्वास्थ्य सेवा सहज रुपमा पुर्याउने लक्ष्य नगरपालिकाको सराहनीय भएको उल्लेख गरे ।

कार्यक्रममा आधारभूत विद्यालय बाल मन्दिर र जी स्टारका बालबालिकाहरुले बाल विवाह स्वास्थ्य र शिक्षा सम्बन्धनमा झांक्री, नृत्य प्रस्तुत गरेका थिए ।

जनचेतनामूलक झांक्री प्रस्तुत गरेको बाल मन्दिरका विद्यार्थीहरुलाई १८ हजार तथा जी स्टारका विद्यार्थीहरुलाई एउटा नृत्य हेरेर करीब ५ हजार रुपैयाँ पुरस्कार परेको थियो ।

उदघाटन समारोहमा शहरी स्वास्थ्य केन्द्रको भवन निर्माणमा भूमिका निर्वाह गरेका लक्ष्मण साह , शेख मैनुद्दीन, नन्दलाल बैठा, राम निरखण साह, शेख इरफान, महमद सागिर मियाँ, शैल देवी, प्रतिमा साह, रामअयोध्या ठाकुर, जय प्रकाश साह, सोमरिया देवी बैठा, जीतेन्द्र साहलाई मेयर गुप्ताले प्रशंसा पत्र र दोसल्ला ओढाएर सम्मानित गरेका थिए भने वड़ा सदस्य शेख रजाय महमद, स्वरुप साह, प्रतिमा देवी, बालकेशी देवी, जीतेन्द्र भारती, वड़ा सचिव शान्ता अधिकारीलाई प्रमुख प्रशासकीय अधिकृत सुमन कार्कीले सम्मानित गरेका थिए ।

उदघाटन समारोहमा निर्वाचित वडा अध्यक्षहरु, सुरक्षा समितिका पदाधिकारी, महिला स्वास्थ्यकर्मी, स्थानीयबासी सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया