माघीको सन्देश र मन्त्रीको ‘झापड’ (सम्पादकीय)

सम्पादकीय

    २०७५ साल माघ ४ गते शुक्रबार   

यो साता सम्पूर्ण मधेशले माघी र मकर संक्रान्ति पर्व मनाएको छ । एकआपसमा रमाइलो गर्ने, साथी–भाइबीच भातृत्वप्रेम तथा आदरसम्मान गर्न सिकाउने ‘माघी’ थारूको नयाँ वर्ष र प्रमुख सांस्कृतिक पर्व पनि हो । नयाँ नीति नियम बनाउने, कार्यान्वयन गर्ने, नयाँ प्रतिवद्धता तथा नयाँ कामको जिम्मेवारी बाँडफाँड गर्ने माघीमा थारू समुदायले वर्षभरिको कामको समीक्षा गर्छन् । पश्चिमका थारूले माघी माघे संक्रान्तिका रूपमा यसलाई मनाउँछन् भने पूर्वका थारूले यसलाई तिला संक्राइतका मनाउने गरेका छन् ।

वस्तुतः मौलिकता बोकेको ऐतिहासिक चाड माघी मेलमिलापको पर्व हो । यसले ‘मेरो हैन हाम्रो’ भावनाको विकास गर्छ । पूर्खाको आशिर्वाद, आफूभन्दा ठूलाको आदर र सानालाई माया गर्ने भावनाको विकास गर्दछ । वर्षभरिको दुःख–सुखका कुरा एकापसमा साटासाट गर्ने, मीठो–मसिनो खाएर आत्मसन्तुष्टि लिने काम यसै पर्वमा हुन्छ ।

यस्तै माघे संक्रान्ति पर्वले सामाजिक एकता सुदृढ बनाउन पनि मद्दत गर्छ । विशिष्ट सांस्कृतिक सम्पदाको रूपमा रहेका यस्ता पर्वले मुलुकलाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्र्दै आएको छ । एउटै पर्वलाई फरक–फरक नाम र शैलीले मनाउने नेपाली परम्पराले शान्तिको सन्देश फैलाएको छ ।

यहि मेसोमा मधेशले माघी र मकर संक्रान्ति पर्व मनाइरँदा प्रदेश २ मा भने मन्त्रीको ‘झापड काण्ड’ले चर्चा भएको छ ।
प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई झापड हानेको विषय अहिले सर्वत्र चर्चा भइरहेको छ । एउटा अमुक गैरसरकारी संस्थाको कार्यक्रमका लागि मन्त्री यादवको नजिकको संस्था छनोटमा नपरेको हुँदा उनले कुटपिट गरेको आरोप सचिव झाको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत सञ्चालन हुन लागेको गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेडपा) का लागि गैरसरकारी संस्थालाई छनोट गर्नुपर्ने प्रारम्भिक सूचीमा मन्त्री यादव नजिकको संस्था नपरेकाले उनले आफ्नो कार्यकक्षमा बोलाएर गालामा झापड हानेको भनाइ सचिव झाको छ । आफूले लगेको फाइल र डायरी समेत मन्त्री यादवले खोसेको पनि उनले दाबी गरेका छन् ।

सङ्घीय सरकारले सशर्त अनुदानअन्तर्गत गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम सञ्चालनका लागि १ सय ९३ वटा गैरसरकारी संस्थाले मन्त्रालयमा आशयपत्र दिएका थिए । तीमध्येबाट ४० वटा संस्था छनोट भएका थिए । मन्त्री यादवले आफ्नो नजिकको संस्थालाई छनोट गरिदिन दबाब दिँदा आफूले नमानेको र ती संस्था छनोट सूचीमा नपरेका कारण उनले आफूलाई कुटपिट गरेको सचिव झाको भनाइ छ । उता मन्त्री यादवले भने आफूले नकुटेको जिकिर गरेका छन् । सचिव झा प्रदेशका सभामुख र अर्का एक जना मन्त्रीको अगाडि ‘आफू जनकपुरको लोकल हुँ’ भन्दै आफ्नो पदीय मर्यादा बिर्सिएर चर्को आवाजमा बोल्दै कोठाबाट निस्किएको उनले बताए ।

यद्यपी यस घटनाको सत्यतथ्य छानबिन गर्न प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा तीन सदस्यीय टोली गठन गरिएको छ । यो घटनाले सानालाई ऐन, ठूलालाई चैन भन्ने नेपाली उखान चरितार्थ गरेको छ । मन्त्री होस् या जनता यदि विधिको शासनमा चल्ने हो भने सबैलाई कानुनले बाँध्छ र कामका सिलसिलामा भएका असहमतिहरू छलफलबाट टुंग्याउनुपर्छ । तर यहाँ त्यसो भएन । तर कार्यकक्षमा नै मन्त्री र सचिवस्तरका व्यक्तिबीचको हात हालाहालको घटनाले नेपालको संस्कार देखाएको छ । मन्त्री पदमा बसेको व्यक्तिले खराब आचरण र व्यवहार प्रदर्शन गरेपछि उनको नैतिकता कति बाँकी रहन्छ । यदि मन्त्री यादवले सचिव झालाई कुटपिट गरेकै हुन् भन्ने टुंगो छानविन समितिले लगाए पनि उनलाई के सजाय हुन्छ भन्ने आगामी दिनमै थाहा हुन्छ ।

 

तपाईको प्रतिक्रिया