प्रदेश २ कै नमूना पर्यटकीयस्थल बनाउँछौं : हरिनारायण महतो

मेयर, मिथिला नगरपालिका, धनुषा

स्थानीय सम्वाद्

    २०७५ साल माघ ४ गते शुक्रबार ।   

मिथिला नगरपालिका नेपालको प्रदेश न. २ अन्तर्गत धनुषा जिल्लाको उत्तरी भूभागमा पर्दछ । उत्तरी अक्षांशसम्म फैलिएर रहेको मिथिला नगरपालिका २ न. प्रदेशको एउटा प्रमुख कृषि क्षेत्र हो । करिब १८७.९४ वर्ग किलोमिटर क्षेत्रफल रहेको यस नगरपालिकाको उत्तरमा सिन्धुली जिल्ला, पश्चिमतिर महोत्तरी जिल्ला, बटेश्वर गाउँपलिका, दक्षिणमा क्षीरेश्वरनाथ नगरपालिका र बटेश्वर गाउँपालिका र पूर्वमा गणेशमान चारनाथ र धनुषाधाम नगरपालिका रहेका छन् । मिथिला नगरपालिकालाई २०७१ पौष २८ गते नगरपालिका घोषणा गरिएको थियो । राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार यस नगरपालिका को कूल जनसंख्या ४५,१६४ जना रहेकोमा महिलाको जनसंख्या ४९.९१ प्रतिशत र पुरूषको ५०.०८ प्रतिशत रहेको छ । यस नगरपालिकामा विभिन्न जातजाति तथा धर्म मान्ने व्यक्तिहरूको बसोबस रहेको छ ।

मिथिला नगरपालिकाले राष्ट्रिय भूकम्प सुरक्षा दिवस कसरी मनाएको छ ?

— भूकम्पको जोखिमबाट कसरी बच्ने, त्यसबाट हुनसक्ने क्षति कसरी न्यूनीकरण गर्ने लगायतका विषयमा सचेतना कार्यक्रमहरू गरेका छौं । मिथिला नगरपालिकाभित्र निर्माण भइरहको नयाँ संरचना बनाउँदा भूकम्प विरोधक मापदण्डअनुसार भइरहेको छ । यस नगरक्षेत्रभित्र रहेका डकर्मीहरूलाई विभिन्न चरणमा तालिमका व्यवस्था गरेका छौं । सबै डकर्मीहरूलाई तालिम दिई अब बन्ने सबै घर भूकम्प विरोधक घरहरू हुन्छन् । त्यसमा पनि यस नगरभित्र रहेका सामुदायिक तथा निजी विद्यालयहरूमा फोकल टिचरका रूपमा तोकेका छौं । उहाँहरूले भूकम्पको जोखिमलाई कसरी न्यूनीकरण गर्ने र त्यसबाट कसरी जोगिने भन्ने विषयमा प्रत्येक विद्यालयमा कार्यक्रम सञ्चालन गर्दै आएका छौं ।

० मिथिला नगरपालिकामा भूकम्पबाट जोखिम हुने सम्भावना कति छ ?

— कतिपय पुराना भवनहरू र मापदण्डविपरीत निर्माण भएका संरचनाहरू अलिअलि जोखिमयुक्त देखिएको छ । तर अब सम्पूर्ण भौतिक संरचनाहरू मापदण्डअनुसार नै बनिरहेको छ । खास गरेर विद्यालयहरूमा यसबारे चेतना जगाउने काम गरेका छौं ।

० तपाइँ जनप्रतिनिधिको रूपमा निर्वाचित भएको एक वर्षभन्दा बढी समय भयो, यस अवधिमा जनताले अनुभूति गर्ने खालका के–कस्ता कामहरू गर्नुभयो त ?

— हामीले धेरै काम गरेका छौं । हामीले पहिलो वर्ष खानेपानीलाई प्राथमिकता दियौं, जहाँ–जहाँ पिउने पानीको समस्या थियो, त्यहाँ व्यवस्था ग¥यौं । त्यसैगरी, शिक्षा, स्वास्थ्य, भौतिक संरचना निर्माण, सडक, बाटोघाटो, विद्युतीकरण, सिँंचाइलगायतका सुधार कार्यहरू ग¥यौं । त्यहींअनुसार यहाँका जनताले अनुभूति पनि गरेका छन् । मानवीय संसाधन क्षेत्रमा विकासका लागि सुनौलो हजार दिन, पोषणका कुराहरूमा जोड दिएका छौं । त्यस्तै, शिक्षातर्फ सामुदायिक विद्यालय र निजी विद्यालय जुन खाडल थियो, त्यसमा सामुदायिक विद्यालयको स्त्तरोन्नति ग¥यौं । पहिला सामुदायिक विद्यालयबीचको विद्यार्थीले निजी विद्यालयका विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सकिरहेका थिएन । त्यसका लागि हामीले अँग्रेजी माध्यमबाट नमुना कक्षाहरू सञ्चालन ग¥यौं । यस नगरपालिका बालबालिकाहरू विद्यालय छैनन् । पिछडिएका समुदायका बच्चाहरू जो विद्यालयबाट टाढा थिए, उनीहरूका लागि जनप्रतिनिधिहरू आफैले अभिभावकत्व ग्रहण गरेर विद्यालय भित्र्याएका छौं । यसैगरी, यस नगरपालिकामा पर्यटकीय स्थलको पनि विकास गर्दैछौं । हामीले प्रदेश २ कै नमुना पर्यटकीय स्थलको रूपमा मिथिला नगरपालिकालाई विकास गर्दैछौं ।

० प्रदेश २ कै नमुना पर्यटकीय नगरपालिका बनाउन के–के गर्दै हुनुहुन्छ ?

— ढल्केवर चौकदेखि ३ किलोमिटर उत्तरपट्टि जंगलमा रहेको पोखरीलाई मिथिला सागरको नाममा भ्यू टावर, पिकनिक स्पट, गार्डेन, मदन भण्डारी स्मृति पार्कको रूपमा विकास गर्दैछौं । त्यसकारणले हामी यो नगरपालिकालाई पर्यटकीय हिसावले विकास गर्दैछौं ।

० नगरपालिकाले गरिरहेको कामबाट त्यहाँका जनता कतिको सन्तुष्ट पाउनुहुन्छ ?

— जनता सन्तुष्ट नै रहेको देख्छु । तर, जनताका चाहना, आकांक्षा, आवश्यक्ता र समस्याहरू थुप्रै छन् । सबै कुरा हामी एकै वर्षमा पूरा पनि गर्न सक्दैनौं । हुन त विकास भनेको निरन्तर चलिरहने प्रक्रिया हो । हाम्रो साधनस्रोतले भ्याएसम्म जति काम गरेका छौं, त्यसबाट जनता सन्तुष्ट छन् ।

० स्थानीय निर्वाचनपश्चात् सिंहदरबार गाउँ–गाउँमा भनिन्थ्यो, यो नारा मिथिला नगरवासीले कतिको महसुस गरेका छन् ? 

— जनताले जुन दैनिकी सेवाहरू पाउनुपर्ने हो त्यो सहजरूपमा पाएकै छन् । सबै वडाहरूमा हाम्रो कार्यालयहरू स्थापना भइसकेको छ । हामीले वडावासीहरूलाई सेवा प्रवाह गरिरहेका छौं । कर निर्धारणका लागि पनि नगरपालिकाहरूलाई अधिकार प्रत्यायोजन गरेको छ । हामीले अन्य नगरपालिकाभन्दा यहाँ एकदमै कम राखेका छौं । जनतालाई कुनै किसिमको आर्थिक भार पर्ने खालका करहरू राखेका छैनौं ।

० युवा वर्गलाई लक्षित गरी के कस्ता कार्यक्रमहरू ल्याउनुभएको छ ?

— युवावर्गलाई लक्षित गरी हामीले थुप्रै शीपमूलक कार्यक्रमहरू सञ्चालन गरेका छौं । हामी भन्छौं, शीप सिक्नुस् आफ्नै ठाउँमा उद्यमी बन्नुस्, शीप हामी सिकाउँछौं । यदि कुनै युवा विदेश पनि जान चाहन्छन् भने शीप सिकेर मात्रै जानुस् भनेका छौं । यदि शीप सिक्दैन भने उसको पासपोर्टका लागि नगरपालिकाले सिफारिस गर्दैन । गत वर्ष पनि हामीले युवाहरूका लागि विभिन्न तालिमहरू प्रदान गरेका थियौं । महिलाहरूका लागि सिलाई कटाईलगायत थुप्रै शीपमूलक कार्यक्रमहरू गरेका छौं । जो युवा शीप सिकेर यहाँ व्यवसाय गर्न चाहन्छ र उसँग पैसा छैन भने त्यसको हामी नै गर्छौं पनि भनेका छौं ।

० कृषिमा के–के योजनाहरू छन् ?

— किसानहरूलाई सबभन्दा सहुलियत दरमा ऋणको व्यवस्था गरेका छौं । त्यस्तै, यहाँको कृषि आकाशे पानीको भर पर्नुपर्ने थियो । त्यसका लागि हामीले सिंचाइको व्यवस्था गरेका छौं । ठाउँ–ठाउँमा बोरिङ्ग ग¥यौं । पशुपालन गर्ने कृषकहरूलाई प्रोत्साहन गर्ने काम पनि गरेका छौं । साना किसानहरूलाई औषधी छर्कने मेसिन उपलब्ध गरायौं । यस्तै, किसानहरूका लागि बीउ बीजन पनि उपलब्ध गरायौं । हाम्रा प्रधानमन्त्रीले जुन नारा लिनुभएको छ, ‘समृद्ध नेपाल सुखी नेपाली’ त्यसका लागि जबसम्म किसानहरू आर्थिकरूपले सबल हुँदैन तबसम्म यो नाराको केही अर्थ हुँदैन ।

तपाईको प्रतिक्रिया