कृषिलाई आय–आर्जनमुखी बनाएका छौं : बजरंगी प्रसाद कुर्मी

अध्यक्ष, मायादेवी गाउँपालिका, कपिलवस्तु

स्थानीय सम्वाद्

    19 January, 2019   

नेपालको संघीय संरचनाअनुसार प्रदेश नं. ५ को कपिलवस्तु जिल्लाभित्र पर्ने मायादेवी गाउँपालिका जिल्ला सदरमुकामभन्दा १० कि.मी. पूर्वमा अवस्थित रहेको छ । यो गाउँपालिकाले पूर्वमा कपिलवस्तुको शुद्धोधन गाउँपालिका, पश्चिममा कपिलवस्तु नगरपालिका र यशोधरा गाउँपालिका उत्तरमा बाणगंगा नगरपालिका र दक्षिणमा भारत उत्तर प्रदेशको अलिगढवा पर्दछ । मायादेवी गाउँपालिका वि.स. २०७३ सालमा मा गठन भएको हो । यस गाउँपालिका साविकको पकडी, फुलिका, अभिराव, डुमरा, विजुवा, पिपरा, हरनामपुर र बलुहवा गरी कुल ८ गा.वि.स.हरूलाई मिलाएर बनाईएको हो । यस गाउँपालिकाको क्षेत्रफल ८८.५४ बर्ग कि.मी. रहेको छ र पकडीलाई केन्द्र मानि काम कार्यवाही त्यहींबाट संचालन भैरहेको छ । राजा शुद्धोधनको राजधानी तिलौराकोटबाट रानी मायादेवी आफ्नो माईत देवदह यही भूमि टेकेर जाँदैगर्दा लुम्बिनीमा भगवान गौतम बुद्धलाई जन्म दिनु भएको कारण यस गाउँपालिकाको नाम मायादेवी राखिएको हो ।

० जनप्रतिनिधिको रूपमा निर्वाचित भएर आएदेखि के–कस्ता कामहरू गर्नुभयो ?

— पहिला यहाँ एकदमै दयनीय अवस्था थियो । बाटोघाटो, सडक, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि लगायत हरेक क्षेत्रमा हामीले जनचाहनाअनुसार काम गरिरहेका छौं । कृषि क्षेत्रलाई आय आर्जनमुखी बनाउन विभिन्न कामहरू गरेका छौं । कृषकलाई सहुलियत ऋणदेखि मलखाद, बीउबिजन उपलब्ध गराउने लगायतका कामहरू ग¥यौं । शिक्षामा सबभन्दा बढी चुनौती थियो, शिक्षकको अभाव थियो । त्यसका लागि हामीले गाउँपालिकाको तर्फबाट ५२ जना स्वयम्सेवक शिक्षक नियुक्त गरेका छौं ।

० शिक्षाको अवस्था सबैभन्दा बढी किन खस्केकोे त ?

— पहिला विद्यालयहरूमा विद्यार्थी धेरै थिए तर शिक्षक एकदमै कम थियो । जसकारणले गुणस्तरीय पढाई हुन सकिरहेको थिएन । भौतिक पूर्वाधारहरू पनि अस्तव्यस्त थियो । विद्यालयबाट नै यस्ता गुनासाहरू आउन थालेपछि हामीले पहल गरेर गाउँपालिकाको आफ्नो बजेटबाट ५२ जना स्वयम्सेवक शिक्षक नियुक्त गरेका हौं ।

० तपाइँको गाउँपालिकामा विद्यालय पहुँचभन्दा बाहिर कति बालबालिका छन् ?

— हाम्रो गाउँपालिकामा अहिले कुनै पनि बालबालिका विद्यालय पहुँचभन्दा बाहिर छैनन् । हामीले एउटा टीम बनाएर गाउँपालिकाका हरेक टोल–टोलमा अध्ययन गरेर विद्यालय पहुँचबाट टाढा रहेका बालिकाहरूलाई विद्यालय भर्ना गरायौं । विद्यालयमा विद्यार्थीलाई टिकाउनका लागि गुणस्तर शिक्षामा जोड दिएका छौं ।

० कृषिमा के–कस्ता योजनाहरू ल्याउनुभएको छ ?

— कृषिमा हामीले सिंचाइ योजना ल्याएका थियौं । आर्गेनिक खेतीको पनि कार्यक्रम थियो । समूह बनाएर हामीले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेका छौं । जसबाट कृषकहरूले आफै कृषिबाट आयआर्जन पनि गरिरहेका छन् । हामीले कृषिलाई आयआर्जनमुखी बनाएका छौं ।

० यसपटकको गाउँ परिषद्बाट के–कस्ता योजनाहरू ल्याउनुभएको छ ?

— यस आर्थिक वर्षमा सबभन्दा बढी लगानी शिक्षामा गरेका छौं । त्यस्तै, कृषिलाई आधुनिकीकरण गर्ने, सडक निर्माण तथा सम्भार, युवाहरूलाई लक्षित गरी विभिन्न किसिमका शीपमूलक तालिमको व्यवस्था लगायतका योजनाहरूलाई प्राथमिकता दिएका छौं ।

० चिसोबाट बच्न के कस्ता उपायहरू अपनाउनुभएको छ ?

— हामीले गाउँपालिका हरेक वडाहरूमा कम्बल वितरण गरिसकेका छौं । खासगरी ज्येष्ठ नागरिक र विपन्न वर्गलाई कम्बल वितरण ग¥यौं । चिसोबाट बच्नका लागि आगो ताप्न काठ तथा दाउरा पनि वितरण ग¥यौं । यसपटक चिसोबाट ज्यान गुमाउनु पर्ने अवस्था छैन । हामीले चिसोबाट बच्नका लागि पूर्वतयारी गरेका थियौं । चिसो सुरू हुनासाथ हामीले कम्बल वितरण र आगो ताप्न काठ दाउरा वितरण कार्यक्रम सुरू ग¥यौं । साथै, ज्येष्ठ नागरिकहरूका लागि च्यवनप्रास पनि वितरण ग¥यौं ।

० गाउँपालिकाको कामबाट जनता सन्तुष्ट छन् त?

— हाम्रो कामबाट यहाँका जनता एकदमै सन्तुष्ट छन् । कुनै किसिमका गुनासो वा अवरोध छैन । हामीसँग भएका स्रोतसाधनले भ्याएसम्म जनतालाई सेवा प्रदान गरिरहेका छौं । हामीसँग कर्मचारी अभावका बाबजुद पनि जनतालाई सेवा दिइरहेका छौं । सम्पूर्ण चुनौतीहरू सामना गर्दै जनतामुखी काम गरिरहेका छौं ।

० स्थानीय निर्वाचनपश्चात् सिंहदरबार गाउँ–गाउँ भनिन्थ्यो, यो कुरा जनताले महसुस गरेका छन् ?

— सिंहदरबार गाउँ–गाउँमा अहिले नारामा मात्रै देखिन्छ । यसका लागि विभिन्न नियम कानूनहरू आइसकेको छैन । संघीयतालाई सफल बनाउनका लागि हामी दिनरात खटिरहेका छौं । जनताको आवाज हामीले प्रदेश र संघमा पनि उठाएका छौं । संविधानमा सिंहदरबार गाउँ–गाउँमा उल्लेख भएपनि हामीले पाएका छैनौं ।

० तपाइँहरूले कति कर बढाउनुभएको छ ?

— हामीले कुनै किसिमको कर बढाएका छैनौं । जनताबाट पनि त्यस्ता कुनै गुनासो आएको छैन । हामीले आफ्नो आम्दानी बढाउन आफ्नै किसिमका कार्यक्रमहरू ल्याएका छौं । जनतालाई प्रताडित गर्ने खालका कुनै पनि कर लगाएका छैनौं ।

० निर्वाचनका बेला तपाइँले गरेको प्रतिबद्धताहरू कतिको पूरा भयो ?

— निर्वाचनका बेला हामीले घोषणापत्रमार्फत् जुन प्रतिबद्धताहरू गरेको थियौं, त्यहींअनुसार काम गरिरहेका छु । निर्वाचनका बेला म आफै प्रत्येक घर–घरमा गएर आफ्नो चुनावी घोषणापत्र दिएको थिएँ । हामीले प्रतिबद्धता गरेअनुसारका कार्यहरू सुरू गरेका छौं । हामीले कतिपय दीर्घकालीन योजनाहरू पनि बनाएका छौं । त्यसैले ती सबै पूरा हुन समय लाग्छ ।

० तपाइँ आफ्नो कार्यकालमा मायादेवी गाउँपालिकालाई कस्तो बनाउनुहुन्छ ?
— म आफ्नो कार्यकालमा मायादेवी गाउँपालिकालाई समृद्ध गाउँपालिका बनाउने अठोट लिएको छु । यो गाउँपालिकालाई नेपालकै नमुना बनाउने गरी कार्य गरिरहेको छु । मेरो कार्यकाल समाप्त भइसकेपछि जनताबीच जान्छु र सोध्छु कि मैले घोषणापत्रमार्फत् गरेका प्रतिबद्धताहरू पूरा भयो वा भएन ।

तपाईको प्रतिक्रिया