मधेशका शहीद ( सम्पादकीय)

सम्पादकीय

    २०७५ साल माघ १८ गते शुक्रबार    

देश र जनताको अधिकारका लागि जीवन आहुति दिने शहीदहरुको सम्झनामा माघ १६ गते देशभर विविध कार्यक्रम गरी शहीद दिवस मनाएको छ ।

यही क्रममा माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने परपम्परा छ । राणा शासन विरूद्ध लडेका शहीदहरूको सम्झनामा शहीद दिवस मनाउन थालिएको हो । प्रत्येक वर्षको माघ १६ गतेलाई देशको परिवर्तनमा आफ्नो ज्यान गुमाएका वीर शहीदहरुको सम्झनामा शहीद दिवस मनाउने गरिन्छ । विक्रम सम्वत १९९७ सालमा तत्कालीन राणा शासकहरुले नागरिक स्वतन्त्रताको माग गरेको भन्दै स्वतन्त्रता आन्दोलनका अगुवाहरुलाई मृत्युदण्ड दिएको थियो ।

देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्नेहरु नै वास्तविक शहीद हुन । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानिया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जीवनको आहुती गरेका वीर सपूतहरू नै देशका सच्चा नाकय हुन ।

राष्ट्रियस्तरमा माघ १६ गते शहीद दिवस मनाइ रहँदा त्यसको ठिक १० दिन अखघि मधेशले बलिदानी दिवस मनाएको छ जसमा मधेश आन्दोलनका क्रममा शहादत भएकाहरुको स्मरण गरिएको छ । २०६३ साल माघ ५ गते लहानमा रमेश महतोको हत्या गरिएको दिनलाई बलिदानी दिवसका रूपमा सम्पूर्ण मधेशमा मनाइने गरिन्छ । नेपालमा राजनीतिक र नागरिक अधिकारका दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको मधेश आन्दोलन पहिलो, दोस्रो र तेस्रो हुँदै आजपर्यन्त कुनै न कुनै रूपमा जारी छ भन्दा अस्वाभाविक हुने छैन ।

राष्ट्र निर्माणका खातिर वा मधेशको अधिकारको रक्षाका लागि उनीहरू अहिले भौतिक रूपमा नरहे पनि उजीहरूका विचार र दर्शन अहिले पनि मार्ग निर्देश गरिरहेको छ । तर एउटा महत्वपूर्ण प्रश्न अहिले पनि तेर्र्सिएको छ–जो जसले भावी पुस्ताको कल्याणका लागि आफ्नो जीवनको आहुति दिए, उनीहरूका प्रति हाम्रो कर्तव्य के हो र कस्तो हुनुपर्छ ? खासगरी मधेश आन्दोलन, संविधान निर्माण र कार्यान्वयन, संघीयताको स्थापना आदिका सन्दर्भमा मधेशको भूमिमा शहादत प्रदान गरेकाहरूको स्मरण र मूल्याङ्कन अपरिहार्य छ । यसै सन्दर्भमा मधेशमा मधेश केन्द्रित दलको सरकार बन्नु र मधेशमा पछिल्लो समयमा राजनीतिक समीकरणमा नयाँ ढङ्गले परिवर्तनको सङ्केत देखिएको विद्यमान अवस्थामा शहीदको सपना बारे कुरा गर्नु अर्घेल्याइँ हुँदैन ।

वास्तवमा अचेल शहीद शब्दको अवमूल्यन भइरहेको छ । शहीदका योगदानको उचित मूल्याङ्कन गर्न सकिएको छैन र यी सबैका लागि हामी सबै कुनै न कुनै रूपमा जिम्मेवार छौैँ । तर मधेशका सन्दर्भ भन्ने हो भने शहीदको बलमा सत्तासीन भएकाहरू सर्वाधिक जिम्मेवार छन् ।

मधेशको सत्ता अझै पनि नयाँ कलेवरमा देखिएका राजनीतिका पुरानै खेलाडीको कब्जामा छ । तिनका लागि सत्ता, शक्ति तथा पैसा नै महत्वपूर्ण थिए र अझै छ । वर्तमानमा मधेशमा देखिएको राजनीतिक विकृतिलाई यसै रूपमा लिन सकिन्छ ।

मधेश र मधेशीको अधिकार तथा पहिचानका लागि मधेशमा सङ्घर्षको पुरानो परम्परा छ । २०६३ र ०६४ को मधेश आन्दोलनलाई यस सङ्घर्षको उत्कर्ष मान्न सकिन्छ । नेपालको राजनीतिक इतिहासको सन्दर्भमा मधेशको योगदानको चर्चा नगर्ने हो भने इतिहासले पूर्णता प्राप्त गर्न नसक्ने निश्चित छ । धेरै मधेशपुत्रले अधिकार, पहिचान र स्वतन्त्रताको आन्दोलनमा योगदान दिँदै जीवन अर्पण गरेको इतिहास साक्षी छ ।

दुर्गानन्द झा, कामेश्वर–कुशेश्वर, डा. एलएन झा, शाकेतचन्द्र मिश्रजस्ता अनेकौँ मधेशपुत्रले आन्दोलनको यस क्रमलाई निरन्तरता प्रदान गर्दै शहादत प्रदान गरेको कुरा कसैबाट लुकेको छैन । निश्चित रूपमा यी सबै महामनाले मधेशका जनतालाई वास्तविक रूपमा अधिकार सम्पन्न बनाउनका लागि विविध विचार र नेतृत्वको आन्दोलनमा सहभागी भई आफूहरूलाई समाहित गरेको कुरामा असहमति हुन सक्दैन । मधेशका शहीदको सपना थियो,, मधेशीलाई वैधानिक रूपमा समानता, सहभागिता र अधिकार प्राप्त होस् । आज त्यही सपना साकार गर्ने अभिभारा वर्तमान पुस्तामाथि छ ।


शहीदको योगदानका आधारमा मधेशी नेताहरू सत्ताको सुख भोगिरहेका छन् तर शहीद र शहीद परिवारलाई राज्यबाट प्रदान गरिने सम्मान दिने कुरामा कञ्जुस्याइ भइरहेको छ । त्यसो त पछिल्ला दिनमा प्रदेश २ को सरकारले एक शहीद परिवार एक रोजगार कार्यक्रम लागू गरेको सार्वजनिक भएको छ । वास्तवमा यो कार्य प्रशंसनीय छ तर त्यस्तो रोजगारी कति स्थायी र फलदायी हुने छ भन्ने कुरा विचारणीय छ ।

तपाईको प्रतिक्रिया