नगरपालिका विकासमा यूटर्न लिएको छ : प्रमुख प्रशासकीय अधिकृत

राजनीति

राकेश यादव ।

       

रौतहट, २० माघ । गरुडा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले नगरपालिकाले विकासको कार्यमा यूटर्न लिएको बताएका छन् ।

नगर प्रमुख र उपप्रमुखविच रहेको असमझदारी अन्त्य भएपछि विकासको कार्यको बाटो खुलेको हो ।

दुई फरक राजनीतिक दलबाट निर्वा्चित प्रमुख र उपप्रमुखबीच विगत केही दिनदेखि कायम रहेको आन्तरिक विवाद समाधान गराउन सफल भएका उपसचिव पन्थीले अब गरुडा नगरपालिका विकासको क्षेत्रमा यूटर्न गरेको दाबी गरेका छन् ।

सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै प्रमुख प्रशासकीय अधिकृत पन्थीले दुवै जनाको बीचमा ६ बुँदे सहमति भएको जानकारी दिए ।

सहमतिले आर्थिक, सामाजिक, भौतिक विकासको ढोका खुलेको उनको तर्क रहेको छ । नगर प्रमुख इन्नु राय यादव र उपप्रमुख रंगीला देवी जायसवालबीच अधिकार सम्बन्धी विषयलाई लिएर भएको विवाद सार्वजानिक रूप लिएपछि विकासका कार्यहरु प्रभावित बनेका थिए ।

मेयरले एकलौटी रुपमा काम गर्न थालेको र भएको अधिकारलाई कुण्ठित गरेको भन्दै उपप्रमुखले खोजवीन शुरू गरेपछि आन्तरिक मनमुटाव बढेको थियो ।

स्थानीय सरकार प्रमुख तथा उपप्रमुख बीचको आपसी विवादले नगरपालिकाको विकासको काममा असर पुग्ने सम्भावना देखेर विवाद मिलाउन मध्यस्ता गर्न पहल गरेका प्रमुख प्रशासकीय अधिकृत पन्थीले अन्ततः विवाद मिलाउन सफलता हासिल गरे ।

नगरपालिका भित्रमा चालू आर्थिक वर्षमा सञ्चालन हुने विभिन्न किसिमका विकास निर्माणका योजनामा सहमति लिनु पर्ने, स्थानीय सरकार सञ्चालन निर्देशिका बमोजिम कार्य गर्नु पर्ने, नगरपालिका सञ्चालनका लागि बनेका आर्थिक ऐन, नियमावली, सार्वजनिक खरीद ऐनअनुसार पारदर्शी ढंगबाट आपूर्ति गर्नुपर्ने, कर्मचारी भर्ना, निष्पक्ष ढंगले गर्नुपर्ने, नगरसभाले पारित गरेको योजना सोहीअनुरूप कार्यान्वयन गर्नुपर्ने, एक अर्काको अधिकार माथि हस्तक्षेप नगर्ने भनी सहमति भएको छ ।

टेकराज पन्थीले गरेको कार्य सराहनीय र जनताको हकÞ हितमा भएको स्थानीयहरुको कथन रहेको छ ।

जनताले आफ्नो अधिकार पाउनुपर्ने, विकासको कार्य हुनुपर्ने, नगरपालिकाबाट प्रवाह हुने सेवा प्राप्त गर्नुपर्ने उद्देश्य उपसचिव पन्थीको रहेको छ ।

तपाईको प्रतिक्रिया