प्रदेशको राजधानी र नामको विषयमा सडकमा बहस गर्ने विषय होइन : मुख्यमन्त्री पोखरेल

राजनीति

चन्द्रकान्त खनाल

       

रुपन्देही, २१ माघ । प्रदेश नम्बर ५ प्रदेश सभाको पहिलो बैठक बसेको दिन प्रदेशसभा दिवस मनाएको छ । माघ २१ गतेको दिनलाई प्रदेशसभा दिवसको रुपमा औपचारिक कार्यक्रम गरी मनाएको हो ।

कार्यक्रममा बोल्दै प्रदेश प्रमुख उमाकान्त झाले पूर्वाधार, जनशक्ति अभावको बाबजुत प्रदेशसभाले गरेको कार्यको मूल्यांकन गर्नुपर्ने बताए ।

उनले प्रदेशमा संरचना स्थापना गर्नका लागि नै केही समय लागेको भन्दै अभावको बाजबुत गरिएको कार्यहरु सन्तोषजनक रहेको बताएका छन् ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री शंकर पोखरेलले अभावको बाबजुत प्रदेश सरकारले धेरै काम गरेको बताए । उनले प्रदेशको राजधानी र नामको विषयमा बाहिर सडकमा बहस गर्ने विषय नभएको समेत बताए ।

राजधानी कहाँ बनाउनेभन्दा पनि कस्तो बनाउने भन्ने विषयमा सोच्न आवश्यक रहेको भन्दै मुख्यमन्त्री पोखरेले भावी सन्ततिका लागि पनि नमुनाको रुपमा राजधानी बनाउनुपर्ने बताएका छन् ।

कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता बलदेव शर्मा पोखरेलले सरकारले १६ वटा विधेयक बनाउनु बाहेक अन्य कुनै पनि काम गर्न नसकेको बताए ।

कार्यक्रममा सभामुख पूर्णबहादुर घर्तीले सबैको साथ र सहयोगबाट नै अगाडी बढ्ने सरकारको योजनाअनुसार नै अहिलेको सरकार अगाडि बढेको बताएका छन् ।

उपसभामुख कृष्णाी थारुले पनि सरकारको काम सन्तोषजनक भएको भन्दै सबैको साथबाट नै नमुना काम गर्न सक्ने बताइन् ।

कार्यक्रममा उत्कृष्ठ कर्मचारीको रुपमा सचिवालयका कम्प्युटर अधिकृत मनोज कुमार पाण्डेय, नायव शुब्बा दिवाकर पन्थी, मर्यादापालक जवान ओमप्रकाश डांगी, कार्यालय सहयोगी कल्पना विष्टलाई नगदसहित सम्मान गरिएको थियो ।

सोही कार्यक्रममा प्रदेशसभा सचिवालयले संसदीय मामिला पत्रकार समाजको सहकार्यमा प्रकाशन गरेको प्रदेश सभा दर्पणको विमोचन समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया