फोरमको लक्ष्य विभेद मुक्तिसँगै राजनीतिक स्वतन्त्रता र आर्थिक समृद्धि हो : सहअध्यक्ष श्रेष्ठ

राजनीति

       

काठमाडौं, २२ माघ । सङ्घीय समाजवादी फोरम, नेपाल काठमाडौँ महानगरपालिका वडा नं ९ र ३१ को प्रथम वडा अधिवेशन पार्टीका सहअध्यक्ष तथा सांसद राजेन्द्र प्रसाद श्रेष्ठले दीप प्रज्वलन गरी संयुक्त रूपमा सिनामंगलमा उद्घाटन गरेका छन् ।

अलग अलग रूपमा नेतृत्व चयनका लागि भएको बैठकबाट सर्वसम्मतीले नतृत्व पनि चयन भएको छ ।

पार्टीका ३ नम्बर प्रदेशका सदस्य शहरमान राईको अध्यक्षतामा भएको उक्त संयुक्त उद्घाटन कार्यक्रममा प्रमुख अतिथि पार्टीका सहअध्यक्ष श्रेष्ठले, ‘ससफोको लक्ष्य विभेद मुक्तिसँगै राजनीतिक स्वतन्त्रता र आर्थिक समानता तथा समृद्धि हो’ भने ।

उनले आफ्नो पार्टीले सङ्घीय शासन, समाजवादी व्यवस्था, राष्ट्रिय पहिचानको मान्यता, समानुपातिक प्रतिनिधित्व, स्वशासन र स्वायत्तता, समतामूलक समृद्धि जस्ता परिवर्तनकारी मुद्दाहरू यसैका लागि उठाएको बताएको छ ।

नेपालको कम्युनिष्ट पार्टीहरू एकल जातीय पार्टी भएको हुँदा कम्युनिष्ट पार्टी सत्तारुढ हुँदा समेत राज्यमा सबै क्षेत्रमा सबैको बरावरी अधिकार हुन नसकेको बताउँदै उनले भने, ‘जस्तो समाज उस्तै पार्टी नबनेसम्म राज्यमा समानुपातिक समावेशीको एजेण्डा स्थापित हुन सक्दैन ।‘

उनले भने, ‘मानिसले मानिसलाई गर्ने सबैखाले शोषणको अन्त्यका लागि अब नयाँ विचार बोकेर मात्र हुन्न संगठनात्मक क्षेत्रमा पनि नयाँपन हुनु पर्दछ । त्यसका लागि समानुपातिक समावेशी प्रतिनिधित्व भएको सङ्घीय ढाँचाको राष्ट्रिय चरित्रको पार्टी आवश्यक छ ।’

तपाईको प्रतिक्रिया