कुचो समाउँदैमा सफाइ हुन्छ ? (सम्पादकीय)

सम्पादकीय

    २०७५ साल माघ २५ गते शुक्रबार    

प्रदेश २ को सरकारले आठैवटा जिल्लामा मुख्यमन्त्री स्वच्छता अभियान सुरू गरेको छ । मुख्यमन्त्री मो.लालबाबु राउतले वीरगञ्जबाट यो अभियानको थालनी गरेका हुन् । स्वच्छता अभियान किन आवश्यक छ भन्ने प्रश्नको जवाफ सजिलो छ । किनभने स्वच्छ वातावणबाटै नै हामी स्वस्थ्य रहन सक्छौं । तर प्रदेश २ को स्वच्छताको अवस्था हेर्ने हो भने कहालीलाग्दो छ । प्रदेश २ को खासगरी बारा र पर्साका राजमार्ग क्षेत्रमा तीव्र औद्योगीकरणका कारण वायु प्रदूषण र अन्य औद्योगिक फोहोरमैला विसर्जन निरन्तर वृद्धि भइरहेको छ । फोहोरका कारण सबैजसो नदीनाला ढल बन्ने अवस्थामा छन् ।

मुख्यमन्त्रीले सफाइ अभियान थाल्दा उनका समर्थक तथा अधिकारीहरूले ताली बजाएर कार्यक्रमको स्वागत गरेका थिए तर यो स्वच्छता अभियानलाई कसरी प्रभावकारी बनाउने दिशामा कसैको ध्यान गएको देखिदैन । किनभने सफाइ अभियान सफल तुल्याउन र वाचालाई प्रतिबद्धतामा बदल्ने कार्य सहज छैन । उद्योगधन्दाले निकाल्ने वायु र अन्य प्रदूषणको निगरानी भएको छैन भने प्रदेश २ मा पर्ने सिर्सिया, वागमती, कमला र लालबकैया जस्ता नदीनाला खुल्ला ढलमा परिणत भइरहेका छन् ।

नेपालको कानुनमा नदीनालामा पनि झोल तथा ठोस फोहोर फाल्न वर्जित छ । तर प्रदेश २ मा कुनै रोकटोक छैन । कानुन लागू भएको छैन ।

प्रदेश २ का आठवटै जिल्लाका पोखरीहरूको संरक्षण, सरसफाइका तथा सौन्दर्यीकरणका लागि टेन्डर आह्वान गरिसकिएको छ । सबै जिल्लामा दुईवटाको दरले सुलभ शौचालयका लागि प्रक्रिया अगाडि बढाइएको छ । वृक्षरोपण कार्यक्रम, स्वच्छ खानेपानीका लागि व्यवस्थापन र खासगरी दलित बस्तीमा स्वच्छता तथा सरसफाइ अपनाउने खालको कार्यक्रम शुरूवात पनि भएको छ ।

तर व्यापक रूपमा बढेको प्रदूषण नियन्त्रण गर्ने कार्य सबैभन्दा ठूलो चुनौती हो । अर्को चुनौती पूरै प्रदेशलाई खुला दिसामुक्त गर्नु हो । प्रदेश सरकारले अभियान थाल्नुअघि प्रदेश २ का महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँ नगरपालिकालाई ध्वनि र प्लास्टिकजन्य पदार्थबाट मुक्त गराउने अभियान थाल्नु जरूरी छ । कतिपय ठाउँमा हर्न समेत निषेध गरिएको थियो तर त्यो लागू हुन सकेको छैन । यसले प्रदेश सरकारको काम प्रभावकारी भइनरहेको थाहा हुन्छ ।
कुनै पनि नगरमा फोहर व्यवस्थापनका लागि निश्चित स्थान छैन । फोहोरमैला व्यवस्थापनका लागि निर्माणाधीन डम्प साइट काम वर्षौँदेखि रोकिएको छ ।

फोहोरलाई वैज्ञानिक किसिमले व्यवस्थापन नगरिएका कारण प्रदेश २ का सबै नगर क्षेत्र दुर्गन्धित र प्रदूषित छ । प्रदेशमा रहेका साना तथा ठूला उद्योगहरूबाट निस्किने धुलो, धुवाँ र ठोस तथा रसायनिक फोहोरले वातारणलाई प्रदूषित बनाउँदै आएको छ । तर त्यसको अनुगमन र सजायको अभावमा फोहर तथा प्रदूषण नियन्त्रण हुन सकेको छैन ।

वीरगन्ज, सिमरा, जीतपुर, छातापिपरा, परवानीपुर लगायत बारा तथा पर्सा कोरीडरमा स्थापना भएका उद्योगहरूले वातावरणमा नकारात्मक असर परिरहेको छ । रसायनयुक्त प्रदूषित तरल पदार्थ उद्योगले सिधै नदीमा मिसाउने गरेका छन् । त्यसका कारण जल प्रदूषण बढेको र माछा भ्यागुता जस्ता जलचरहरू समेत मर्ने गरेका छन् । विश्व स्वास्थ्य सङगठनले तय गरेको मापदण्ड अनुसार प्रतिलिटर पानीमा पाँच सय मिलिग्रामभन्दा बढी ठोस वस्तु भेटिए त्यो पानी प्रदूषित हुन्छ ।

विगतमा सिर्सिया नदी स्वच्छ र सफा थियो । तर छाला र घ्यू लगायत विभिन्न उद्योगको रसायनयुक्त दूषित पानी खसाल्नाले नदी तथा पोखरी प्रदूषित बन्दै गइरहेकोप्रति सम्बन्धित निकायले यसमा कुनै चासो दिएका छैनन् ।

पूरै वातावरण नै प्रदूषित हुन थालेको कारण मानिस, जनावर र चराचुरूङ्गीको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेको छ । प्रदूषणको मारमा नदी किनारका बासिन्दा रहेका छन् । पशु चौपायामा समेत विभिन्न किसिमको रोगको संक्रमण देखिने गरेको छ ।

विगत समयमा थुप्रै पटक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टोलीले उद्योगहरूबाट निस्किने प्रदूषणले वातावरण नै बिगारेको भन्दै प्रतिवेदन सार्वजनिक गरे पनि स्थानीय सरकार गठनको डेढ वर्ष बितिसक्दा प्रदूषण नियन्त्रणका लागि ठोस कदम चाल्न नसकेको छैन । यस्तो अवस्थामा मुख्यमन्त्री स्वच्छता अभियान नामले जति राम्रो भए पनि काम भने प्रभावकारी हुनेमा आशंका गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया