सशस्त्र संघर्ष हाम्रो अन्तिम विकल्प हो : सत्यनारायण मण्डल

उपाध्यक्ष, राष्ट्रिय जनता पार्टी नेपाल

अन्तर्वार्ता

    २०७५ साल, माघ २५ गते शुक्रबार   

० राजपा नेपाल अहिले के गर्दैछ ?

— हामी परिस्थितिको शिकार भएका छौं । राजपाले बारम्बार संशोधनको कुरा गर्दागर्दै पनि यो दुई तिहाई बहुमतको सरकारले सुनिरहेको छैन । तर, राजपाले अहिलेसम्म यो सरकारलाई समर्थन किन गरिरहेको छ भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । हामी अनुरोध गर्न चाहन्छु कि हामीसँग विकल्प सीमित छ । एकतर्फ विभिन्न आन्दोलनहरूमा सयभन्दा बढी सपूतले सहादत प्राप्त गरिसके तर पनि हाम्रा मागहरू सम्बोधन हुन सकेको छैन । हामीले शान्तिपूर्ण आन्दोलन गर्ने एकातिर छ भने अर्कोतिर सशस्त्र संघर्ष गर्नुपर्छ । किनभने हामीले शान्तिपूर्ण आन्दोलन जुन गरिरहेका छौं, त्यसमा पनि राज्यसत्ताले हामीमाथि टाउको र छातीमा गोली हानी रहेकै छ । त्यसैले हाम्रो अर्को विकल्प सशस्त्र संघर्ष हो । त्यसबाट सबभन्दा बढी खतरा के छ भने लाखौं जनताको मृत्यु हुनसक्छ, जनसंहार हुनसक्छ र त्यसको परिणाम विकराल हुनसक्छ । त्यस्तो स्थिति नआओस् भनेर यो सरकारलाई हामीले समर्थन गरेर आग्रह गरिरहेका छौं कि हाम्रा मागहरूप्रति गम्भीर होऊन् । मधेश पनि यही देशको महत्वपूर्ण अंग हो र मधेशी यहाँका नागरिक हुन् ।

० तपाइँहरूले सशस्त्र संघर्षको आह्वान गर्दा जनताले साथ दिन्छन् ?

— सशस्त्र संघर्षको विकल्प त हाम्रो अन्तिम कुरा हो । भन्छन् नि, ‘मरता क्या नहीं करता’ । मान्छे मर्न लाग्यो भने जे पनि गर्न उ उद्दत हुन्छ । त्यो स्थिति अहिलेसम्म आइसकेको छैन । हामीले सशस्त्र संघर्षको विकल्प रोज्ने बेला आइसकेको छैन । हामीले त अहिले पनि शान्तिपूर्ण आन्दोलन गरेर वार्ताको टेबुलमा बसेर मधेशमैत्री संविधान संशोधन गराउन हामी चाहेका छौं । जहाँसम्म कुरा छ जनताको साथ, यो त मधेशका जनताको चाहना हुन्छ अनि मात्रै त्यो कुरा हुन्छ । डेढ करोड मधेशी जनताको चाहनाबमोजिम नै त्यो हुने हो । तर, त्यो हाम्रो अन्तिम हतियार हो, अन्तिम हतियार एक्कासी प्रयोग गरिनु हुँदैन । हामी अहिले पनि विश्वस्त छौं कि यो दुई तिहाईको सरकारले मधेशमैत्री संविधान संशोधन गर्ला र नेपालका तीन करोड जनता हातेमालो गरेर विकास र समृद्धिको यात्रामा अगाडि बढ्छ । यो हाम्रो आकांक्षा हो ।

० प्रधानमन्त्री केपी शर्मा ओलीले त आवश्यकता र औचित्यको आधारमा संविधान संशोधन हुन्छ भन्नुहुन्छ नि ?

— प्रधानमन्त्री केपी शर्मा ओलीलाई म आग्रह गर्न चाहन्छु कि नेपाली शब्दकोषको पाना पल्टाओस् । त्यसमा हेर्न आग्रह गर्छु कि आवश्यकता र औचित्यको अर्थ के हुन्छ । भर्खरै सिरहामा उहाँको भ्रमण भएको थियो । त्यहाँका जनताले के भने, त्यहाँको आवश्यकता के छ भन्ने कुरा उहाँले थाहा पाइसक्नुभएको छ । थाहा पाएर पनि उहाँले बुझ पचाउनु हुन्छ भने यसको परिणाम भयानक हुनसन्छ । त्यो बुझ पचाउने काम गर्नु हुँदैन । संविधान संशोधन मधेशका लागि मात्र होइन, सम्पूर्ण राष्ट्र हितका लागि आवश्यकता र औचित्य दुइटै छ । संविधान संशोधन नभएसम्म यो संविधानप्रति नेपालका सम्पूर्ण नागरिकले अपनत्व ग्रहण गर्न सक्दैन । यो औचित्य र आवश्यकता पनि हो । यदि यो सरकारले औचित्य र आवश्यकता बुझेको छैन भने मधेशका जनतासँग प्रत्यक्ष सम्वाद गरोस्, अनि यो सरकारले बुझ्छ ।

० अब तपाइँहरूले के गर्ने ?

— राजपा नेपाल गम्भीररूपमा विचार विमर्श गरिरहेकोछ । यदि यो दुई तिहाईको सरकारले मधेशको औचित्य र आवश्यकता बुझेन भने हामीले त्यसको विकल्पबारे गहन छलफल गरिरहेका छौं । अध्यक्षमण्डलको बैठक हुन गइरहेको छ, त्यो बैठकमा व्यापक छलफल भइ हामी कुनै न कुनै निष्कर्षमा पुग्छौं ।

० समर्थन फिर्ता लिने कुरा कहाँ गयो ?

— हामी अहिलेसम्म समर्थन किन फिर्ता नलिएको भन्ने स्पष्ट छ । हामीलाई मधेशमैत्री संविधान संशोधन चाहिन्छ । त्यहीं संविधान संशोधनका लागि यो दुई तिहाईको सरकारलाई समर्थन गरेका हौं । हाम्रा अध्यक्षमण्डलका नेताहरू प्रधानमन्त्री भेट्दा पटक–पटक भन्नुहुन्छ कि केही पर्खनुस्, संविधान संशोधन गर्छौं । त्यसकारणले मात्रै हामी पर्खिरहेका छौं । यदि संविधान संशोधन भएन भने हाम्रो विकल्प सीमित छ, हामी सोझै सडक संघर्षमा जान्छौं । त्यो सडक संघर्ष सशस्त्र संघर्ष पनि हुनसक्छ । त्यो अन्तिम हतियार छ । त्यस्तो स्थिति नआओस् भनेर मात्रै हामी यो सरकारलाई समर्थन गरी आफ्ना माग पूरा गराउन दबाब दिइरहेका छौं । प्रधानमन्त्रीले हामीलाई स्पष्टरूपमा भनिदिओस् कि संविधान संशोधन हुँदैन । तर, संशोधन गर्छौं भन्ने आश्वासन दिइरहेकोले हामी पर्खेका हौं । हामी यो देशमा पुनः अशान्ति, द्वन्द्व चाहेका छैनौं । सडक संघर्ष हुने वित्तिकै देशले पुनः ठूलो क्षति व्यहोर्न सक्छ ।

० संघीय समाजवादी फोरम नेपालसँग एकताको कुरा पनि गरिरहनुभएको छ, यस विषयमा के भइरहेको छ ?

— यदि फोरम नेपालले वास्तवमै राजपा नेपालसँग एकीकरण चाहेको छ भने चाँडोभन्दा चाँडो राजपा नेपालमा त्यसको प्रस्ताव पठाओस् । त्यसपश्चात् राजपा नेपालले पनि एकीकरणको सम्बन्धमा आवश्यक कदम चाल्नेछ । फोरम नेपाल र राजपा नेपालबीच एकीकरण भई एउटा वैकल्पिक शक्ति निर्माण गरी यो देशका सम्पूर्ण उत्पीडित तथा उपेक्षित समुदायका लागि अगाडि आउनुपर्छ ।

० फोरमसँग राजपा नेपालको एकीकरण सम्भव छ ?

— एकदम सम्भव छ । राजपा र फोरमको विधानको सार एउटै हो, मधेशको अधिकार सुनिश्चित गराउने । समानुपातिक समावेशिताको आधारमा यो देशका तीन करोड जनता समानरूपमा यो संविधानले व्यवहार गर्ने अधिकारका लागि फोरम र राजपाको आकांक्षा, इच्छा एउटै भएको हुनाले एकीकरण हुन नसक्ने कुरै छैन ।

० तर, राजपा र फोरमको बाटो फरक–फरक छ नि ? 

— सोचाइमा मात्रै फरक छ । राजपाले यो सरकारलाई समर्थन गरेको छ र फोरम नेपाल सरकारमै सहभागी छ । फोरम नेपाल एक स्टेप अगाडि बढेको छ । तर, समर्थन त यो सरकारलाई राजपाले पनि गरेको छ नि त । फोरमले यो सरकारमै गई संशोधनको वातावरण तयार गराउने र राजपाले समर्थन गरेर संशोधनका लागि वातावरण तयार गर्छ । यस हिसावले राजपा र फोरमको उद्देश्य एउटै छ । दुवैको गन्तव्य संविधान नै छ र त्यो पनि मधेशको हकहितका लागि गन्तव्य एउटै भएकोले यसमा शंका लिनुपर्ने कुनै गुन्जाइस छैन । हामीसँग जुन बेला एकीकरण हुन्छ त्यो बेला फोरम सरकारबाट बाहिर आउँछ, हामी समर्थन फिर्ता लिन्छौं ।

० जसरी अहिले फोरम सरकारमा सहभागी छ, यो अवस्थामा एकीकरण हुनसक्दैन ?
— जब एकीकरणका लागि वार्ता कमिटी बस्छ, त्यो वार्ता कमिटीको पहिलो बैठकमा नै पहिलो प्रस्ताव हुन्छ कि फोरम सरकारबाट बाहिर आओस् र राजपाले समर्थन फिर्ता लिन्छ । जबसम्म सरकारबाट फिर्ता हुँदैन फोरम नेपाल र राजपाले समर्थन फिर्ता लिँदैन तबसम्म एकीकरण हुने कुरै आउँदैन । यो कुरा पहिलो बैठकमा नै हुन्छ । कि त हामीले भनेअनुसार यो दुई तिहाईको सरकारले संशोधन गर्नुप¥यो । यदि संशोधन गर्दैन भने एकीकरणको वार्ता टुंगो लाग्नुभन्दा पहिले फोरम नेपाल सरकारबाट बाहिर आउनुपर्छ र राजपाले पनि समर्थन फिर्ता लिनुपर्छ ।

० राजपा नेपालले आफ्नो प्रथम महाधिवेशनको तयारी कसरी गरिरहेको छ ? 

— हाम्रो महाधिवेशनको तिथि निर्धारित छ, आगामी बैशाख ७, ८ र ९ गते । हाम्रो महाधिवेशन गत वर्ष नै गर्नुपर्ने थियो । तर, नेपालको संविधानको धारा २६९ मा स्पष्टरूपमा लेखिएको छ कि पाँच वर्षभित्र महाधिवेशनको कार्यक्रम सुरू गर्नुपर्ने । त्यो सुविधा हामीसँग छ । त्यसैले हामी कोशिस गरिरहेका छौं कि आगामी बैशाखमा महाधिवेशन सम्पन्न गर्ने । त्यसैले, महाधिवेशनका लागि त्यति आत्तिनु पर्दैन ।

तपाईको प्रतिक्रिया